स्थानीय तहमा जनमुक्तिको ४ सय ७५ भन्दा बढी उम्मेद्वारी « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

स्थानीय तहमा जनमुक्तिको ४ सय ७५ भन्दा बढी उम्मेद्वारी


यलम्वर टाइम्स
१३ बैशाख २०७९, मंगलवार ०८:४८

काठमाण्डौ । स्थानीय तह अन्तर्गत बैशाख ३० गते हुने निर्वाचनका लागि राष्ट्रिय जनमुक्ति पार्टीले अधिराज्यभरी ४ सय ७५ स्थानीय तहमा प्रमुख तथा उपप्रमुखमा उम्मेद्वारी दिएको बताएको छ ।

२०७४ मा दुइ सय बढीमा उम्मेद्वारी दिएको थियो भने यो पटक बढाएर ४ सय ७५ स्थानीय तहमा उम्मेद्वारी दर्ता भएको पार्टी महासचिव पदम जवेगुले जानकारी दिए ।

महासचिव जवेगुका अनुसार संख्या बढ्न सक्ने भएको हुँदा केही नामावली आउन बाँकी रहेको छ ।

यो पटक हिमाली जिल्ला ताप्लेजुङको फक्तालुङ र झापाको भद्रपुरदेखि महाकालीको चाँदनी–दोधारासम्म उम्मेद्वारी घोषणा गरेको छ ।

फक्तालुङमा मोतीलाल तुम्बापोले अध्यक्षमा पदमा उम्मेद्वारी दिएका छन् भने भद्रपुरमा यामबहादुर लिम्बू ‘सन्तोष’ र चाँदनी–दोधारामा ठाकुनेराम दमाईले प्रमुख पदमा उम्मेद्वारी दिएका छन् ।

यसरी नै ताप्लेजुङकै आठराई त्रिवेणघाट गाउँपालिकामा यामबहादुर आङ्बोहाङले अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।

पार्टी महासचिवका अनुसार दमकमा धनराज राई, ललितपुर महानगरपालिकामा एसके महर्जन, भरतपुर महानगरपालिकामा ज्ञानबहादुर गुरुङ, धरान उपमहानगरपालिकाको प्रमुखमा राजेश खिम्दुङ र उपप्रमुखमा संगीता श्रेष्ठ, घोराही नगरपालिकामा ठाकुर रोक्का, दाङ नगरपालिकामा रविन्द्र उच्च नेपाली, कैलाली अत्तरीयाको गोदाबारी नगरपालिकामा रामबहादुर रावल, संखुवासभाको मकालु गाउँपालिकामा उत्तरकुमार कुलुङले प्रमुख पदमा उम्मेद्वारी दिएका छन् ।

यसरी नै दमौलीको व्यास नगरपालिकामा प्रमुखमा मीना थापा मगर, तानसेन नगरपालिका पाल्पाको प्रमुखमा होमबहादुर थापा उपप्रमुखमा सावित्रा राना, तिलोत्तमा नगरपालिकाको नगर प्रमुखमा सुन्दर गुरुङ, उपप्रमुखमा गीता सारु मगर लगायतले उम्मेद्वारी दिएको बताएका छन् ।

यसरी नै वडाहरुमा गठबन्धनबाट उम्मेद्वारी दिएको महासचिव जवेगुले जानकारी दिए ।

ताप्लेजुङबाट मिक्वाखोलाको अध्यक्षमा पेम्बा शेर्पाको उम्मेद्वारी परेको पार्टीका उपाध्यक्ष प्रकाश येङदेनले जानकारी दिए भने ताप्लेजुङकै फुङलिङ नगरपालिकामा जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीको गठबन्धनबाट उम्मेद्वारी परेको छ ।

जनमुक्तिबाट काजीमान येङदेन, जंग प्राङदेन, मानकुमार लिम्बू, माराहाङ लिम्बू, छत्र लिम्बू रहेका छन् ।

भद्रपुरमा नगर प्रमुखसहित ३६ जनाले उम्मेद्वारी दर्ता गराएको पार्टी जिल्ला सचिव पदम कन्दङ्वाले जानकारी दिए ।