पहिलो जनप्रतिनिधिलाई साधुवाद ! « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

पहिलो जनप्रतिनिधिलाई साधुवाद !


यलम्वर टाइम्स
२९ चैत्र २०७८, मंगलवार ०९:१३

लोकतन्त्र आएपछि पहिलो पटक निर्वाचित जनप्रतिनिधि धन्यवादका पात्र भएका छन् । २०–२२ वर्ष कर्मचारीको हातमा रहेको स्थानीय तह जनप्रतिनिधिमार्फत विकासका काम गर्नु, स्थानीय तहमा आएका वा देखा परेका समस्याहरुसँग लड्नु, सबै तहलाई एउटा मूलधारमा कुदाउन चानचुने समय थिएन । देख्दा ठूला नभए पनि मसिना काम र त्यसलाई सञ्चालन गर्ने विधि, विधान बनाउँदा बनाउँदै समय बितेको उनीहरुको अनुभवबाट प्रस्टिन्छ ।

मुलुक लोकतान्त्रिक गणतन्त्रमा उभिएको अवस्था र प्रदेश हुँदै स्थानीय तह निर्माण भएको बेला प्रदेश सरकारलेभन्दा स्थानीय तहले धेरै ठूलठूला काम गर्न सफल भएको पाइन्छ । त्यसो त प्रदेशले पनि राम्रै काम गर्ने थियो होला । धेरै बाधा अड्चन संघले नफुकाएका कारण प्रदेश खुकुलो हुन सकेन । त्यसैले पनि स्थानीय तहमा काम गर्ने पहिलो पटक निर्वाचित प्रतिनिधिहरु विकासका काममा पोख्त र सिपालु भएको हामी पाउँछौं ।

सक्नेले वा पहुँच हुनेले स्थानीय सरकारको आशा नराखी केन्द्रको बलबाट करोडौंको काम आफ्नो वडामा पनि गरका छन् । ति सबै सिकाईकै कारणबाट हो भन्न सकिन्छ । योजना ल्याउने, बनाउने र प्रयोग गर्ने काम पहिलो पटक जनप्रतिनिधिले गरेको र सिक्दासिक्दै समय बितेको कारण नीति नियम बनाइदिने पहिलो निर्वाचित जनप्रतिनिधिहरुलाई साधुवाद प्रकट गर्नुपर्छ र उनीहरुको उच्च मूल्यांकन गर्न जरुरी छ ।