क्षणिक स्वार्थमा खुम्चिएको जमिन

[सन्तोष नेम्वाङ]

आजभन्दा १५–२० वर्ष पहिलाको अवस्थामा कसैलाई आफ्नो खेतबारी देखाउन परे चोरी औलाले १८० डिग्रीमा घुमाएर देखाउनु पथ्र्यो । पल्लो खोल्साबाट पनि परपर देखिने समतल जग्गा । अर्कातर्फ सानातिना जंगल झै देखिने रुखका लस्कर । एकातर्फ बाँसका ठूलाठूला झ्याङ । दिउँसै अन्धकार झै लाग्ने त्यो बाँसघारीबाट पनि पारीपट्टिका समतल जग्गाहरु एक जना जमिनदारको अधिपत्य हो भन्न पनि विश्वास नलाग्ने । १५–२० हल गोरुको मेलो भनेर अन्दाज लगाइन्थ्यो । त्यो गोरु जोत्ने हलीहरु लगायत असारे रोपाईमा रोपारहरुको गन्ती नै हुन्थेन ।

यो त भयो २०–३० विगाह हुने ठूला जमिनदारहरुको कुरा । गाउँमा अरु पनि ४–५ विगाहमात्र जमिन भएका किसानहरु पनि थिए । उनीहरु आफ्नै हातले अनो समातेर परिवार पाल्ने गर्थे । आफ्नो सन्तानको पढाई लेखाईमा जीवनभर पसिना बगाएर कालान्तरमा विदेश पढ्न पठाएपछिको अवस्था कति भयावह भएर आयो । त्यो उनीहरुले पाङ्ग्रे गोरु र राते गोरुलाई घाँस र खोले दिँदा रत्तिभर पनि सोचेका थिएनन् । त्यसको परिणाम अहिले आएर जोइपोइको एकान्तबासको अवस्था आउँछ भनेर सोचेको भए सायद छोराछोरीलाई विदेश पठाउने भन्ने सोच्ने थिएनन् होला । अब त गोठमा गोबरको बासना पनि आउन छाडेको छ । जमिन जोत्ने नाडीमा तागत रत्तीभर पनि रहेन । गाउँघरमा हलो जोतिदिने खेतालाको अभाव छ । यदि कोही खेताला भेटिहाले पनि खेतमा उत्पादन भएको अन्नभन्दा महंगो हुने भो । अन्त्यमा आएर जमिन बेच्नुको कुनै विकल्प रहँदैन । हिजोसम्म पहेला सुन जस्ता धानको बालाहरु लहराउने उब्जर जमिन । त्यहाँबाट उत्पादन भएका सुन जस्ता धानका दाना र चाँदीझै टल्कने मकैका दानाहरुले घरका भकारी भरिन्थ्यो । तर आज त्यो भकारी रित्तोरित्तो छ । ति हरियाली छाउने जग्गाहरु आज भू–माफियाको पैसासँग साटेर कंक्रिटको सीमाना बाँधेर टुक्राटुक्रामा विभाजन गरिरहँदा वर्षौसम्म त्यो जमिन स्याहार्ने किसानको छाती एक क्षण भए पनि चसक्क घोच्छ होला । तर, त्यसको बदलामा पाएका बिटाका बिटा पैसाको सुगन्धले घोचेको छातीमा मल्हम बनेर बिसेक बनाइदिन्छ ।

४–५ विगाह जमिन भएका किसानको त्यो अवस्था भएको छ भने अझ २०–३० विगाह जमिन हुने जमिनदारको कथा पनि कहाँ पृथक छ र ? हलो समाउने हातहरु पाइन छाडे पश्चात ति जमिनदारहरु पनि त्यहि विकल्प रोजेका छन् । गाउँका जमिन भू–माफियाको हातमा जिम्मा लगाएर ठूलाठूला शहरमा आफ्ना लागि गगनचुम्बी महल बनाएर व्याजको रकमले बाँकी जीवन मखमलको बिछ्यौनामा वातानुकुल कोठामा ऐश आरामको साथ जीवन व्यतित गरिरहेका छन् । हिजो यति विगाह जमिन छ भनेर घमण्ड गर्ने किसानका सन्तान पनि आज कंक्रिटको सीमानाको बीचमा बाँडिएको ८ धुर र १० धुरको जमिनको चोइटामा पैसा फ्याँलेर आफ्ना लागि छ कोठाको भवन बनाएर खुम्चिएर बस्न बाध्य भएकाहरु यदाकदा देख्दै आएको छु । समय छँदा आफ्ना पिताको हात हलोको अनोबाट छुटाएर आफूले त्यहि अनो समाएको भए आज विगाहबाट धुरमा खुम्चिन पर्ने थिएन । चारैतर्फ सिमेन्टका जंगल बीचमा ६ कोठे भवनमा खुम्चिनुको साटो आफ्नै पैतृक सम्पत्तीको बीचमा सानो कुटी बनाएर चारैतर्फ हरियाली रुखहरुको बीचमा आनन्द साथ सुत्न पाउँथे होला । आफ्नै परिवेशभित्र स्वतन्त्र रुपमा रमाउन पाउँथे होला । छिमेकीहरुले लगाउने बन्देजहरु भोग्न पर्थेन होला ।

जाँगर चलाएर मानो खाएर मुरी फलाउने समयमा मेहिनत गर्दा सुनझै बाला लहलह फल्ने खेत हलीको अभाव देखाएर आज चोइटा चोइटा भइरहेको छ । सिमसार होस् या डाँडा, बगर होस् या खोला किनार सबैतर्फ समतल बनाई मेहिनत नगरी रुपैयाँ फल्ने विरुवा छरेका छन् । त्यही चोइटा परेका जग्गाबाट जीवनभर पैसा कमाउने माध्यम बनाएका छन् । हिजोसम्म हातमा चप्पल बोकेर आफ्ना कपडा सुर्किदै हिंड्नु पर्ने खोल्साहरु आज नौलो बस्तीझै लाग्ने दृश्यमा परिणत भइरहेका छन् । यसरी चोइटाचोइटा पारेर बस्ती बसाइरहँदा हामी स्थानीयहरु हर्षित हुनुपर्ने हो वा चिन्तित हुनपर्ने हो दोधारमा छौं । यस्तोमा केन्द्र सरकारबाट कुनै नीति नियम बनाएको छैन । कस्तो जमिनमा बस्ती बसाउने ? कस्तो जमिनमा कृषि व्यवसाय गर्ने भनेर नीति नियम बनिएको भए केहि हदसम्म यो खण्डीकरणको बीसेक हुन्थ्यो । देशका आधा जस्तो जमिन मरभूमी हुनबाट जोगिन्थ्यो ।

हामीले देख्दादेख्दै हरिया चिया बगान मासिने थिएन । पहेलै फल्ने धानको बाला लहलह झुलिरहेको जमिन अर्को साल विधुवाको सिउँदो झै उराठ लाग्दो भइरहेको हुन्छ । यसरी नै उब्जाउ जमिनमा शहर बसाए पश्चात हामीले खाने चामलको आयात ह्वात्तै बढिरहेको छ । केही वर्षअघिसम्म आफ्नै उत्पादनमा निर्भर रहेको हाम्रो देश आज भारतबाट भन्सार छलेर ल्याएको चामलको पोकामा आश्रित हुन पुगेको छ । यसरी नै चकलाबन्दीको पछि लागेर घरको दराजमा नोटका गड्डीमात्र थुपार्ने चलन चलिरहे भारत गएर उनीहरुको अगाडि ‘हामारा भारत महान’ भन्ने अनि एक बोरा चामल, एक जर्किन तेल बोकेर फर्किने दिन नआउला भन्न सकिन्न ।

                   सन्तोष नेम्वाङ

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd