खुदुनाबारी क्षेत्रका महिला बीएण्डसीमा « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

खुदुनाबारी क्षेत्रका महिला बीएण्डसीमा


यलम्वर टाइम्स
१३ चैत्र २०७८, आईतवार ०८:३२

बिर्तामोड । पूर्वकै चर्चित अस्पताल बीएण्डसी पूर्वाञ्चल अस्पतालले गाउँबस्तीमा रहेका महिलाहरुको लागि निःशुल्क चेकजाँच कार्यक्रम गर्दै आएको छ ।

शुक्रबारमात्र अर्जुनधारा वडा नं. २ र ३ का विकट बस्तीहरुबाट ९० भन्दा बढी महिलाहरुलाई निःशुल्क उपचार सुरु गरेको छ ।

वडा नं. २ र ३ अन्तर्गत सुखानी, दाहालटार, बेलटार, खाल र बजार क्षेत्रबाट ९० बढीको उपस्थिति रहेको थियो । उनीहरुलाई २ बस, एक ट्याम्फु र ६ वटा मोटरसाइकलमा ल्याइएको संयोजक पूर्णकुमार योङहाङले यलम्वर टाइम्सलाई बताए ।

उपचारमा संलग्न २५ वर्षदेखि माथि ७० वर्षसम्मका वृद्ध आमाहरु रहेका छन् । उनीहरुको शरीर तथा पाठेघरको निःशुल्क चेकजाँच हुनेभएको छ ।

चेकजाँच गर्नुअघि उपस्थित भएका महिलाहरुलाई अस्पतालले परामर्श दिँदै निरोगी कसरी रहन सकिन्छ ? क्यान्सर भनेको के हो ? पाठेघरमा हुने क्यान्सरबाट कसरी बाँच्न सकिन्छ ? भन्ने विषयमा डा. सुरुची महत्तो र सहयोगी बिनिशा राउतले जानारी दिइन् ।

पहिलो पटक उत्तरी क्षेत्रका महिलाहरुलाई उपस्थित गराएर घरघरमा पुगि निःशुल्क उपचार गर्नुपर्छ भनेर अस्पतालले प्रशंसा योग्य काम गरेको स्थानीय रनक लिम्बूले बताए ।

पूर्वाञ्चल क्यान्सर अस्पताल सुरु भएपछि अस्पतालका डारेक्टर दुर्गा प्रसाईले गरिब तथा असहाय महिलाहरुका लागि निःशुल्क स्वास्थ्य जाँचसँगै उपचार गरिने भनेपछि अस्पतालले यस्तो कार्य गरेको हो ।

खुदुनाबारी क्षेत्रबाट स्वयम्सेवकको रुपमा खटिएका पूर्णकुमारले अगाडि भने वीएण्डसीले सञ्चालन गरेको निःशुल्क पाठेघर चेकजाँचबाट फाइदा लिई अगाडि बढ्न समाजमा लागेका युवाहरुलाई आव्हान गर्दै त्यस्ता महिलाहरुलाई निःशुल्क चेकजाँचमा ल्याउन अनुरोध गरे ।

खुदुनाबारीबाट ल्याइएका ९० महिलाहरुका लागि गाडीभाडा स्वयम् अस्पतालले तिरेको पनि बताए ।

अस्पतालमा उपचार गर्न आएकी वृद्ध शुकमाया भन्छिन्, ‘शरीरको सम्पूर्ण जाँच गर्ने र औषधी पनि पाइने भनेपछि उपचारमा सरिक भएकी छु । गाउँमा बसेर यतिकै मरिने रहेछ भन्दै बसेको थिएँ । अब उपचार राम्रो पुगे संसार हेर्न सकिने रहेछ ।’

यसरी नै एक सन्तानकी आमा बिनादेवीले तल्लो पेट पोलेर हैरान भएको थिएँ, निःशुल्क उपचार अनि पाठेघरको शल्यक्रिया हुन्छ भनेपछि बीएण्डसीमा आएको बताइन् ।

महिलामा लाग्ने रोग अन्तर्गत पाठेघरको क्यान्सर झापामा अत्याधिक बढ्दै गएको अस्पतालले जनाएको छ भने स्तन क्यान्सर पनि उत्तिकै बढ्दै गएको उल्लेख छ ।

पुरुषमा समेत स्तन क्यान्सर देखापरेको हुँदा पुरुषले पनि शरीरमा गाँठागुठी देखापरे चेकजाँच गर्नुपर्ने बताए ।