चुनावअघि पार्टी प्रवेशको हल्लाः कति सत्य ? « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

चुनावअघि पार्टी प्रवेशको हल्लाः कति सत्य ?


यलम्वर टाइम्स
१० चैत्र २०७८, बिहीबार १०:११

सम्भवत् सबै कुरा मिल्यो भने स्थानीय तहको चुनाव हुन अब ५५ दिनमात्र बाँकी छ । यो अंक गणितसँगै दलहरुले आ–आफ्नै ढंगबाट प्रचार अभियानलाई तीब्र पारेका छन् । यसअघि होहल्ला नचलाइ गुमनाम बसेका ठूला साना दलहरु चुनावका मुखमा आइपुग्न लाग्दा पार्टी प्रवेशको चर्चा चलाएर आम जनता तानातानको अभ्यासमा जुटेका छन् । यतिमात्र होइन, गाउँबस्तीमा कसैलाई राशन, कसैलाई आश्वासन र कसैलाई आर्थिक प्रदान गरेर पनि पार्टी प्रवेशका प्रोपोकाण्ड मच्चाइरहेको देखिन्छ ।

पार्टीको लक्ष्य, उद्देश्य प्रष्ट राखेर यसअघि चुनावमा लडेका दलहरु केही सत्तामा पुगे भने केही प्रतिपक्षमा छन् । सत्ताको बागडोर सम्हालेका दलले चुनाव पश्चात कति काम गर्न सकियो कति बाँकी छन् भन्ने विषयमा छलफल न त जनतासँग गर्यो न त उनका कार्यकर्ताहरुसँगै । त्यस्तै उपविजेता बनेका दलहरुले पनि जनतामाझ जान सकेनन् । चुपचाप बसेर यतिका दिन बिताएका दलहरुले चुनावको मुखमा प्रोपोकाण्ड मच्याउनु कतिको जायज छ ? सत्तामा रमाएका दलले कार्यकाल सम्पन्न हुने समयसम्म पनि स्थानीय तहदेखि प्रदेश हुँदै संघीय सरकारसम्म घचघच्याउन र घोषणापत्र अनुसार काम भए÷नभएको टिकाटिप्पणी गर्न सकेनन् । कम्युनिष्टहरुको दुइतिहाइ भएर पनि जनताको काममा पूर्णता कायम गर्न नसक्नु र प्रतिपक्षले पनि विकासका काममा गुमनाम हुनुले यो बेला बौद्धिक व्यक्तित्वहरु भन्ने गर्छन्, जनतालाई नागरिक बनाउन नसकेका दलले रैतिको व्यवहार गर्दै दल प्रवेश, आश्वासन आदिले जनतालाई पुरानै शैलीमा लैजान खोजेको आरोप छ ।

चाहे जे होस्, पार्टी प्रवेशको हल्ला चुनावका मुखमा कति सान्दर्भीक छ ? कतिसम्म पत्याउने ? यस्ता कुरालाई मध्यनजर गर्दै चुनावलाई आफ्नो बनाउन र नागरिक जनतालाई राम्रो बनाउन देश विकास र समतामूलक समाज निर्माणमा जाने उद्देश्य र लक्ष्य राख्दै अगाडि बढ्नुपर्ने अवस्था छ । चुनाव राजनीति गर्नेहरुका लागि परिवर्तनको बाटो हो । त्यसलाई सार्थकता तुल्याउन अनावश्यक पार्टी प्रवेश, रातारात अन्न तथा आर्थिक नजरानाको लोभ देखाई होहल्ला मच्चाउने जस्ता कार्यले हाम्रो समाज कता तिर मोडिदैछ भन्ने विषय बुझ्न जरुरी छ । त्यसतर्फ सबै दलहरुको ध्यानाकर्षण हुन जरुरी छ ।