पूर्वेली लोक संगीतमा सक्रिय जुनी « Yalambar Times
१२ चैत्र २०८०, सोमबार

पूर्वेली लोक संगीतमा सक्रिय जुनी


यलम्वर टाइम्स
१८ फाल्गुन २०७८, बुधबार १०:२१

अर्जुनधारा । पूर्वेली लोक संगीत क्षेत्रमा जुनी खालिङ राई नौलो नाम होइन । छोटो अवधिमै लोक, आधुनिक तथा जातीय भाषामा गरी ६० भन्दा बढी गीतमा आवाज दिनुले पनि यो कुराको पुष्टि गर्छ ।

आजभन्दा करिब ४ वर्ष अघि पूर्वाञ्चल गट ट्यालेन्ट प्रतियोगिताको सिजन–२ को विजेता बनेसँगै स्वरको दुनियाँमा व्यस्तता बढेको छ ।

सानै उमेरबाट गीत गाउन रुचाउने खालिङ पूर्वाञ्चल गट ट्यालेन्ट आफ्नो लागि टर्निङ पोइन्ट भएको बताउँछिन् ।

महामारीका कारण लकडाउनले अस्तव्यस्त बनाए पनि कार्यक्रमहरु हुन थालेपछि भने भ्याईनभ्याइ छ । कहिले गीत रेकर्डिङ त कहिले स्टेज प्रोगाम उनी पुगेकै छिन् ।

सागुरीगढी ९ धनकुटामा नरजीत र विष्णुकुमारी खालिङ राईको कान्छी छोरीको रुपमा जन्मिएकी जुनु बाल्यकालमा घाँस दाउरा गर्दा गीत गाउँदै हिंडेको सुनाउँछिन् ।

‘पहाडको ठाउँ घाँस दाउरा गर्नैपथ्र्यो’ उनले भनिन्, ‘घाँस, दाउरा जाँदा साथीहरुले तेरो स्वर राम्रो छ भन्दै गीत गाउन लगाउँथ्ये ।’

लोक, आधुनिक र विभिन्न जातीय भाषाका ६० भन्दा धेरै गीतमा मधुर स्वर प्रदान गरेकी उनको दर्जन बढी गीत बजारमा आउन बाँकी रहेको छ ।

मोफसलमा रहेर सांगीतिक कर्म गर्न सहज छैन तथापी पूर्वीय लोक संगीतलाई उठाउन खालिङ सक्रिय छिन् ।

उनले गाएको ‘बल्छी थाप्न माछीलाई खोलीको लेउमा’, ‘परिन्छ कि जारीमा’, ‘पानी खानु मुलको मीठो’ लगायतका गीत चर्चामा छन् ।

विभिन्न सांगीतिक कार्यक्रमहरुमा प्रस्तुति दिँदै आएकी उनी पूर्वाञ्चल गट ट्यालेन्टको जर्जको रुपमा कार्यरत छिन् ।