बुढेसकालको एकान्तवास

कौशीमा लस्करै ताँती लगाएर राखेको गमलामा काँडे फूल स्याहारी रहेकी यो घरकी मुल बुहारीलाई एक तमासले हेरिरहेको थिएँ । कति मेहनतले स्याहारेकी । किञ्चित अल्छी नगरी एक तमासले त्यो काँडे फूलका बोटमा सुकेर बेकाम भएका सानातिना हाँगाहरु कुशल हातले भाँच्दै मिल्काई रहेकी थिइन् । म पनि पुस महिनाको पारिलो घामको आश्रयमा बसेर बुहारीको मेहनत र जाँगर नियारिरहेको थिएँ । कति चाँडै समय बितेछ । हिजोअस्ती झै लाग्छ छोराको बिहे गरेर भित्र्याएको । दुइ वटा नातिको धनी भइसकिएछ । अब त समयसँगै केश पनि सबै सेतै भइसकेछ ।

अनायास मेरो हात सेताम्मे परेको केशमा पुग्छ । मनमनमा ऐन अगाडि उभिएर आफ्नो फूलेको केश निहार्न मन लाग्यो । तर छेउछाउमा कतै ऐना देखिन । अचानक मनमा के आयो कुन्नी ! आफूले लगाएको चस्मा फुकालेर हातमा लिएँ । चस्माको एक कुनामा चर्किएको सिसा सफा गरेर आफ्नो फूलेको केश निहार्ने प्रयास गरें । सेतो चस्मामा मेरो सेतै फूलेको केश देखिदो रहेछ । केश हेर्ने प्रयासमा आफ्नो चाउरी परेको अनुहार चाँही देखियो । मनमा च्वास्स घोच्यो । समयसँगै बगेको उमेरको खुड्किलोको प्रतिविम्ब अनुहारको चाउरीपनामा देखिदो रहेछ । समयले यो रुपमा ल्याएर घिसार्दो रहेछ, मैले सोचेकै थिइन । हुन त आफू जवान हुँदा धेरै वृद्धवृद्धा देखेको हो । अरुको गालाको चाउरीपन पनि देखेको हो, तर मेरो पनि त्यही अवस्था हुन्छ भनेर कहिले पनि सोचिन । मेरो पनि हात खुट्टा खुम्चिन्छ भनेर कहिले सोचिन । मैले त मेरो जीवनभर यस्तै जवान नै रहन्छु भनेर अहंकारमा बाँचिरहेको थिएँ । तर समयको प्रहार अनि घरको परिवारको लालन पोषण र पद पैसाको दौडधुपले आज यो अवस्थामा अरुको सहारामा बाँच्नु परिरहेको छ ।

ऐनामा देखिएको चाउरीपनले गिज्यायो । मनमा लाज त लागेन तर केही खल्लोपन भने लागेर आयो । शरीरमा केही चिसोपनको दबाब बढेर आयो । आँखा चारैतर्फ दौडाएँ । चिसोसँगै हुस्सु बढेको हो या हुस्सुसँगै चिसो बढेर आयो अन्दाज लगाउने सकिन । त्यस्तोमा केही तातो चिजको कमी भए जस्तो लाग्यो । त्यही भएर बुहारीलाई चिया मागौं भनेर दुस्साहस गरें । ‘बुहारी, यहाँ बाहिर बस्दा चिसो भयो । यो जाडोमा एक कप चिया ल्याउन ।’ बुहारीले सायद सुनिन होला । मैले दोहोर्याएर भने ।

‘जाडो छ भनेर थाहा हुँदाहुँदै किन बाहिर बस्नु त । थपक्क कोठामा गएर सिरक ओढेर सुत्नु नि ! आफूलाई फुर्सद नभएको बेला चिया पकाउनु भन्छन् । भित्र गएर कमलालाई चिया पकाउनु लगाएर कोठामा नै पिउनु ।’ भन्दै घरमा काम गर्ने सानी केटी कमलालाई बोलाई । ‘बुबालाई चिया बनाईदे !’ भनेर आदेश दिई र बुहारी आफ्नो धुनमा मस्त भई ।

म अमिलो मन लगाएर आफ्नो कोठातर्फ लागें । म आफ्नो कोठामा पुगेर पलङ्गमा बसिसक्दा कमलाले चिया बनाएर ल्याइदिई । तातो चियाको कप उमेरको उचाई कमजोरी र जाडोले कामेको हातले समाउँदै पिउन थाले । मनमा हिन भावना अनुभव हुन थाल्यो । हुन त यस्तो शब्दको प्रहार सहने बानी नै परिसकेको छ । तर पनि प्रहार धेरै भए पश्चात कुनै एक समयमा चर्किने क्रम सुरु हुन्छ । त्यसैले हरेक शब्दको प्रहारले मन चर्किन थालेको थियो । यदि मेरो छोरा यहाँ घरमा भइदिएको भए यस्तो प्रहार हुन्थेन । तर यो समय मेरो छोरा बैदेशीक रोजगारीको सिलसिलामा दुवई गएको छ । उमेरको यो उचाईमा पुगेको बेला आफ्नो सन्तानको सहाराको आवश्यकता पर्छ । कहिले एक्लै हिंडिरहेको बेला पाइलाहरु लर्खराउन खोज्छ । उठ्न खोजेको बेला समाउने सहारामा हातले तागत नदिँदा आफ्नो सन्तानले समाएर सहारा देओस् । यो उमेरमा हामी जस्तो प्रौढलाई यस्तै अपेक्षा हुन्छ । समयले हातमा थमाईदिएको लौरो भाँचिनु त्यति ठूलो दुःख होइन जति आफ्नो जीवन संगीनीले जीवन यात्रामा बिच बाटोमा छाडेर जान्छन् । यस्तोमा जीवनमा सहाराको आवश्यकतामा धेरै बाधा आउँछ ।

कति हर्षका साथ सम्धीको आँगन पोलेर ल्याएको बुहारी र आफ्नो छोराले सहारा देला र आफ्नो बाँकी जीवन बेगर जीवन संगीनी आराम साथ दिन व्यतित गर्न पाइन्छ भनेर कत्रो अपेक्षा थियो । तर सोचे झैं कहाँ हुँदो रहेछ र ! बुहारीको मुखराविन्दबाट सँधै धारीलो शब्दको प्रहार प्रवाह भईरहन्छ । बुहारीको व्यहोरा छोरालाई सुनायो छोरा सदा मौन । पोल सुनाउनुको पनि एउटा हद हुन्छ त्यसैले अब त म पनि चर्केको छाती लिएर बुहारीको कटु वचन सुन्दै मौन रही नातिनातिनीसँग उनीहरुको बालापनसँग रमाउँदै जीवन व्यत्तित गर्न बाध्य म एक लासमा खडा रहेको बुढो, पात सबै झरेको र हाँगा सबै सुकेको रुख जो कुनै दिन आउने मृत्यु आँधीको प्रतिक्षारत झै खडा रहेको छ । जसको न त कसैले त्यसको आवाज सुन्छन् न त कुनै सहाराको आशा हुन्छ ।

हातमा थापेको चियाको कप खाली भएछ । कप छेउको टेवलमा राखेर ओछ्यानमा रहेको सिरक ओढ्ने प्रयास गरे । ओछ्यानमा पल्टेर सिरक ओढेर पुसको जाडो छल्न खोज्दै गुटुमुटु परे । एकान्त कोठामा एक्लै धुम्धुम्ती कति बेरसम्म बस्न सकिन्छ र त्यसैले आँखा चिम्लेर निदाउने प्रयास गरे । यसरी नै कुनै दिन अन्तिम निन्द्रा आउला कि ?

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd