म माथि प्रश्नै प्रश्न वर्षदा « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

म माथि प्रश्नै प्रश्न वर्षदा


यलम्वर टाइम्स
२ फाल्गुन २०७८, सोमबार ०६:१३

[सन्तोष नेम्वाङ]

बिहानको नित्यकर्मको दौडादौडीबाट मुक्त भएर आफ्नो शयन कक्षमा प्रवेश गरियो । जाडोको मौसम, चिसो चिसो हावाले मेरो बाहिरी चर्मलाई सुमसुम्याई रहेको थियो । चिसोले गर्दा चर्ममा केही कठोरपनको आभाष भएको थियो । त्यसैले श्रीमतीलाई भनेर भ्यासलिन ल्याई मागेको थिएँ । ल्याएर टेवलमा राखिदिइन् । त्यस पश्चात आफूलाई ऐनाको अगाडि उभ्याएँ । गालाको चाउरीपन सुमसुम्याएँ । सायद अदृश्य सहानुभूति दिइरहेको छु ।

गालाको त्वचा चाउरी पनि किन नपरोस् । उमेर पाँच दशकभन्दा उकालो लागि सक्यो । धत् यो केश पनि कति फूलेको । हुन त जति केश फूलेको छ त्यति नै धेरै मन पनि फूल्दैछ । सिसाको अगाडि बसेर आफ्नो प्रतिबिम्ब निहार्न केही अफ्ठ्यारो लाग्यो । उमेरका साथ शरीरको बनावट पनि परिवर्तन भएर आएछ । पेटको आकार सर्टको टाँक चुढ्याउने प्रकारको भएछ । हातको नाडीमा नशाको धर्साको संख्या बढ्न थाल्यो । सायद उमेरको उपहार होला, तर पनि आफूलाई उमेर भन्ने चिज समयको निरन्तरताको एक क्रमिक नियममात्र हो । किनकी उमेरसँगै बगेर शिथिल हुनलाई अन्तर्मनबाट नै आफू बुडो भएँ भन्ने सोचको उदय हुनु हो । मलाई लाग्छ मेरो उमेर त अझै धेरै बाँकी छ । अहिले त मेरो उमेर खाने खेल्ने बेला मात्र हो । यस्तै के के सोच्दै आफ्नो त्वचामा भेसलिन दल्न थाले । केशमा अलिकति अमलाको तेल लगाएँ । अनि केश त कोर्नै पर्यो भनेर काँइयो केशमा घुमाएँ ।

आज एउटा मिटिङमा जानु पर्ने थियो । हतार–हतार गरेर अलिकति नास्ता खाएर मोटरसाइकल निकाले । स्टार्ट गरेर केही पर पुगेको मैले मान्ने मदन काकालाई भेटे । मोटरसाइकल रोकेर नमस्कार टक्याँए । उहाँले हातको इसाराले ‘कता हिंडेको ?’ भन्नुभयो । ‘आज कोरोना खोप सम्बन्धित मिटिङ छ, त्यतातर्फ लागेको काका’ मैले जवाफ फर्काएँ ।

‘ए अनि कता गर्छन् अरे मिटिङ ?’ ‘नगरपालिकामा सीसीएमसी भन्ने समिति छ, त्यतै मिटिङ हुन्छ ।’

‘अनि कुन खोप लगाउने अरे ?’

‘खोई ! काका अहिले त थाहा भएन । अब पहिला त्यहाँ पुगौं अनि थाहा होला ।’

‘ए त्यसो हो… ल है तिमीहरु त अलि अलि यताउता कुदिरहने मान्छे । समाजको अगुवा । केही सहुलियतहरु आए हामीलाई खबर गर्दै गर्नु है !’

‘हस् ! काका’ भनेर मोटरसाइकल चालु गरेर हिंड्नमात्र के आँटेको थिएँ ‘एक छिन पख् त’ भनेर बोलाउनु भयो । मैले उहाँतर्फ हेरेर सोधे, ‘किन काका ?’

काकाले पकेटबाट चुरोटको बट्टा निकाल्दै सोधे, ‘अनि कुन ठाउँमा हान्छन् सुई ?’

‘सुई आयो भने आ–आफ्नै वडामा लगाउँछन् होला ।’

‘अनि अस्ति त २ वटा वडाको एकै ठाउँमा हानेका थिए त ।’

काका एकोहोरो सिगरेटको सर्को तान्दै मलाई प्रश्न तेर्साइरहेका थिए । ‘अब हेरौं के हुन्छ यसपाली । ल काका म चाँही लागे अहिले, भरै आएर जानकारी दिउँला’ भन्दै म हुइकिए । काकाको एकोहोरो प्रश्नले मथिङ्गल रिङ्ग्यायो । आफूलाई कति हतारो छ ।

एकोहोरो प्रश्न तेर्साएर हैरान । केही बेर एकसुरमा हुइकिरहेको बेला अचानक एक जनाले हात उठाएर मोटरसाइकल रोक्न भन्यो । झस्किएर एक नजर हेरें । हाम्रै छिमेकी केटो सर्वज्ञान सम्पन्न काले रहेछ । मैले उसलाई सर्वज्ञान सम्पन्न भन्न खोजेको चाँही त्यो काले सबै विषयमा ज्ञान प्राप्त गरेझैं प्रत्येक विषयमा आफै जान्ने भई बोलिरहेको हुन्छ । उसले नजानेको र नभोगेको विषय संसारमा केही छैन होला सायद ।

‘कताको सवारी होला ?’ मुसुक्क हाँस्दै सोध्यो । मैले पनि प्रतिउत्तरमा मुसुक्क मुस्कुराएर जवाफ दिँए, ‘आज कोभिड सम्बन्धि मिटिङ छ, अनि हतार हतार हिंडेको है !’ मैले सकभर उबाट उम्कने प्रयास गरे । तर, उसले कहाँ त्यतिकै जान दिन्थ्यो र ! छेउमा आएर मोटरसाइकलको हेण्डल समाएर प्रश्न तेर्साउन थाल्यो, ‘दाइ ! एउटा समस्या आइलाग्यो के गरौं ?’

‘के भयो भाइ ?, त्यस्तो के समस्या आइलाग्यो ?’ ‘खास कुरा के भने मैले एक जनालाई धेरै महिना पहिला पैसा सापटी दिएको थिएँ । तर आजसम्म फर्काएको छैन, दाइले उपाय बताईदिनुपर्यो ।

‘मैले कसरी उठाइदिनु ?’ ‘मैले सुनेको तपाईबाट यो काम हुन्छ अरे’

‘धत् यस्तो हावा कुरा कसले सुनायो भाइलाई ?’

‘बजारमा हल्ला सुनेको’ उसले टाउँको हल्लाउँदै जवाफ दियो ।

‘धत् हल्लाको पछि नलाग है, म त्यस्तो काम गर्ने मानिस होइन है । म आफ्नो मेहनतको कमाई खाने मानिस परे । कसैको पैसा उठाइदिएर कमिसन खाँएर जिन्दगी चलाउनेमा म परिन है भाइ !’ भन्दै मोटरसाइकल हुइकाउन लागेको फेरी हेण्डल समातेर रोक्यो । ‘अनि दाइ त्यति कुरामा नै रिसाउनु पर्छ त ? गल्ती भए माफ पाउँ । तपाई त सानो कुरामा नै आवेशमा आइहाल्नु हुने रहेछ । तपाई जस्तो समाजसेवीले रिसाउन मिल्दैन है !’

रीस त जहाँसम्म जागेको थियो नि ! तर अनुहार र बोलीमा प्रकट गरेको थिइन । मैले पनि मन्द मुस्कानसहित सान्तवना दिएँ, ‘त्यस्तो होइन भाइ ! म किन रिसाउने ? मलाई अहिले अलि हतार छ । ल म लागे है !’ भनेर मोटरसाइकल अगाडि बढाएँ । जबसम्म गन्तव्यमा पुगिएन तबसम्म म आफ्नै मनमनमा बर्बराई रहें ।

प्रश्न गर्नुको पनि एउटा तरिका हुन्छ नि ? आफूलाई जे मनमा आयो त्यही सोधिदिन्छन् । म पनि त सर्वज्ञान सम्पन्न मानिस त होइन नि ! उनीहरुको हरेक प्रश्नको जवाफ दिन सक्ने । फेरी प्रश्न सोध्नुको पनि एउटा हद हुन्छ नि ! शीरदेखि पाउसम्म सोधिरहेको हुन्छ । किन ? कहाँ ? कसले ? कहिले ? यस्ता वाहियात प्रश्नहरुको जवाफ दिनु मेरो दैनिकी भइसक्यो । भनौ, अब त बानी नै परिसक्यो । त्यसैले यसलाई पनि नित्यकर्मझैं ठानेर आफ्नो कर्म पथमा निरन्तर लागिरहने अठोट गरेको छु ।