डोमालाल रंगशालाको स्तरोन्नति गरिदै

बिर्तामाड । पाँचौँ संस्करणको झापा गोल्डकप २०७८ नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति सुरु गरिएको छ ।

यही फागुन २१ गतेदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत सुरु गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

मैदानको झार गोडेर रंगशालालाई पुरानै अवस्थामा पुर्याउन गोडमेल तथा मर्मतको काम सुरु गरिएको हो । डोमालाल राजवंशी रंगशाला देशभरका खेल मैदानहरुमध्ये उत्कृष्ट मानिन्छ ।

खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता नहुने र प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाइने बस्नेतले बताए ।

रंगशालामा करिब १० हजार दर्शक बस्न सक्ने गरी बाँसको प्यारापिट पनि निर्माण गरिने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।

नेपालकै उत्कृष्ट र आकर्षक मानिएको फुटबल मैदान डोमालाल राजवंशी रंगशालाको स्तारोन्नतिका लागि तीव्र गतिमा काम भइरहेको पौडेलले बताए ।

झापा गोल्डकपजस्तो प्रतिष्ठित प्रतियोगिता हुने सो मैदानको आकर्षण नघटोस् भनेर आयोजक समितिले काम सुरु गरेको हो ।

रंगशालामा उम्रिएका अनावश्यक झार उखेल्ने तथा प्राकृतिक घाँस रोप्ने काम थालिएको छ ।

पाँचौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद छ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्ने कोषाध्यक्ष केदार गिरीले जानकारी दिए । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार र उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिने गिरीले बताए ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ९ हजार ९९९ रुपैयाँ दिइनेछ ।

प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित नेपालका ए डिभिजन क्लब, मोफसलका एक वा दुई क्लब र विदेशी क्लबको सहभागिता रहनेछ ।

झापा गोल्डकपको फाइनल खेल फागुन ३० गते हुनेछ ।

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd