ओमिक्रोन आतंकभित्र बजार अनुगमन शून्य « Yalambar Times
६ बैशाख २०८१, बिहीबार

ओमिक्रोन आतंकभित्र बजार अनुगमन शून्य


यलम्वर टाइम्स
१८ माघ २०७८, मंगलवार ०८:०९

ओमिक्रोन भाइरसले सताइरहेको बेला बजार अनुगमन शून्य हुनुले मनपरी दररेटबाट उपभोग्य सामग्रीहरु बिक्री वितरण भएको पाइएको छ । त्यतिमात्र होइन खानेतेल, दाल, चिनी लगायतका दैनिक प्रयोग हुने चिजहरुको भाउ उकालो लागेको छ । भाउ बढ्नु कुनै सूचना नहुनु, एक्कासी दररेट बढेको बताउँनु बजार अनुगमन नहुनुको मुख्य कारण हो । बजार अनुगमनको जिम्मा पालिका तथा वडास्तरलाई छ तर, न त पालिकाले ध्यान दिन्छ न त वडा सरकारले नै । ति दुवैले ध्यान नदिएपछि प्रहरी प्रशासनको भने कुरै छाडौं ।

कोरोनाको महामारी फैलिएसँगै उपभोग्य सामग्रीको भाउ बढ्नु सरकार नालायक हुनुको एउटा नमूना हो । यदी सरकार सक्षम भए अनुगमनलाई चुस्त रुपमा अगाडि बढाउन सक्थ्यो होला । प्रत्येक पालिकाका उपप्रमुख अनुगमनको मुख्य अधिकारी ठानिन्छ । अधिकारीले नै आफ्नो काम कर्तव्य नबुझ्नुले जनता महंगीको आर्थिक चपेटामा पर्नु स्वाभाविक हो । यस्तो दुरदशा आउने दिनमा नव्यहोर्ने हो भने पालिकाका प्रतिनिधिहरु छान्नमा ध्यान पुर्याउनुपर्ने हुन्छ । तर हामी राजनीतिक धारमा कुद्ने भएको हुँदा सक्षम लिडरलाई नहेरी धारमा मतदान गरेपछि हामी कही न कही चुक्ने अवस्थामा पुग्छौं नै ।

यसको फलस्वरुप अनुगमनलाई लिए हुन्छ । बजारमा कस्ता चिजहरु आउँदैछन् ? जनताले कस्ता खानेकुराहरु खाँदैछन् ? मिसावट कतिको छ ? कर छली गरि गुट्खा मधुहरु कति बिक्री भएका छन् ? यसको कुनै चियोचासो छैन । त्यसैले कोरोना संक्रमणको यो समयमा महंगीले जनता सताइरहेको बेला प्रशासनले नै गाउँबस्तीका बजारहरु अनुगमन गर्नुपर्ने देखिन्छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जानसकोस् । अस्तु ।