नेपाली पत्रकारितामा फोनिजले खेलेको भूमिका

 

[दिपीन राई, इन्चार्ज, प्रदेश नं. १, फोनिज]

कुनै समय नेपालका पुराना पत्रकार विनय कसजुले भन्ने गर्नुहुन्थ्यो, ‘राजनीतिक दलहरुको जस्तै चाल नेपाली पत्रकारितामा प्रवेश गर्याे भने लेखेर गरी खानेभन्दा नलेखी पत्रकारिताको इतिहास बेचेर खानेहरुको संख्या बढ्न सक्छ ।’

रोमारियोका पत्रकार पाउल राडुले भन्ने गर्थे, ‘लेख्नेभन्दा बोल्ने पत्रकारहरुको संख्या बढी भयो भने पत्रकारिताको मर्म अस्ताएर जान्छ ।’ यी दुवै व्यक्तिहरुको भनाई नेपाली पत्रकारितामा विस्तारै मौलाउँदै आएको छ । आज लेख्नेहरुको संख्या कम छ, बोल्नेहरुको संख्या बढी भएकै कारण उनीहरुको बोलावट र फुर्तिपन जताततै देखिन्छ । त्यसैले होला लेख्ने पत्रकारभन्दा पनि राजनीतिक संगठनमा आवद्ध भएर हुँक्कार गर्ने मानिसले पत्रकारहरुको पेशागत संगठन चलाइरहेका हामी पाउँछौं ।

जसले लेख्न जान्दैन, अध्ययन गर्न सक्दैन, पत्रकारितामा मिहनत गर्न सक्दैन त्यस्ता व्यक्ति मिडिया उद्यमी भएर पत्रकारहरुलाई लेखाउने र त्यसबाट उपार्जन गर्ने व्यक्ति हुँ भनी चिनाउने गर्छन् । त्यतिमात्र होइन पेशागत संगठनको अगुवा र अग्रज हुँ भन्दै पत्रकारिताको विषयमा अर्तीउपदेश दिन थाल्छन् । आज यस्ता व्यक्ति पूर्वी नेपालमा मात्र होइन, अधिराज्यभरि नै धानमा लाग्ने कालीपोके जस्तै फैलिदै गएको छ ।

हामीले गरेको पत्रकारिता समाज रुपान्तरणमात्र होइन समताको बाटो पनि हो । जब नेपालमा लोकतन्त्रको उदय भयो, वर्षौदेखि समाज रुपान्तरणको सन्देश दिँदै आएका ती व्यक्तिहरुले नै समताका आवाज ओकल्न सकेका छैनन् । रुपान्तरण भन्दै सन्देश दिँदै हिंडिरहेका छन् । निश्चित सामन्ती चिन्तन बोकका मिडिया उद्यमीहरुले त्यस्ता सन्देश दिँदै हिंड्दा नेपालमा आदिवासी जनजाति पत्रकारहरुको उदय भएको थियो ।

२०५६ सालमा काठमाण्डौ स्थित नागरिक मासिक अखबारको कार्यालयमा आदिवासी जनजाति नश्लका पत्रकारहरुको भेला र सामान्य छलफलबाट आदिवासी जनजाति पत्रकार संघ स्थापना भयो । संघका अध्यक्ष चन्द्रसिंह कुलुङ राई थिए । संघको स्थापना हुँदै गर्दा पत्रकारितामा पनि जातिवादीहरुको संख्या उठ्न थाल्यो भन्ने तहल्का नमच्चिएको होइन । आदिवासी जनजाति पत्रकारको उदयपछि यसले उठाएका मुद्दा केही राजनीतिक दलहरुलाई सार्थकता थियो भने केही दललाई भने जंगली काँडा जस्तो बन्यो । पछि आदिवासी जनजाति पत्रकार संघबाट महासंघमा परिणात हुँदा विशेष गरी पूर्वीय क्षेत्रमा यसको प्रभाव बेजोड रुपमा पर्न पुग्यो । त्यसैले पूर्वीय क्षेत्र अनिजबाट फोनिज हुँदा आज प्रदेश नं. १ का १४ वटै जिल्लामा यसको सशक्त समिति खडा भई सक्रिय छन् ।

फोनिज उदाउनुभन्दा पहिलेको पत्रकारिता सूचनामूलक मात्र थियो । त्यसैले प्रकाशित हुने अखबारका हरेक पानाहरुमा उद्घाटन, हत्याहिंसा, कथा कविता र केही विकासका गतिविधिमात्र पोतिन्थे । तर, फोनिजको उदय भयो फोनिजले गरेका बहससँगै उठान हुने विषयहरु फरक भएपछि आज नेपाली अखबारका पानाहरुमा पहिचान, अधिकारका कुरा, भाषा संस्कृति, संस्कार र जातिको लिपी र उनको भाषाबाट बगरेल्ती विचारहरु आउन थाले । प्रकाशित हुँदै गरेको अखबारमा जातजातिको अधिकार र संस्कार संस्कृतिका फोटोहरु छापिएनन् भने त्यो अखबार समाजमा सुन्दरता भएर प्रकाशित भएको देखिन्न ।

थिए त, विनय कसजु र पाउल राडुले भनेको जस्तै पत्रकारहरुको संख्या । अझै पनि देखिन्छन् । वरिष्ठताको नाममा काम गरिरहेका छन् । परिवर्तनमा उनीहरुको मन खुकुलो छैन । सञ्चार गृह खोलेका छन्, माथिल्लो तहमा उनीहरु नै छन् । काम गर्ने भने तल्लो वर्ग । कुनै बेला न्यूटलाइटका सम्पादक गोपाल गुरुङले भन्ने गर्थे, ‘नेपालमा आदिवासीका मुद्दा उठाउने पत्रकारहरु कहिले जन्मिन्छन् होला ।’ छहराका सम्पादक गोपाल छाङ्छा भन्थ्ये, ‘म जस्तै आदिवासीका मुद्दा उठाउनेहरुको संख्याको उदय कहिले हुन्छ होला ।’ गुरुङ र छाङ्छाले भन्ने गरेको शब्द आज फोनिजले पूरा गर्दैछ ।

पूर्वी १ नं. प्रदेशकै कुरा गर्दा यहाँ असंख्यक भाषा लिपीका पत्रपत्रिका र पुस्तक प्रकाशित भएको स्थान हो । कुनै बेला हवाई पत्रपत्रिकामार्फत मायालुलाई शब्द जाल बुन्दै गजलहरु प्रकाशित हुन्थ्ये । अहिले पहिचान र अधिकारका विषयमा हवाई पत्रिका जस्तै बगरेल्ती बुलेटिनहरु प्रकाशित हुँदै आएका छन् । यद्यपी अन्य पत्रपत्रिका जस्तो सूचना विभागमा दर्ता नभएका होलान् तर भाषा, संस्कृति र पहिचानका विषयमा थुप्रै अखबारहरु हाम्रो सामु प्रकाशित छ । प्रेस काउन्सिलमा दर्ता भएका ७ हजार ७४३ वटा अखबारभित्र आधाभन्दा बढी अखबारमा आदिवासी जनजाति पत्रकारको पहुँच स्थापित हुँदै आएको छ । कही न कही आदिवासी नश्ल काम नगरेको अखबार नै छैन । पूर्वकै कुरा गर्दा प्रत्येक स्टेशन म्यानेजर तथा समाचार वाचक, सम्पादक आदिवासी नश्ल नै छन् । पूर्वीय क्षेत्रमा प्रकाशित हुने दैनिक या साप्ताहिक अखबारमा आदिवासीहरुको उत्तिकै उपस्थिति छ ।

फोनिज हुनुको पछाडी सामान्य समाचार लेख्ने काम मात्र होइन, उसको काँधमा भाषा, धर्म, संस्कृति, पहिचान र समताको आवाज बोकेको हुन्छ । त्यसैले चेतनशिल पत्रकार हुँ भन्ने र फोनिजमा लाग्ने जो कोही अध्ययनशिल हुन जरुरी छ । पूर्वी क्षेत्रमा काम गर्ने आदिवासी जनजाति पत्रकारहरुमा अध्ययनसँगै कामको लगाव छ । जो बढी बोल्दैनन्, लेखिरहन्छन् ।

             दिपीन राई

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd