ओमिक्रोनः सचेत रहौं « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

ओमिक्रोनः सचेत रहौं


यलम्वर टाइम्स
२४ पुष २०७८, शनिबार ०३:२८

सन् २०१९ मा महामारीको रुपमा देखा परेको कोभिड–१९ ले विश्वका प्राय सबै मुलुकमा आफ्नो प्रभाव देखाइसकेको छ । विश्वको तथ्याङ्कलाई हेर्ने हो भने कोरोनाकै कारण कैयौं मानिसले ज्यान गुमाइसक्नु परेको अवस्था छ । कोरोना संक्रमण फैलिदै जाँदा रोकथामका लागि मुलुकमा लकडाउन, निशेषाज्ञा, आंशिक लकडाउन लगायतका विभिन्न विकल्पहरु नखोजिएका होइनन् । तर हाम्रो आफ्नै लापरवाहीका कारण नेपालमा पनि संक्रमितको संख्या दिनप्रतिदिन थपिदै गयो, अनि मृत्युदरको ग्राफ पनि उकालो लाग्न थाल्यो । कोरोनाका कारण देशमा लकडाउन गरिदा आर्थिक गतिविधि शून्य भई अर्थतन्त्रमै धक्का लागेको अवस्था पनि छ । पहिलो चरणको लकडाउनमा केही कडाइ गरिए पनि त्यसको प्रभाव न्यून हुँदा जनजीवन सामान्य बनेपनि कोरोनाको विकसित रुप ‘डेल्टा भेरियन्ट’ ले पुनः एक पटक खतराको घन्टी बजाकै हो ।

पहिलोबाट दोस्रो भेरिन्टसम्म आइपुग्दा कैयौंले ज्यान गुमाए भने संक्रमितको संख्या झन आक्रमक भएर आयो । यो बेला माक्स, सेनिटाइजर प्रयोगकर्ताहरु पनि बढ्यो । संघीयदेखि, प्रदेश हुँदै स्थानीय पालिकाहरुले पनि सचेतनाका बिगुल फुकेकै हो । तर आम मानिसमा जानकारी हुँदाहुँदै पनि हेलचेक्र्याँइले संक्रमितको संख्यामा वृद्धि भएको थियो । दोस्रो लहरको संक्रमण चलिरहेकै बेला कोरोना न्यूनिकरणका लागि सरकारले भ्याक्सिनका कार्यक्रमहरु तिब्र रुपमा सार्यो । त्यो क्रम अहिलेसम्म चलिरहेकै छ । देशका प्रायः प्रायः मानिसले कोरोना विरुद्धको खोप लगाइसकेका छन् भने नलगाउनेले अबका दिनमा लगाउन मिल्ने गरिको खोप ल्याइदैछ । खोप लाउनेको संख्या बढेसँगै मानिसमा कोरोना विरुद्धको आत्माबल पनि बढेको पाइन्छ । तर, योसँगसँगै हेलचेक्र्याइ पनि बढेको पाउँछौं ।

यतिका बीच फेरी ओमिक्रोनको संक्रमण छिमेकी मुलुक भारत हुँदै नेपाल प्रवेश गरिसकेको छ । यस्तो अवस्थामा आम जनताले सचेत हुन आवश्यक छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड अपनाउँदै सजग बने संक्रमणलाई रोक्न सकिनेछ । खोप लगाएकै छु भन्ने प्रवृत्तिले संकटमा पुर्याउन सक्छ तसर्थ खोप लगाइसकेका र नलगाएका सबै सजग र सचेत हुन आवश्यक छ । स्थानीय, प्रदेश तथा संघीय सरकारले पनि जनतालाई सास्ती नपर्ने गरी यसको रोकथामा लाग्न जरुरी छ । महामारी रोकथामको जिम्मा सरकारको मात्र होइन, आम नागरिकको पनि कर्तव्य हो । थोरै मात्र सचेतना अपनाउँदा संक्रमित हुन र अरुलाई सार्नबाट जोगिन सकिन्छ भने हामी सबै सजग बन्न आवश्यक छ ।