१८ औं वार्षिक सभामा महिला चेतना बहुउद्देश्यीयको प्रशंसा « Yalambar Times
४ बैशाख २०८१, मंगलवार

१८ औं वार्षिक सभामा महिला चेतना बहुउद्देश्यीयको प्रशंसा


यलम्वर टाइम्स
२७ मंसिर २०७८, सोमबार १०:२२

अर्जुनधारा । महिला चेतना बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाको उद्घाटन गर्दै प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाको उपप्रमुख कमला खतिवडा आचार्यले सहकारीको तीन खम्बे नीति अख्तियार गरेर अगाडि बढ्न सके जनस्तरबाट सञ्चालित सहकारीहरुको उन्नति हुने बताए ।

प्रमुख अतिथि आचार्यले बहुउद्देश्यीय सहकारीको नाममा अर्थतन्त्र चलायमानसँगै शेयर सदस्यलाई बाँच्ने बचाउने आधारको सीप सिकाउन पनि आग्रह गरे ।

कार्यक्रममा सहकारीका अध्यक्ष नीलाकुमारी दाहालले सहकारीमा आवद्ध शेयर सदस्यहरुले संस्थालाई अगाडि बढाउन आवश्यक सुझाव दिनुपर्ने बताइन् ।

सभामा व्यवस्थापक उमा थापाले महिला चेतना बहुउद्देश्यीय सहकारी संस्थाले गरेको कारोबारको विषयमा जानकारी गराउँदै संस्थाको आम्दानीका विषयमा अवगत गराएकी थिइन् ।

छोटो समयमा आर्थिक उन्नतिको पाटो दर्बिलो र संस्थामा आवद्ध कृषकहरुलाई मल, विउ विजनदेखि सहुलियतमा ऋण प्रवाह गरेको समेत बताइन् ।

उनले पशुपालन व्यवसायलाई अझ प्रभावकारी र पशुलाई खनिज तत्वको कमि हुन नदिन साथै दूधमा प्रोटिन र फ्याटको भागमा सुधार गर्न खनिज ढिका उद्योग सञ्चालन गरिने, पशुधन सुरक्षित गर्नका लागि नगरको पशुपंक्षी विकास शाखामार्फत विमा कार्यक्रम सञ्चालन गर्नका लागि संस्था अगाडि बढेको, शेयर सदस्यका श्रीमान मरिमराउ भएको अवस्था दशकर्म खर्च उपलब्ध गराउँदै आएको, सुत्केरी पोषण कार्यक्रमलाई प्राथमिकता दिएको, दैविक विपत्ती पर्नेलाई यातायात सहयोग प्रदान गरिएको, सदस्यको योगदानमा आधारित उपचार कोषमार्फत सहयोग गरिएको बताइन् ।

उनले बचत नीति, शेयर नीति र ऋण नीतिका विषयमा पनि अवगत गराइन् ।

प्रतिनिधिमूलक रुपमा भएको कार्यक्रममा लेखा समितिका सोमन लुइटेलले बहुउद्देश्यीयद्वारा सञ्चालित आर्थिक नीतिका विषयमा सुझाव दिइन् ।

महिलाहरुको मात्र सहभागिता रहेको यस संस्थामा कुल शेयर सदस्य २ हजार ५ सय ६ रहेको समेत जानकारी संस्थाले दिएको छ ।

दुइ चरणमा भएको कार्यक्रममा संस्थामा आवद्ध ज्येष्ठ नागरिक गोमादेवी ओली, खगेश्वरा शर्मा, चन्द्रकला आचार्य, ठाकुरकुमारी निरौला, बेदमाया तिम्सिनालाई सम्मान गरिएको थियो भने बचतकर्तामा गंगा श्रेष्ठा, कलादेवी विश्वकर्मा, कर्जामा फुलमाया चौहान, दिलु तामाङ सम्मानित भएका छन् ।

कर्मचारीहरुमा यस संस्थाले विमला कटुवाल बस्नेत र लीला श्रेष्ठ सम्मानित भएको संस्थाकी अनिता कार्कीले जानकारी गराइन् ।

कार्यक्रममा विशेष अतिथि वडा नं. ७ का वडाध्यक्ष नवराम ढुंगाना ‘नविन’ले महिला मात्र उपस्थित भएर सञ्चालनमा आएको यस सहकारीको आर्थिक पारदर्शीता र कामका बारे प्रशंसा गरेका थिए ।

अर्का अतिथि केदार पराजुलीले सहकारीको मोडेलबाट सञ्चालनमा आएको यस संस्थाको उन्नतिको कामना गरे ।

समितिका सचिव गीता अधिकारीद्वारा सञ्चालित कार्यक्रममा पशु शाखाका प्रमुख पदमलाल राई, कृषि विकास शाखाका प्रमुख उर्मिला राजवंशी, अर्जुनधारा माविका प्रअ वेदमाया निरौला, संस्थाकी पूर्वअध्यक्ष चन्द्रकुमारी पौडेल, समाजसेवी अम्मर कटुवाल, यलम्वर टाइम्सका सम्पादक दिपीन राई, नवयुवा क्लबका अध्यक्ष देवेन्द्र मैनाली, राष्ट्रिय सहकारी महासंघका केन्द्रीय देवी बराल, वडा नं. ५ का वडा सदस्य देवीकुमारी घिमिरे, पत्रकार इन्द्र राई लगायतको आतिथ्य रहेको थियो ।