नातिनीले सिकाएको अंग्रेजी

[सन्तोष नेम्वाङ ‘ऐतराज’]

उमेरले नेटो काटेपछिको उत्तरार्धको जीवनमा नातिनातिनीसँग रमाउनुको मज्जा नै बेग्लै हुँदो रहेछ । तोते बोलीमा जिस्कीदै काखमा खेलाउँदै गर्दा आफ्नै सुरुवाल मुतको न्यानो आभाष पाउँदामात्र झल्याँस्स ब्यूझिए झै गरी नानी हजुरआमाको काखमा जिम्मा लगाएर आफ्नो सुरुवाल फेर्नुको आनन्द नै दैनिकी जीवन भोग्ने सिलसिला सहज झै लाग्छ ।

आफ्नो सुरमा खेलिरहेकी नानीको पाइतलामा चुस्स उम्रेको दाह्रीले काउकुती लगाउँदा सानासाना खुट्टाहरु काउकुती लागेर चलाउँदा आफू पनि बच्चा भई खितिति हाँस्न बाध्य भइन्छ । त्यो बेला नातिनी पनि काउकुती लागेर खित्का छाडेर हाँस्थ्यी । भर्खर ३ वर्ष पुगेकी नातिनी तोते बोलिमा खै के भनेर कराउँथी । उसको बोली नबुझे पनि बुझे झैं काउकुती लाग्यो ? भनेर प्रश्न गर्दा मुन्टो हल्लाउँदै ‘अँ’ भन्थी ।

एउटा हातमा मोवाइल समाएर दिनभर कार्टुन हेर्ने गर्दा त्यसमा बोलेको अंग्रेजी शब्दहरु कण्ठस्थ पारे झैं कुनै शब्दहरु अंग्रेजीमै बोल्ने गर्थी । हामी सानो छँदा टिभी त के रेडियो पनि बिरलै सुन्न पाउँथ्यौं । बिहान ५ बजे आँखा खोल्दा हाम्रो घर अगाडिको घरमा रेडियोबाट हिन्दी गीत बजेको सुन्थ्यौं, छुन चाही पाउँदैन थियौं । तर आजका नानीहरु एक वर्ष पुग्न पाएको हुँदैन आमाबुबाले हातमा मोवाइल थमाइदिएका हुन्छन् ।

मेरी नातिनी पनि त्यही दौडमा थिई । सानैबाट अंग्रेजी भाषाको कार्टुन हेर्दा हेर्दै आफूले बोल्ने शब्दमा अंग्रेजी मिसाएर बोलीरहेको हुन्थी । भोक लाग्दा ‘बाजे हङ्ग्री’ भन्दै भात मागिरहेकी हुन्छे त कहिले अध्यारो कोठा देख्दा ‘आईएम स्कारेड’ भन्दै म भए ठाउँमा दगुर्दै आइरहेको हुन्छे ।

यो सुन्दा म आश्चर्यमा पर्छु । हाम्रो बेलामा स्कुल पढ्दा कक्षा ४ बाट मात्र अंग्रेजी पढ्न पाइन्थ्यो । अनि अंग्रेजी कसरी पढ्नु र बुझ्नु भन्ने त्रास मनमा भइरहन्थ्यो । त। वपन त्यो उमेरबाट यो उमेरमा आइपुग्दा मैले पनि केही अंग्रेजी त सिकेको छु । तर अहिलेका नानीहरुले बामे सरेर आमाबुबाको औला समाएर ताते गर्न थालेबाटै यसरी नै अंग्रेजी बोलेको सुन्दा आश्चर्यमा पर्नु त स्वाभाविक नै हो ।

जनावरको नाम पनि अंग्रेजीबाट नै भन्दा झन आश्चर्यको सीमा बढे जस्तो भान हुन्थ्यो । त्यस्तोमा मलाई अझै पनि कुनै कुनै जनावरको नाम अंग्रेजीमा भन्न आउँदैन । त्यो मात्र होइन अंग्रेजी शब्दको ज्ञान मलाई त्यति छैन । एक दिनको कुरा हो, मैले नातिनीलाई माम खाने ? भनेर प्रश्न गरे । उसले पनि मुन्टो हल्लाएर खाने भनी । अनि मैले नै थालमा दाल र भात पस्केर दिएँ । त्यो देखेर उसले आनाकानी गर्न थाली । अंग्रेजी भाषामा खै के के भन्दै थिइ । मैले विस्तारै सोधे ‘माम नखाने ?’ उसले व्हाइट माम थाने । त्यस्तै के के भन्दै थिई । मैले उसले बोलेको कुरा प्रष्ट बुझिन । नातिनी झन रुन थाली । ‘व्हाइट माम’ भन्दै चिच्याउन थाली । मैले हार मानेर नातिनीको आमा जो मेरी छोरीलाई सोधे, ‘के भनेको नानीले ? मैले बुझिन’ भन्दा छोरीले ‘व्हाइट माम’ भनेको सादा भात भनेको’ भनेर मलाई बुझाई ।

त्यो सुनेर म तीनछक्क परे । कहाँबाट आउँछ यस्तो शब्द ? कसरी थाहा हुन्छ त्यति सानी नानीलाई यस्तो शब्द ? यसो सोचे हामीहरु त ढुंगे युगमा नै हुर्केका रहेछौं । १० वर्षको उमेरमा पनि अंग्रेजीको ‘अ’ पनि सिक्न नसकेको हामी अहिलेको नानीहरुसँग कसरी प्रतिस्पर्धा गर्न सक्छौं होला । शायद यो प्रविधिको विकासको कारणले नै यस्तो अवस्था आएको होला । समयले चाहेको परिवर्तन र परिवर्तनको यो रुप देखेर कहिलेकाही एकान्तमा बसेर सोच्न मन लाग्छ र सोच्दा पक्कै हामी ढुंगे युगबाट नै हुर्केर आएका रहेछौं जस्तो लाग्छ ।

त्यसै गरी एक दिन म र नातिनी एउटै ओछ्यानमा पल्टेर मोवाइल हेरिरहेका थियौं । अचानक मोटरसाइकलको हर्नको आवाज आयो । अनि नातिनी ‘बाबा….’ भन्दै दगुरेर गई । म आफ्नै सुरमा मोवाइल हेरिरहें । त्यसको केही बेर पश्चात फेरि नातिनी म भए ठाउँमा आएर मोवाइल हेर्न थाली । मैले उसको केश मुसार्दै सोधें, ‘ममी खोई ?’ उसले ‘तल’ भनेर जवाफ दिई । उसले तला माथिलाई ‘तल’ भन्ने गर्थी । अनि फेरि बाबा खोई ? भनेर सोधें । नातिनीले तोते बोलीमा बाबा टायर्ड भनेर जवाफ दिई । ‘ला… होर ?’ भनेर जिस्काएँ । जिस्काउनु त जिस्काए तर नातिनीले बोलेको शब्दको अर्थ नै बुझिन । मैले धेरै सोचे । यो ‘टायर्ड’ भन्ने शब्द के रहेछ ? म अल्मलिएँ ।

केही बेर पश्चात छोरीलाई ‘टायर्ड’ भनेको के हो ? भनेर सोधें । उसले ‘थकाई लागेको’ भन्ने उत्तर दिई । तब मात्र नातिनीले भनेको शब्द बल्ल बुझें । उसले ‘बाबा थाकेको हुनुहुन्छ’ भनेकी रहिछ । यो सुनेर आफैलाई लाज लागेर आयो । जीवनको यो उमेरमा आएर ३ वर्षको नातिनीबाट अंग्रेजी सिक्ने अवस्था आएको सम्झेर मनमा काउकुती लाग्यो । आजको समयसम्म अंग्रेजी शब्द धेरै सुनियो, पढियो तर आज पहिलो पटक यो ‘टायर्ड’ शब्दको अर्थ बुझेको थिइन । ख्याल ख्यालमै आज नातिनीले अंग्रेजी सिकाइ दिई । त्यो दिनको शब्द र क्षण मेरो मनसपटलमा सदा याद रहनेछ ।

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd