क्यान्सर रोगको डर लाग्दो अवस्था बन्दै गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको रेकर्डमा पाइयो « Yalambar Times
१२ चैत्र २०८०, सोमबार

क्यान्सर रोगको डर लाग्दो अवस्था बन्दै गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको रेकर्डमा पाइयो


यलम्वर टाइम्स
१६ मंसिर २०७८, बिहीबार ११:०६

बिर्तामोड । पूर्वाञ्चल क्यासर अस्पतालका प्रबन्धक निर्देशक दुर्गा प्रसाईले क्यान्सरको भयावह अवस्था बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

बिहीबार अस्पतालको सभाहलमा पत्रकारमाझ यसअघि तीन महिना क्यान्सर सम्बन्धि निःशुल्क सेवा प्रदान गर्दा एक हजार ५ सयभन्दा बढी रोगीहरुको संख्या देखिएको हुँदा चिन्ता व्यक्त गरेका हुन् ।

उनले क्यान्सरबाट बाँच्ने उपाय बारे बताउँदै सचेत रहनुपर्ने सन्देश दिए । निर्देशक प्रसाईले क्यान्सर लाग्दा विभिन्न देशमा गएर उपचार गर्नुभन्दा सरल र नजिकमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा सबैथोकको सेवा भएको कारण बाहिर र महंगो खर्चमा उपचार नगर्न पनि अनुरोध गरे ।

उनले आज १६ गतेबाट थप तीन महिनाका लागि निःशुल्क सेवा रहने घोषणा पनि गरे ।

पत्रकार सम्मेलनमा डा. प्रियंका कटुवालले महिलामा हुने ६ प्रकारको क्यान्सर मध्ये पाठेघरको क्यान्सर सबैभन्दा खतरा भएको हुँदा आफूलाई शंका लागे सस्तो र सरल ढंगबाट पूर्वाञ्चल क्यान्सर अस्पतालमै सम्पर्क राखे उपचारमा सहज, खर्चमा कम रहने जानकारी दिए ।

डा. कटुवालले बाहिर अप्रेसन गरेर सिकिस्त भएपछि यस अस्पतालमा आउनेहरुको संख्या निकै भएको र खर्चमा पनि जटिल व्यहोर्नु परेको सुनाए ।

यसरी नै बाल तथा ब्लड क्यान्सर विशेषज्ञ डा. रीतु लामिछानेले बच्चामा हुने क्यान्सर र बच्ने उपायका बारेमा सन्देश दिएका थिए ।

कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा. मुक्ति देवकोटा लगायतको उपस्थिति रहेको थियो । अस्पतालको जनसम्पर्क अधिकारी प्रमेश गिरीले पूर्वाञ्चल क्यान्सर अस्पतालमा ७ जनाको विशेषज्ञ सेवा रहेको हुँदा सरलताको लागि बाहिर गएर पछुताउनुभन्दा स्थानीय अस्पताललाई प्राथमिकता दिन अनुरोध गरे ।