राष्ट्रिय प्रजातन्त्र पार्टीमा सांसद लिङ्देनको चर्चा चुलियो

झापा । २०७४ को आमचुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद राजेन्द्र लिङ्देनले पार्टीको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वार बन्ने घोषणा गरेपछि चर्चा चुलिएको छ ।

‘अध्यक्षत्रय’ प्रणालीमा रहेको राप्रपामा अहिले पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापा अध्यक्ष छन् । राणा, लोहनी अध्यक्षमा उठ्छन् वा उठ्दैनन्, यकिन छैन । तर अध्यक्ष थापाले भने प्रतिस्पर्धा गर्ने पक्का नै छ । मंसिर ११ देखि १३ गतेसम्म आयोजना हुने महाधिवेशनमा अब थापालाई लिङ्देनले टक्कर दिने भएका छन् ।

२०६३ को परिवर्तनपछि तत्कालीन ‘राप्रपा नेपाल’ले अध्यक्ष थापाकै नेतृत्वमा हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनाको ‘एजेन्डा सेट’ गरेको हो । लिङ्देनलाई राप्रपाको महामन्त्री बनाएर नेतृत्वको अवसर दिने काम पनि अध्यक्ष थापाले नै गरेका हुन् । तर थापाकै कारण एजेन्डा लोकप्रिय भए पनि पार्टी अलोकप्रिय बनेको विश्लेषणका साथ उनी मैदानमा होमिएका हुन् ।

‘राजतन्त्र र हिन्दुराष्ट्र पुनःस्थापना हामी सबैको साझा एजेन्डा हो, उहाँ (थापा)ले मात्र सेट गर्नुभएको एजेन्डा होइन’, लिङ्देन भन्छन्, ‘यो सबैको साझा एजेन्डालाई थापासहितका तीन अध्यक्षले कार्यान्वयनमा लैजान सक्नुभएन । त्यसैले राप्रपालाई नयाँ नेतृत्व चाहिएको छ र त्यो विकल्प दिन म अघि सरेको हुँ ।’

लिङ्देनले यसरी आगामी महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि अध्यक्ष थापालाई पुनः नेतृत्वमा रहन चुनौती थपिएको छ । लिङ्देन सकभर तीनै अध्यक्षको समर्थन जुटाउने प्रयासमा छन्, सम्भव नभए प्रतिस्पर्धा गर्ने अठोटमा ।

लिङ्देन भन्छन्, ‘छाड्नुभएन भने, जसले छाड्नुहुन्न–उहाँसँग मेरो प्रतिस्पर्धा हुन्छ ।’ पुख्र्यौली थलो पाँचथर भए पनि उनको जन्म भने ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको हो । अर्थात् उनको जन्मस्थल एमालेका दिवंगत महासचिव मदन भण्डारीकै जन्मगाउँ हो । प्रहरी सेवामा रहेका बाबुको जागिर उतै भएकाले ढुङ्गेसाँघु (ताप्लेजुङ)मा जन्मे पनि उनको बाल्यकाल भने झापाको हल्दिबारीमा बित्यो ।

मदन भण्डारीको गाउँमा जन्म र एमालेको उद्गम थलो मानिने झापालाई कर्मथलो बनाएका उनको राजनीतिक जीवन भने पञ्चायत–समर्थक विद्यार्थी संगठन राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलबाट सुरु भयो ।

‘गाउँमा यस्ता सामन्तहरू थिए, जो ऐलानी जग्गाको समेत शुल्क उठाएर गरिब किसानहरूलाई शोषण गर्थे; बुबा तिनीहरूको विरुद्धमा हुनुहुन्थ्यो’, लिङ्देनले भने, ‘कम्युनिस्ट नभए पनि तिनै सामन्तहरूसँग लड्दालड्दै मेरो राजनीतिक जीवनको सुरुवात भयो ।’

०४६ को परिवर्तनपछि गठित राप्रपा राष्ट्रिय राजनीतिमा कमजोर भए पनि आफ्नो गाउँमा भने उनी लोकप्रिय थिए । त्यसैले २०४९ र २०५४ दुवै समयका स्थानीय निर्वाचनमा लिङ्देन राप्रपाको उम्मेदवारका रूपमा हल्दिबारी–३ बाट वडाध्यक्ष पदमा विजयी भए ।

पहिलोपटक वडाध्यक्ष हुँदा उनी राप्रपासम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसंघ)को अध्यक्ष थिए । २०४९ मा स्थापना भएको यो संगठनका उनी संस्थापक अध्यक्ष हुन् । वडाध्यक्षको दोस्रो कार्यकाल चलिरहेका बेला ०५६ को आम निर्वाचनमा उनी झापा–३ बाट राप्रपाबाट उम्मेदवार बने ।

त्यसबेला उनले करिब ६ हजार मत प्राप्त गरे । ०६४ को निर्वाचनमा उनी राप्रपा नेपालबाट उम्मेदवार बने । तर गणतन्त्रको लहर आएका बेला उनले ५ सय मत पनि पाउन सकेनन् ।

२०७० को निर्वाचनमा उनले कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गरे । त्यस क्रममा सिटौलाका निकटतम प्रतिस्पर्धी लिङ्देन नै भए । कम्युनिस्टहरूको गढ मानिने झापाको ३ नम्बर क्षेत्रमा एमाले र माओवादी क्रमशः तेस्रा र चौथा भए ।

२०७० को निर्वाचनमा सिटौलासँग हारे पनि २०७४ को चुनावमा भने सिटौलालाई १३ हजारभन्दा बढी मतले हराउँदै लिङ्देन प्रतिनिधि सभाको सदस्य बने ।

वामगठबन्धनको समेत समर्थन पाएकाले उनलाई चुनाव जित्न सहज भयो । खासमा २०७४ को चुनावमा नेपाली कांग्रेसले ‘वाम गठबन्धन’विरुद्ध ‘लोकतान्त्रिक गठबन्धन’ बनाएको थियो । राप्रपा कांग्रेस नेतृत्वको यही गठबन्धनमा सामेल थियो ।

अध्यक्ष थापा मकवानपुर–१ मा लोकतान्त्रिक गठबन्धनको उम्मेदवार बनेका थिए । तर राष्ट्रिय नीति विपरीत झापामा भने राप्रपा र वाम गठबन्धनबीच तालमेल गरियो ।

झापा–३ मा वाम गठबन्धनले राप्रपा उम्मेदवार लिङ्देनलाई समर्थन गर्यो भने झापा–५ मा वाम गठबन्धनबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपाको समर्थन पाए । यही गठबन्धनका कारण ओली र लिङ्देन भारी मतान्तरका साथ विजयी भए ।

सिटौलाको परम्परागत निर्वाचन क्षेत्र राप्रपालाई छाड्न कांग्रेस तयार नभए पनि झापाको हकमा कांग्रेस–राप्रपाबीचको गठबन्धन भंग भएको थियो । लिङ्देनले झापा–३ बाट विजय हासिल त गरे, तर राप्रपाले ‘राष्ट्रिय पार्टी’को मान्यता पाएन । यही कारण प्रतिनिधि सभामा उनी ‘स्वतन्त्र सांसद’का रूपमा रहनुपरेको हो ।

पार्टीको महामन्त्री रहिसकेको व्यक्ति–स्वतन्त्र हैसियतको सांसद रहनुपरेको अवस्थाले उनलाई निकै पोल्छ । २०७४ को चुनावमा राप्रपाको शर्मनाक हार र राष्ट्रिय पार्टीको हैसियत जोगिन नसक्नुको दोष उनी पार्टी नेतृत्वलाई दिन्छन् ।

‘हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनाको एजेन्डा लोकप्रिय बन्दै गइरहेका बेला थियो त्यो । एजेन्डाका हिसाबले हामी बलियो र लोकप्रिय थियौँ’, लिङ्देन भन्छन्, ‘तर हाम्रो पार्टी इतिहासमै सबैभन्दा कमजोर साबित भयो । ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ पार गर्न नसक्दा पहिलोपटक हाम्रो पार्टीले राष्ट्रिय पार्टीको हैसियत गुमाउनुपर्यो ।’

उनका भनाइमा–एजेन्डा लोकप्रिय हुँदाहुँदै पनि पार्टीको यो हविगतको ‘समीक्षाको परिणाम’ नै अध्यक्षमा उनको उम्मेदवारी हो । हुन पनि २०७० को निर्वाचनमा समानुपातिकतर्फ राप्रपाले उल्लेख्य मतका साथ २५ सिट पाएको थियो ।

त्यत्रो सफलता प्राप्त गरेको पार्टीले ४ वर्षपछि ‘राष्ट्रिय पार्टी’को हैसियत गुमाउनु आफैंमा आश्चर्यको विषय थियो । संविधान सभामा समानुपातिक २५ सिटको बलमा २०७२ मा संविधान जारी भएपछि अध्यक्ष थापा तीनपटक उपप्रधानमन्त्री बनेका थिए ।

केपी ओली, पुष्पकमल दाहाल (प्रचण्ड) र शेरबहादुर देउवा नेतृत्वका गरी तीनवटै सरकारमा थापाले छाडेनन् । थापाको त्यही चरित्रका कारण एजेन्डा लोकप्रिय हुँदाहुँदै पनि २०७४ को चुनावमा राप्रपाले लज्जास्पद पराजय भोग्नुपरेको ठहर राप्रपाका धेरैजासो नेताको छ । लिङ्देन पनि अप्रत्यक्ष रूपमा यो कुरा स्वीकार गर्छन् ।

‘पार्टी नेतृत्वमा अब पनि पुरानै पुस्ताका नेताहरू आउनुभयो भने राप्रपाले कांग्रेस वा कम्युनिस्टको ‘सत्ता साझेदार’ बन्ने अवसर पक्कै प्राप्त गर्ला’, थापाको सत्तालोलुप चरित्रप्रति संकेत गर्दै लिङ्देन भन्छन्, ‘हिन्दुराष्ट्र र राजतन्त्र पुनस्र्थापनाको एजेन्डासहित राप्रपालाई कांग्रेस–कम्युनिस्टको विकल्पका रूपमा प्रस्तुत गर्नुपर्छ भनेर मैले अध्यक्षमा उम्मेदवारीको घोषणा गरेको हुँ ।’

राप्रपाको महाधिवेशन आउन १० दिन बाँकी छ । राप्रपाको नेतृत्वमा को आउला, यो निर्णय त महाधिवेशनले गर्ला । तर लिङ्देनको उम्मेदवारी घोषणाले थापालाई आच्छुआच्छु भने पारेको छ । नेपाल खबरबाट

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd