सहारा शनिश्चरेले सामाजिक सुरक्षामा ९९ लाख ८४ हजार बढी खर्चियो « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

सहारा शनिश्चरेले सामाजिक सुरक्षामा ९९ लाख ८४ हजार बढी खर्चियो


यलम्वर टाइम्स
१६ कार्तिक २०७८, मंगलवार ०८:४०

अर्जुनधारा । अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार रानाले सहारा नेपाल गरिब, असहायहरुको लागि सहारा बन्दै गएको बताएका छन् ।

मंगलबार सहारा नेपाल साकोस शनिश्चरे शाखाले आयोजना गरेको एकाइ साधारणसभामा प्रमुख रानाले सहारा नेपालले आवश्यकता अनुसार विभिन्न समयमा विपन्न लक्षित कार्यक्रमहरु ल्याई असहायहरुको सहारा बन्दै गएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख रानाले नगरपालिकाले यसअघि सहारा नेपालसँग सहकार्य गर्दै विपन्न लक्षित विभिन्न काम गरेको पनि बताए । उनले नेपाल सरकारको तीन खम्बे अर्थ नीतिभित्र निजी, सहकारी र सहकार्य रहेको बताउँदै यी तीनै खम्बालाई व्यवस्थित गर्दै अगाडि बढे अर्थतन्त्र बलियो हुने बताए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रानाले सहाराले आफ्ना सदस्यहरुलाई उद्यमशिलतामा बाँच्न बचाउन सक्ने सीप सिकाउने तरिकामा लाग्नु पर्ने सुझाव दिए । उनले सहकारीहरुले आफ्ना सदस्यलाई आत्मनिर्भर हुने सीप प्रदान नगरी ऋणमात्र उपलब्ध गराउँदा आर्थिक भार बढ्न सक्ने बताए ।

यस क्षेत्रका शेयर सदस्यहरुको बृहत सहभागितामा भएको कार्यक्रममा शनिश्चरे सेवा केन्द्रका प्रमुख दिपक ओलीले सेवा केन्द्रको प्रगति विवरण प्रस्तुत गर्दै २०७८ असार मसान्तसम्म शनिश्चरे सेवा केन्द्रमा कुल ७ करोड ६६ लाख २६ हजार तीन सय शेयर पुँजी रहेको बताए ।

प्रमुख ओलीले सेवा केन्द्रमा कुल बचत रकम २९ करोड ५३ लाख ८५ हजार दुइ सय ९७ रुपैयाँ र कुल नाफा ३ करोड, २४ लाख १९ हजार ९ सय ६६ रहेको जानकारी दिए ।

उनले शनिश्चरे सेवा केन्द्रका कोरोना पीडित ७६ जनालाई जनही ७ हजारका दरले र परिवार राहत अन्तर्गत २ जनालाई २ लाखका दरले राहत प्रदान गर्ने जनाए । उनका अनुसार आजै बिर्तामोड स्थित सिटी सेन्टरमा प्रदान गरिने छ ।

त्यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा सेवा केन्द्रबाट सुत्केरी भत्ता, एकल महिला प्रोत्साहन, शेयर सदस्यको मृत्यु, खान पुगोस दिन पुगोस लगायतका विभिन्न कार्यक्रममा शेयर सदस्यहरुलाई सेवा सुविधा वापत ९९ लाख ८४ हजार ३८५ रुपैयाँ वितरण गरिएको जानकारी दिए ।

सहारा नेपाल साकोसका उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीको सभापतित्वमा भएको कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन सञ्चालक सदस्य शंकरप्रसाद रिजाल, लेखा परीक्षण प्रतिवेदन लेखा समिति संयोजक भरतकुमार भट्टराई, ऋण उपसमितिको प्रतिवेदन ऋण उपसमिति सदस्य ताराप्रसाद प्रसाईले प्रस्तुत गरेका थिए । त्यस्तै संस्थाको वार्षिक नीति, कार्यक्रम तथा बजेट उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले वाचन गरेका थिए ।

कार्यक्रममा अर्जुनधारा वडा नं. ७ का वडाध्यक्ष नवराम ढुंगाना, समाजिक व्यक्तित्व सरस्वती सिटौला, सेवा केन्द्रका गीता अधिकारी, छविलाल शिवाकोटी, भैरव पौडेल, २ नं. एकाइ संयोजक बसन्त मल्ल, ४ नं. एकाइका दिनेश अधिकारी, खुदुनाबारी सेवा केन्द्रका प्रमुख अम्बिका शरणलगायतको आतिथ्य रहेको थियो ।

सेवा केन्द्र सञ्चालक समितिका संयोजक शंकर सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन चित्रकला ओलीले गरेकी थिइन् ।