याक्थुङ र लिम्बूमा फरक के ? « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

याक्थुङ र लिम्बूमा फरक के ?


यलम्वर टाइम्स
१३ कार्तिक २०७८, शनिबार ०३:००

[राम मादेन]

राष्ट्रिय जनगणनामा जाति र पुर्खाको भाषा, मातृभाषाको महलमा याक्थुङ वा लिम्बू के लेख्ने भन्ने जो विभाजित बहस छ, राज्य गुमाएका, हेपिएका, थिचिएका समुदायको दुर्भाग्य यही हो । जित्नेले गिजोलिदिएको, रोपिदएको पहिचानको दलदलमा झगडा गरिरहेका मनुवाहरु हौं ।

अब लिम्बू नै किन लेख्नुपर्ने ? वा याक्थुङ नै उल्लेख गर्नुपर्ने किन ? को हो याक्थुङ वा लिम्बू समुदाय ? झगडा हुँदाहुँदै पनि यी दुवै प्रश्नहरु जातीय पहिचान संरक्षणसँग नै सम्बन्धित हुनु सकारात्मक पक्ष हो ।

यथार्थमा याक्थुङ भनिएकाहरु नै लिम्बू हुन्, लिम्बू नै याक्थुङ हुन् भन्ने कुरामा समुदायगत रुपमा कसैको बेग्लै मत छैन । नामाकरणको सन्दर्भ ‘लिम्बू’ (भहयलथm) अर्काेले राखिदिएको नाम पर्याे । ‘याक्थुङ’ (भलमयलथm) मौलिक नाम भयो । हामी याक्थुङ वा याक्थुङ्वा हौं । हामी याक्थुङ पान (लिम्बू भाषा) बोल्छौं भन्दै आएका समुदाय नै हौं । ‘याक्थुङ’ समुदाय भन्ने सत्य हो तर ‘लिम्बू’ भन्ने जातीय नाम नै सारा दुनियामा स्थापित भइसक्यो ।

आगामी जनगणनामा पछिल्लो समयको सरकारको लिखतहरुमा स्थापित लिम्बू नामलाई निरन्तरता दिँदामात्र पहिचान बच्छ, नत्र हामी चिप्लिन्छौं भन्ने एकथरि छौं भने अर्काेथरि याक्थुङ हाम्रो यथार्थ जातिगत नाम नराखे पहिचानको कुरा गर्नु व्यर्थ छ, याक्थुङ लेख्नैपर्छ भन्नेहरु छौं ।

हामी यथार्थ खोजी गर्ने क्रममा छौं । त्यसैको फलस्वरुप पाथीभरा देश विदेशमा चर्चित छ । तर मुक्कुमलुङ हुनुपर्छ भनेर संघर्षरत छौं । कैयौ याक्थुङ गाउँठाउँको नामहरु परिवर्तन भएका छन् । पुरानै नाम हुनुपर्छ भन्ने अभियानमा छौं ।

दुवैको तर्क आ–आफ्नो ठाउँमा दर्विलो भए पनि हाम्रो एकतामा यसले असर पारेकै छ । राष्ट्रिय जनगणनाको तथ्यांकमा असर पर्याे भने ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ ।

सरकार के चाहन्छ ?

जातीय समुदायहरुको सही तथ्यांक संकलनमा विभाग विल्कुल संवेदनशील छैन । उसले समुदाय बिखण्डित, विभाजित वा गिजोल्याउन चाहन्छ ।

२०५८ सालको जनगणनामा तथ्यांक विभागले लगभग ५०० भन्दा बढी जातीय समुदायको लिष्ट आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा पठाउँदै यी समुदायहरु बेग्लै जाति हुन् वा कुन समुदायभित्र पर्छन् भनेर छुट्याइदिन सहयोग मागेको थियो । म प्रतिष्ठानमै काम गर्ने भएकाले हामीलाई थाहा भएसम्म छुट्याएर पठाइदिएका थियौं । अब प्रश्न के हो भने के तथ्यांक विभागले जातिमा याक्थुङ र लिम्बू बेग्लै जाति हो भनेर तथ्यांक निकाल्ने गवाँर काम गर्ला त ? के याक्थुङ र लिम्बू भाषा बेग्लै भाषा हुन् भनेर तथ्यांक निकाल्न मिल्छ र ?

तथ्यांक विभागले कुनै समुदायको जातिगत र भाषागत नामाकरण १० वटा भए १० वटै सूचीमा राख्ला त ? विगतमा राई भाषा भनेर पनि राखेको पाइयो, जुन गलत छ । राई भाषा भन्ने नै हुँदैन । यसबाट विभागको विश्वसनीयता र क्षमतामा प्रश्न उठेको छ ।

निष्कर्ष

समुदाय र तथ्यांक विभागले गर्नुपर्ने उपाय के हो भने याक्थुङ भनेको लिम्बू र लिम्बू भनेको नै याक्थुङ हो भन्यो भने समस्या समाधान हुन्छ । समुदायको नामाकरण चाहिँ याक्थुङ (लिम्बू) वा लिम्बू (याक्थुङ) उल्लेख गर्नु उपयुक्त हुन्छ । सोही बमोजिम भाषालाई मिलाउनुपर्छ । सल्पाबाट

            राम मादेन