सामाजिक दूरी, मास्क र सेनेटाइजरमा वडादशैं « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

सामाजिक दूरी, मास्क र सेनेटाइजरमा वडादशैं


यलम्वर टाइम्स
२७ आश्विन २०७८, बुधबार १३:३९

[जानुका ढुङ्गाना]

बुवा आमा भन्नुहुन्थ्यो, ‘यो दशै पनि कति चाडै आएको होला बर्ष पनि कति मिलिक्कै बितेको जस्तो लाग्छ, ढाक्न पुर्याउनै गार्हो ।’ म आफू सानो छँदाको स्मरण गर्छु, अनि आफू भने दशैं आएकोले खुशीले मन नै फुरुङ्गै भएको हुन्थ्यो । दशैंको लागि नयाँ जुत्ता, कपडा किन्दा अनि चारैतिर नयाँ उमंग छाएको देख्दा खुशीको सीमा रहदैनथ्यो । त्यो बेला मनमा लाग्थ्यो कि समय नै अर्कै रमाइलो खाले आएको जस्तो । तर समयको गोल चक्रसँगै उमेर छिपिदै जाँदा र विभिन्न जिम्मेवारीले गलाउदै लैजाँदा चाड पर्व पनि रमाइलोले भरिएको भार महशुस हुनु स्वभाविक नै हुदोरहेछ । बुवाआमाले उ बेलामा दशैं आउदाको बखत भन्नुभएको ती शब्दहरु अहिले आउदा अमुल्य अनुभवकोको सिकाइ भएको पाउछु म । जिम्मेवारले पूर्ण रुपमा भरिएको काँधले परिवारको हरेक खुशी चाडपर्वमा भनौ वा अन्य खाले कुनै पनि खुशीको माहोलमा आफुलाई पनि अन्य व्यक्ति सरह खुशी देखाउन कति धेरै अदृश्य कसरत गर्नु पर्दोरहेछ भन्ने कुरा समयसँगै सिक्दै आउने ठुलो शिक्षा रहेछ । हुन त परिस्थिति जति नै सजिलो वा अप्ठ्यारो भए तापनि आ–आफ्नो गच्छे अनुकुल चाड पर्व मनाउनुपर्छ । चाड पर्वले विशेष महत्व बोकेर आएका हुने हुँदा त्यसको पालना गर्दै रितिरिवाज र संस्कृतिको उचित जगेर्ना गर्नु हामी सबैको दायित्व हुन आउँछ । अनावश्यक तडकभडकबाट टाढा बसी संस्कार र संस्कृतिको महत्वलाइ प्राथमिकता दिनुपर्छ ।

नेपालीहरूको प्रमुख चाड वडा दशैंलाई राष्ट्रिय चाडको रुपमा मानिन्छ । दशैं (नवरात्र) नेपालीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नौ दिनसम्म (नवरात्रभर) दुर्गा भवानीको विविध रुपको पूजा आराधना गरी दशौँ दिन बिहान दशमीका दिन मान्यजनहरूको हातबाट टीका–जमराको प्रसाद ग्रहण गरेर विशेष रूपमा पूर्णिमासम्म मनाउने गरिन्छ । यो पर्वमा अंकुरित जौलाई (जमरा) विजयादशमीको प्रसादका रुपमा ग्रहण गरिन्छ । दशैंले पारिवारिक जमघट साथै सामुदायिक सम्बन्धमा समेत समिप्यता बढाउने हुँदा आफन्त साथै छरछिमेकमा समेत मिलेर पर्व मनाइन्छ । धार्मिक मान्यतालाई केलाएर हेर्दा महिषासुर नामक दानवमाथि दुर्गा भवानीले नौ दिनसम्म युद्ध गरेर बिजय हासिल गरेकोले असत्यमाथि सत्यको जीतको रूपमा उत्सव मनाइ खुशी साटासाट गर्दै टीका लगाएकोले यस दिनलाई विजया दशमी भनिएको भन्ने बिश्वास रहिआएको पाइन्छ ।

देश बिदेश रहेका हरेक नेपालीको विशेष पर्व दशैं हामी सबैको घर घरमा प्रवेश गरिसकेकोले यस हर्षोउल्लासको घडीमा सबैको मनमा उमंगको छालसँगै विश्वव्यापी फैलिएको महामारीको कोरोनाको त्रास पनि उत्तिकै रहिरहेकोछ । गत साललाई स्मरण गर्दा संक्रमणको आधिबेरीमै आईपरेका कुनै पनि चाडपर्वहरुमा चाहेर पनि रमाउन सकिएको थिएन । त्यो समयमा पनि जोखिम न्यूनीकरण गर्ने हेतुले सकेसम्म जुटेर नभै छुटेर दशै मनाएको तितो अनुभव ताजै रहँदै गर्दा यस बर्ष २०७८ सालको वडा दशैं पनि कोरोना कहरसँगै पौठेजोरी खेल्दै शुभ आगमन भइसकेको यो सुखद समयमा दशैं मनाउँदा पोहोर सालझै यो बर्ष पनि उच्च संयमता अपनाउनु पर्ने बाध्यता कायम नै छ । महान पर्व दशैंको मीठो आभास नयाँ उमंग भर्दै कोरोनासँग लड्न अपनाइने स्वास्थ मापदण्ड नअपनाए महामारी अझै पÞmैलिने जोखिमलाइ हामीले भुल्नु हँुदैन । हामी सबैले आ–आफ्नै तर्फबाट सकारात्मक ढंगले पहल गर्नुपर्छ । चाड मनाउने भनेर अनावश्यक आडम्बरी तिर लाग्नु भनेको कोरोनालाई निम्तो दिनु हो । कोरोनाको जोखिमलाई छिनभरलाई मात्रै पनि बिर्सियौ भने त्यसको असर एक व्यक्ति परिवार हुँदै समाजका धेरै व्यक्तिसम्म पुग्नेछ । त्यसैले हामी हरेकले दशैंको भिड्भाडमा आफू र आफ्नालाई कोरोनाको जोखिमबाट जोगाइ एउटा सुरक्षित वातावरणको निर्माण गर्न उत्तरदायी बन्नुपर्छ ।

हामी मध्ये धेरैको परिवारलाई कोरोनाले कहिल्यै नमेटिने घाउ दिएकोछ । बिगतमा कतिपय अवस्थामा जानअन्जानमा हामीबाट भएको असुरक्षाका कारण कोरोनासँग जुध्नु पर्ने अबिस्मरणीय जोखिमहरु हामीले भोगेकै कुरा हो जुन जोखिम हालको अवस्थामा केहि हदसम्म न्यून देखिए तापनि कायम रहेको कुरा स्मरणमा राखेर वडा दशैं मनाउने तयारी गर्नु बुद्धिमानी मानिन्छ । चाडबाडको किनमेलदेखि टीका प्रसाद आशिर्वाद ग्रहण गर्दा सामाजिक दूरी र अन्य स्वास्थ सामाग्री मास्क सेनेटाइजर लगायतलाई हामीले पालना गर्नै पर्ने बाध्यता कोरोना कहरले निर्देश गरिरहेकोछ । हामी सम्पूर्णले यो बिर्सनु भएन कि हामीबाट चालिएको एउटा असुरक्षित कदमले हाम्रा कलिला बालबच्चा हाम्रा वृद्ध अवस्थाका माता पिता हाम्रा मान्यजनहरु र हामी स्वयं पनि महामारीबाट अछुतो रहने छैनौ । त्यसैले जीवन सुरक्षित रहे चाडबाड फेरि पनि मनाउन सकिन्छ यो बर्ष पनि जुटेर हैन छुटेर दशैं मनाउने अवस्था सिर्जना भएको देखियो । त्यसैले हाम्रो सुरक्षा हाम्रै हातमा छ । दशैंमा हाँसौ हसाँऔ, रमौ रमाऔं तर सुरक्षा र स्वास्थ मापदण्ड नभुलौ । विशेषत सामाजिक दूरी मास्क सेनेटाइजर भुल्दै नभुलौ सबैमा बिजया दशमी २०७८ को हार्दिक शुभकामना । अर्जुनधारा–७

              जानुका ढुङ्गाना