सानिमाको गाउँ पुग्दा… « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

सानिमाको गाउँ पुग्दा…


यलम्वर टाइम्स
२७ आश्विन २०७८, बुधबार १३:१०

[बुकी]

बिहानपखको पारिलो घाम । धानका बालाहरु झुलेर आली छुने अवस्थामा देखिन्थ्ये । रातीको सितले आँगन सिचिएको थियो । घर छेवैमा रहेको एउटा वृक्षको हाँगामा पहेलो रातो रंगको चरो क्वाँर… क्वाँर गर्दै कराइरहेको थियो । कुनै दिन त्यो चरो घरबारीमा कराउँदा दशैं आएको सन्देश दिने गरेको सानिमाले भन्नुहुन्थ्यो । हुन पनि हिजोआज त्यस्तै समय भएर आएको छ ।

छिमेकी काका पनि बित्नुभयो । हजुरआमा, फुपु, नाताले फुपाजु अनि अन्तरी दिदी पनि बिते । गाउँ नै सुनसान जस्तो । हुने खाने र दशा नलाग्नेहरु रमाइरहेका थिए । खशी, बोका र दशैंमा लगाउन लत्ताकपडा एक महिना अघि नै जोहो गरेर गाउँघरमा फूर्ति लगाउँदै हिंडेको अवस्था पनि हाम्रो समाजमा देखिन्छ ।

समाज त्यसै चलेको हुँदैन रहेछ, ऋण खानेहरु व्याज र साँवा तिर्न धौ–धौ । कोही हजुर गर्दै हिंडिरहेका, कोही खोलानालाको बगरमा गिट्टी चालिरहेका, कोही ट्याक्टरको पछिपछि दौडिरहेका । ति गरिखानेहरुलाई दशैं जहिले पनि धौं–धौं नै हुने गरेको छ । परदेशीहरु घरआँगन टेक्न नसक्दा मोवाइलमै आँशु झारेर आफन्तलाई आफ्नो पीडा सुनाइरहेको अवस्था त्यतिकै छ । समाजमा बिरामी नभएका घर छैनन् । सबै थोकले पिरोलिरहेको बेला समय र परिस्थिति उमंग भएर धानका बाला झुलिरहेको र बारीमा कराउँदै गरेको कटेरो चरोले भन्यो, ‘क्याँरक्याँर….. क्याँरक्याँर….’ अर्थात् चाडवाड आयो ।

घरमुलीले छाडेर गएको बेला पुराना कुराहरुलाई सम्झदै आमाले भन्नुभयो, ‘साँइला जे जस्तो भए पनि पहाडमा रहेकी तेरी सानिमालाई दशैं मान्न भनेर लिएर आईज ।’

मैले भने ‘किन आमा ? पछि आइहाल्नुहुन्छ नि !’

दिदीबहिनीको गहिरो सम्बन्ध त्यसमा सानो बुबा पनि नभएको अर्थात् दिदीबहिनीको पीडा उस्तै !

आमाको पटक–पटकको आग्रहलाई मनन् गर्दै सानिमा बस्दै आउनुभएको घर पहाड जाने निश्चय भयो । जानुअघि सानिमाले बाल्यकालमा मलाई हुर्काउँदा माया गरेर मिठाई र विभिन्न सामग्री किनेर दिएको झझल्को आयो । बाल्यकालको समयमा फूलपातीका दिन मासु चिउरा खुवाउनुभएको अनि घर छेउमा भएको लिङ्गे पिङ खेलाउनुभएको खुब याद आयो । अनेक सम्झदासम्झिदै कतिखेर हो बिहान भएको पत्तै पाइन । जाने बेला भयो साँइला भनेर आमाले झस्काइ दिनुभएपछि सानिमा र उहाँका आफन्तलाई कोशेली ठीक पार्नु भएको रहेछ । त्यही सामान बोकेर गाडीमा चढें ।

सानिमाको घर ताप्लेजुङ जिल्लाको हाङपाङ फूलबारी पथ्र्यो । उसबेला म बसेको घरबाट सानिमाको घर पुग्न हिंडेर ५ दिन लाग्थ्यो । हिजोआज यातायातले गर्दा १२ घण्टामा पुगिन्छ ।

हजुरबुबा हुँदा सानिमा तीन–चार वर्षमा एक पटक आउने गर्नुहुन्थ्यो । जब सानो बुबा बित्नुभयो, सानिमाको आगमन भने थिएन । आजभोली त्यस्तो विकट अवस्था छैन, त्यसैले हिंडेको दिन साँझको ५ बजे सानिमा बसेको ठाउँ प्रवेश गरें ।

ताप्लेजुङ बजारबाट दोभान हुँदै जानुपर्ने भएकोले दोभान बजारमा एकैछिन खाजा खान अढिएँ । पहिला दोभान पुग्दा यति सुन्दर देखिने बजार एकाएक कुरुप भएको देख्दा तम्मर बगे जस्तै आँखाबाट आँशु बगेको थाहै भएन । पहिला दोभान बजार आउँदा जहाँ हामी खाजा खाने गरेका थियौं, त्यो ठाउँ गत वर्ष आगजनी भएर त्यहाँका दोकाने साहुजी तराई झरेका रहेछन् । सुन्दर मिनी शहरको रुपमा हुर्कदै आएको दोभान के कारणले कुरुप भयो अचम्म लागेर आयो । मनमा औडाह भएपछि वरपरकालाई सोधें, आगो त सामान्य विद्युत् सर्ट भएर पो लागेको रहेछ ।

कुनै दिन सानिमाको घर जाँदा त्यही दोभानमा रात बिताएको, त्यस साँझ रमाइलोसँग गीत गाएको र जुहारी खेलेको, मीठो मसिनो खाँदै रुमाल साटासाट गरेको झलझली याद आयो । त्यस समयमा चाँगे घर भएकी झरनाले आफ्नै हातले बुनेको रुमाल र आफूले बजारे रुपमा मायाँको रुपमा उपहार दिएको सम्झना आयो । त्यस बेला दोभानमा पुग्दा अन्य साथीहरु पनि थिए । कोही परदेशबाट, कोही धरान र कोही राजधानीबाट आएका । त्यही बेला झरनासँग अरु समधुर गफ भएको थियो । करिब ८–९ घण्टाको मीठो बसाईले झरनासँग मनका कुराहरु पनि भएको थियो । फर्साइली स्वाभावकी, जिउडाल परेकी झरना उमेरले भरना २०–२२ कि हुनुपर्छ । उनीसँगै सुनिता, कुसुम र योगिता नाम गरेकी युवतीहरु थिए ।

दोभान बसाईको साँझमा त्यही क्षेत्रका प्रख्यात लोक गायक खगेन्द्र यक्सुले गाएको ‘चुम्भा दोभान ख्याल ख्याल गर्दैमा बित्यो जोवन…’ खुब चर्चामा थियो । त्यही गीतले रातको १२ बजेको पत्तै पाइएन । गीतसँगै ठट्यौली हाँसो र उसबेलाको मजाकले खुब छोयो । सम्झदा सम्झदै ठिक्क साँझको ७ बजेछ । दोभानमा ७ बज्दा झमक्कै रात पर्दो रहेछ । चारैतिर भीर पाखा छेउमा छङ्गछङ्ग बगेको तम्मर नजिक बीचमा फाँट भएकाले दोभान नाम रहन गएको रहेछ । विगतका कुरा जति सम्झे पनि वर्तमानमा फर्कने होइन । तर, पनि दोभान अब ५, ७ वर्ष पूर्ण संरचना नहुँदासम्म कुरुपै देखिने अवस्थामा पुगेको पाएँ ।

दोभानबाट करिब ३ घण्टा कस्सेर हिंड्दा सानिमाको घर हाङपाङ सोबुवा पुगिन्छ । दोभानमै साँझ झमक्क भएको थियो । त्यसैले एक रात दोभानमै बिताउनु पर्यो । म जहाँ बसे त्यो दोकान घर पनि आधा पाटो आगोले जलेको रहेछ । आगो लाग्दा कोलाहल भएकाले त्यहाँका मानिसहरुको मन पनि आतिएको पाएँ । ताप्लेजुङ बजारपछि दोस्रो शहरको रुपमा विकसित हुँदै गएको दोभान जहाँ म बसे त्यो होटलका मानिस पनि मध्यरातमा चिच्याउने, निन्द्रामा बोल्ने गरेको पाएँ ।

आगोले कुरुप बनाएको दोभान, त्यसपछि कोरोना संक्रमणले पनि अझ पीडा दिएको पाएँ । कोरोनाकै कारण जो कोही परदेशी या पाहुना दोभान बजार पुगेर बास बस्दा सोधी खोजी गर्ने त्यति गर्दा पनि भएन भने तिरस्कार गर्ने जस्ता कार्यले दोभानबाँसीको मन भाचिएर गएको रहेछ । त्यसैले धेरै दोकाने मित्रहरु गुढ सारेर अन्य जिल्ला वा तराई झरेका रहेछन् ।

बिहानपख भयो, म बसेको होटल साहुले उसका अरु थुप्रै बेदनाहरु पनि सुनाउँदै थिए । पछि भेटौला है ! भन्दै म गन्तव्य तिर लागें । म जब सानिमाको गाउँ प्रवेश गरें । मसँग रातो झोला हातमा पोका पकौरा साथमा आमाले लगाइदिएको कोशेली थियो । हिंड्दै जाँदा बाटोमा सबैले टुलुटुलु हेर्थे । गोठाला घाँसपात गर्नेहरु पनि म माथि नजर लगाउँथ्ये । बाटो छेउका मानिसहरुले कसको छोरो, कुन देशबाट आएको, कहाँ पुग्ने ? भनेर सोध्थे । मलाई लाग्थ्यो चाडवाडमा कसैको छोरा, नाति, आफन्त गाउँ आएको होला भनेर प्रश्न पनि त्यस्तै हुन्थ्यो ।

म हाँस्दै आफू पुग्ने नाताको नाम भन्दै हिंड्थे । बल्लबल्ल सानिमाको आँगनमा पाइला टेके । घर सुनसान थियो । आफूले बोलाउने शब्दबाट क्षेमा क्षेमा भनेर बोलाएँ । उत्तर केही आएन । न छिमेकी नै बोले । कोही नबोलेपछि तल्लो घर, मात्लो घर सोधी खोजी गरें ।

मेरो गाउँ जस्तै सानिमाको गाउँ कोरोनाले थलिएको रहेछ । स्थानीय सरकारले नौलो, नयाँ मान्छेसँग नबोल्नु र नबोलाउनु भनी आदेश जारी गरेसँगै स्थानीयले त्यही पालना गरेको र मेरी सानीमा पनि एक कुनामा बस्न बाध्य भएको रहेछिन् ।

हेर्दा धैलोमैलो अवस्थामा रहेकी सानिमालाई भेट्दा दुःख लागेर आयो । उहाँले मनभरिका बेदना सुनाउँदै आफन्त र नातागोता गुमाउनु परेको पीडा पोख्नुभयो । शहरका मान्छे र हुने खाने रमाए पनि पहाडी क्षेत्रका गाउँहरु रोग र भोकले नबोल्ने भएर बसेको हुँदा आज मेरो गाउँमा नौलो मान्छे आए भने कोही बोल्दैनन्, यस्तै छ ।