दुर्गा माँ: कोरोनासँग भिड्दै छौं

[लक्ष्मीप्रसाद सुब्बा]

आजको यो असहज परिस्थितिमा भक्तजनले दुर्गा मातासँग दुखेसो पोख्दै यसरी प्रार्थना गर्छन् ।

‘या देवी सर्व भूतेषु, मातृ रुपेण संस्थिता ।
नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै, नमोनमः ।।

हाम्रो मानव जीवन आशै आशमा बाँचेको छ । जब आपत विपत पर्छ, रोग लाग्छ, महामारी आउँछ, तब तब मानवले जहिले पनि मातृ शक्तिलाई सम्झने गर्छ । अरु समय मानिस मायाँमा भूलि रहन्छ । आज त्यस्तै भएको छ, चारै तिर जो पनि कोरोना, कोरोना भनेर त्रसित छन् । पहिले त औषधि, उपचार खोज्छ र पनि के कसो होला भनेर दैविक शक्तिलाई पनि सम्झन्छ । कोरोना भाइरस (कोभिड–१९) नामको रोगले मानिस धमाधम मर्न लागेपछि त्राहि त्राहि भएका छन् । त्यो देखेर वा सुनेर मरिएला कि भनेर मातृ शक्तिसँग यसरी प्रार्थना गर्छन् ।

या देवी सर्व भूतेषु, दया रुपेण संस्थिता ।
नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै, नमोनमः ।।

हे माता यो कोरानासँग भिड्ने शक्ति प्राप्त होस्, हे माता दया गर, दया गर भन्दै पुर्काछन् । किनभने सबैलाई दया माया गर्ने आमा नै हुन अनि सबैको पुकार आमाले नै सुनिदिन्छिन् । हिजोसम्म सांसारिक विषयमा भुलिएर ढुक्क बसेको मानिसलाई अकस्मात कोरोना नामको भाइरसले गाँजेपछि बचाउनेको आशा र भरोसा गर्दै कहाँ यसको उपाय होला भन्दै सुरक्षा पाउन अर्थात् रोगबाट छुटकारा पाउन सबै जना दौडादौडी गर्न लागेका छन् । अनि दैवी शक्तिलाई पनि सम्झिदै यसरी पुकारा गर्छन्ः

या देवी सर्व भूतेषु, शक्ति रुपेण संस्थिता ।
नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै, नमोनमः ।।

तर, कतिले दैव भन्ने पनि कुनै शक्ति छ ? आजको यो २१ औं सताब्दीमा अर्थात् आजको यो वैज्ञानिक युगमा पनि अर्को शक्ति खोज्ने ? विज्ञानभन्दा ठूलो शक्ति के छ ? भनेर पठित मूर्खहरु प्रश्न चिन्ह ठड्याउँछन् । तर विज्ञानले केही गर्न नसकेपछि दैवी शक्तिको आशा गर्छन् । किनभने दैवी शक्तिभन्दा माथि अरु कुनै शक्ति छैन ।

वैज्ञानिकलाई कसले जीवन दियो, कसले प्राण दियो ? कसले ज्ञान दियो ? के एउटा वैज्ञानिकलाई अर्को वैज्ञानिकले जिउँदो राखेको छ ? जब एउटा चिकित्सकले रोगीको उपचार गर्दागर्दै उपाय नलागेपछि भन्छ, ‘अब दैवकै भरोसा ।’ रोगलाई थामथुम पार्ने औषधि त विज्ञानले बनायो तर मानिसको आयु थप्ने औषधि बनाउन सक्दैन । किनभने बचाउने, मार्ने, मराउने दैवकै खटन अनुसार चल्दछ । सृष्टि चलाउने दैव नै हो । विज्ञानले चलाएको छैन । विज्ञानले बचाउने कामभन्दा संहार गर्ने काम पहिले गर्छ । यो कोरोना भाइरस (कोभिड–१९) भनेको विज्ञानको जैविक युद्ध हो । यो नरसंहार गर्ने संहारात्मक चमत्कार हो ।

विज्ञानले सबै कुरो उत्पादन गर्यो, बीज बनाउन सकेन । निसन्तानलाई सन्तान दिन सकेन, तसर्थ उसले अर्काको बीजलाई लिएर ट्युब बेबीको मार्ग रोज्यो तर ट्युबबाट सिधै बालक जन्माउन सकेन, तसर्थ आमा खोज्यो अनि आमाको गर्भमा ट्युबमा राखिएको भ्रुण राखेर मात्र आमाबाट बालक जन्मायो । आमा भनेकी शक्ति हुन् । शक्ति प्राप्त गर्न आमाकै आश नगरे उपाय छैन । हिजोआज जन्मदै आमा गुमाएका बालक बचाउन दूध दिने आमाको खोजी हुन लागेको छ । किनभने भर्खर जन्मेको बालकलाई आफ्नी आमा नभए पनि अरु आमाकै भए पनि दूध खुवाउन पाए त्यो बालकलाई बचाउन सजिलो हुन्छ । अब विचार गरौं मातृ शक्तिको कत्रो ठूलो भूमिका रहेछ । तसर्थ अन्तिम अवस्थामा आमा नै चाहिन्छ । मातृ शक्तिकै आधारमा सृष्टि सञ्चालन हुँदैछ । तसर्थ यसरी मातृ शक्तिको बन्दना (प्रार्थना) गरिन्छः

या देवी सर्व भूतेषु, श्रद्धा रुपेण संस्थिता ।
नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै, नमोनमः ।।

भावार्थः हामीले मातृ शक्तिलाई श्रद्धा नगरेसम्म हाम्रो कल्याण हुँदैन । आफ्नो कल्याण र हित चाहनेले मातृ शक्तिलाई सम्झना गर्दै गर्यौ भने हाम्रो हित र सुरक्षा हुन्छ । हामी मायाको लागि रुन्छौं, तसर्थ मायाले पनि हामीलाई रुवाउँछ । तर, मायालाई क्षणभरको लागि बिर्सिएर दैवी शक्तिलाई सम्झिएर रोयौं भने देवी शक्तिको कृपा भएर हामी सधै हाँसीहाँसी बाँच्न सक्छौं ।

कुरै कुरामा भन्नपर्दा, जुन समय म भारतको प्रमुख तीर्थ स्थल हरिद्वारको प्रेम नगर आश्रममा छँदा दार्जिलिङका एक जना प्रतिष्ठित व्यक्ति ह्वाँ… ह्वाँ… रुँदै म भए ठाउँ आएर भन्यो, ‘भाइ मलाई बचाउँ ! भाइ मलाई बचाउँ !’ उ झन्झन् साह्रो साह्रो रुन लागेको देखेर मैले के भयो भनेर सोध्दा, ‘मैले मेरी कान्छी, मेरो मुटुको टुक्रा भनेर माया गरेकी मेरी कान्छी लाटीपटी लिएर आफ्नो नोकरसँग भागी…’ भन्दै रुँदा मैले मायाको लागि रुन्छस् ! भगवानको लागि रुँ… भनेपछि हुन्छ भाइ ! म भगवानको लागि रुन्छु भनेर रुन छोड्यो । भावार्थ– हामीले भगवानप्रति आर्त भाव पोख्यौं भने के हुँदैन ? जे पनि हुन्छ तर, देखावटी आर्तनादले केही हुँदैन ।

भगवानलाई किन हरि भनिन्छ भन्दा हरिले भक्तको दुःख हरण गरिदिन्छन्, तसर्थ भगवानलाई हरि पनि भनिन्छ । यसर्थ अहिलेको यो भयानक रोग कोरोना महामारी निर्मूल पारिदेउ हे दैव ! भन्दै आज पुकारा गर्नुपर्ने समय आएको हुनाले हे दैव ! अझ कति सहनु ? कृपया हामीलाई यो कोरोनासँग भिड्ने शक्ति प्रदान गर, यो महामारी समाप्त पारि देउभन्दै दुखेसो पोख्यौं भने अवश्य पनि यो कोरोना भाइरस कोभिड–१९ बाट बाँच्ने छौं ।

साल सम्वत् त थाहा भएन, म सानै थिएँ, त्यै १०–१२ वर्षको थिएँ होला ? मैले जान्दा त्यस बेला चारैतिर माई खटिराको महामारी फैलिएर धेरै मानिस मरे । कति घरमा त दैलो नै लाग्यो । किरिया गर्ने मानिस रहेनन् । मलामी पाउन गाह्रो भयो । म सानै भए पनि धेरै जनाको मलामी गएँ । हाम्रो घरबाट बाँडिएर को कता, को कता मलामी गयौं । हल्का फुल्का सहयोग त गर्न सक्छन् जा भनेर आमा पठाउनुहुन्थ्यो ।

औषधि उपचारको नाममा वैद्यहरुले घरेलु औषधि गर्थे, कति पार लाग्थ्यो कति मर्थे औषधि नपाएर । र भन्थे, अब शितला माइको उपासना गर्नुपर्छ भनेर चण्डिपाठ गर्थे, मन्त्रोचारण गर्दै धुप दीप गर्थे, चोखो नितो गर्थे । नियम नीति पालन गर्दै शितला माईको आराधना गर्थे । मातालाई सम्झना गरे कृपा (दया) प्राप्त हुन्छ । भक्तिले शक्ति प्राप्त हुन्छ यो कुरो बुझौं, तर देखावटी पनाले फाइदा हुँदैन, अन्तर हृदयबाट पुकारा गरौं, तब कृपा हुन्छ ।

प्रार्थना
हे जगत जननी दुर्गा भवानी ।
प्रार्थना गर्दछु म जानी नजानी ।।
कोरोना कहरले सतायो अति ।
लड्ने भिड्ने अब देउ शक्ति ।।

कर जोरी बिन्ती छ पुकार अति ।
अब सहनु हो मैले कति कति ।।
कृपा गरि हटाउ कोरोना जति ।
अति भो यो दर्द सहनु हो कति ।।
रोङ गापा २, इलाम

               लक्ष्मीप्रसाद सुब्बा

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd