सबैका प्रेरणाका स्रोत नवल फाइवाली

[सन्तोष नेम्वाङ]

मझौला खालको टाँडे घर । त्यसको अगाडि मझौला आकारकै काठको वरण्डा । अगाडि ठूलो आँगन । आँगनको बायाँतर्फ एउटा ठूलो खाल्डो, त्यो ठूलो खाल्डोको बीचमा केही ओरालो झरे पश्चात इनारको नाम दिइएको पानीको स्रोत । हामीले पिउने पानी, रक्सी पार्दा चलाउने त्यही पानी, आँगन लिप्न परे त्यहीको पानी । अर्थात् हाम्रो घरको लागि चाहिने पानीको स्रोत त्यही नै थियो ।
यो कुरा अन्दाजी २०३० साल तिरको हो । त्यही खाडलको परिपरी अलैंचीका बोट लगाइएको थियो । जुन वर्षेनी फुल्थ्यो तर अलैंचीका दाना चाही कहिले देखिएन । सायद स्थानान्तर हुँदा वनस्पतिको पनि बन्ध्याकरण हुँदो होला । मानिसले प्रकुतिसँग चुनौति गर्दाको परिणाम होला सायद ।

हामी आफ्नो बालापनको क्रिडामा रमाउँदै समय बिताइरहेको थियौं । हाम्रो क्रिडा स्थल भनेको त्यही खाडलको वरिपरी र बडेमानको त्यो आँगन थियो । त्यसबेला कुनै पनि बालकहरु छ वर्ष नपुगी विद्यालय भर्ना गरिदैन थियो । म त्यस समय ५ वर्ष उमेरको मात्र थिएँ । बहिनी र म स्कुल जाने कुरै आएन । तर दाजु र दिदीको चाँही विद्यालय जाने निरन्तरता चलिरहेको थियो ।
अचानक एक दिन हामी खेल्ने खाल्डोको डिलमा एउटा सानो झोपडीको निर्माण थाल्यो । कसको लागि त्यो झोपडी निर्माण भइरहेछ भनेर जिज्ञासा राख्ने कुरा पनि भएन । किनकी त्यो बालापनमा खेल्न र खानमात्रै पाए पनि संसारभरिको खुशी पाएझैं लाग्थ्यो । केही दिन पश्चात त्यो झोपडीमा कुनै नौलो अनुहारको मानिसहरु देख्न थाल्यौं । एक जना पुरुष र एक जना महिलालाई दिनहुँ जसो त्यही देख्न थाल्यौं ।

समयसँगै उहाँहरुको आगमन पनि स्वाभाविक लाग्न थाल्यो । तर पनि कहाँबाट आएको ? को हो ? भन्ने प्रश्न हाम्रो बाल मस्तिष्कमा पलाएन । जो भए पनि आयो । जहाँबाट भए पनि आयो । हामीलाई त्यसको बारेमा सोच्ने फुर्सद पनि त थिएन । फुर्सदमात्र होइन मनमा कौतुहल्ता नै जाग्ने कुरा आएन ।

पछि थाहा भयो । उहाँको नाम ‘मास्टर दाई’ रहेछ । हामी गाउँका फुच्चाफुच्ची सबैले उहाँलाई ‘मास्टर दाई’ र उहाँको धर्मपत्नीलाई भाउजु भनेर बोलाउन थाल्यौं । भाउजु प्रायः हाम्रो घरमा आमालाई सघाउन आउनु हुन्थ्यो । पछि जानकारी भए अनुसार भाउजुले हाम्री आमालाई गोसखानमा पनि सक्दो सघाउनु हुन्थ्यो अरे । तर हाम्री आमाको कटु शब्दको प्रहारले भाउजुलाई धेरै मन दुखेर आएको थियो अरे । मास्टर दाईको साथमा एउटा क्यामेरा पनि थियो । गाउँघरमा कसै–कसैले सायद फोटो खिचाउँथ्ये होला । त्यो बेला हामी दुई दाजुभाइ र दुई दिदीबहिनीको पनि फोटो खिचिदिनु भएको थियो । मलाई अझै याद छ, हामी चार जनाले हातमा फूल बोकेर लहरै उभिएर फोटो खिचाएका थियौं । अहिले त्यो फोटो भए ऐतिहासिक फोटो भनिन्थ्यो होला ।

उहाँहरु त्यही झोपडीमा रहँदै गर्दा सायद जुम्ल्याहा छोरीको आगमन भएको थियो । किनकी त्यो बेला जन्मिएको मध्ये छोरी हिमालाई मात्र चिन्दछु । त्यसैले सायद लेख्न चाहन्छु । पछि जानकारी भए अनुसार जुम्ल्याहा नै जन्मिएको थियो अरे । ति मास्टर दाई के गर्नुहुन्थ्यो हामीलाई केही थाहा थिएन । तर जब म केही बुझ्ने उमेरको भएको थिएँ । अनि गाउँमा औलो उन्मुलनको लागि डीटीटी छर्न थाले त्यति बेला ति मास्टर दाई मानिसका घरघर पुगेर रातो रंगले भित्तामा कोर्न हिंडेको देख्न थाले । त्यस पश्चात मास्टर दाईको नाम परिवर्तन भएर भिजिटर रहन गयो । औलो उन्मुलनमा काम गर्दाको समयमा उहाँ त्यो झोपडीबाट अन्तै कतै गईसक्नु भएको थियो ।

म पनि स्कुल पढ्ने उमेर भएपछि स्कुलमा । त्यस पश्चात घरमा भएको दुःखद् समयको आँधीले गर्दा हाम्रो परिवार सबै लथालिङ्ग भयो । त्यो आँधीले म कता, दाजु कता, दिदीबहिनी कता र घरमूली बुबा पनि त्यही आँधीमा बग्नु भयो । मेरो सपना त केही थिएन जो उडाएर लाँदा मन दुखोस् । तर, एक छाक खान र एक निन्द्रा सुत्नलाई सानो झोपडीको पनि अस्तित्व नहुँदा हामी परिवार हुट्टिट्याउँ झै बगरमा एउटा ढुंगाको कापमा अण्डा पार्न बाध्य ।

त्यही क्रममा म परदेशीएँ । कहिले बिहार त कहिले भुटान । कहिले दार्जिलिङ । यसरी नै भौतारिदा भौतारिदै अन्त्यमा आफ्नो गाउँमा नै फर्केर आइयो । त्यो आँधीले उडाएका एक–एक सिन्काहरु भेला गरेर फेरि सानो झोपडी तयार भयो । म यही बसेर आफ्नो कर्म स्थललाई यहि नै स्थापना गर्ने जमर्को गर्न थाले । यसै दौरानमा यहाँको क्लबसँग पनि परिचित भएँ । त्यसै क्रममा यलम्वर क्लबको नायिकेमा उही मास्टर दाइ, भिजिटर दाइलाई देखें । तर उहाँको वास्तविक नाम नरबहादुर योङहाङ रहेछ । बल्ल थाहा भयो । त्यस पश्चातमात्र उहाँलाई राम्ररी चिन्ने मौका पाउन थाले । उहाँ एक साहित्यकार मात्र होइन किरात लिपीका प्रवल जानकार पनि हुनुहुँदो रहेछ । यलम्वर क्लबको मातहतबाट गाउँका आदिवासी जनजातिका इच्छुक सबैलाई किरात लिपीको ज्ञान फैलाउन तल्लिन हुनुहुँदो रहेछ । उहाँको कृति एक–दुइ वटा पढेको पनि छु । पछि बुझ्दै जाँदा उहाँको नामको पछिको अलंकार अझ लामो रहेछ । नरबहादुर योङहाङ (नवल फाइवाली) ।

उहाँले आदिवासी जनजातिको संस्थामा केही वर्षसम्म बसेर आफ्नो कार्यकाल पूरा गर्नुभयो र मलाई पनि उहाँले नै आदिवासी जनजाति समन्वय समिति अर्जुनधारामा प्रवेश गराउनु भएको थियो । पछि साविक अर्जुनधारा र साविक शनिश्चरेलाई मर्च गरेर त्यो संस्थाको नेतृत्व तिलसिंह मावोलाई हस्तान्तरण गरेर उहाँले विश्राम लिनुभएको थियो । आफूले खाँदै आएको सरकारी जागिरबाट अवकाश प्राप्त गरेर घरैमा बसी सहित्यको माध्यमबाट समाज र देशको निम्ती अमूल्य योगदान दिँदै गरिरहेको अवस्थामा विश्वमा फैलिरहेको कोरोनाको बतासले उहाँलाई पनि प्रभाव पारेर पछि अन्त्यमा बिर्तासिटी अस्पतालमा देह त्याग गर्नुभयो ।

उहाँको मृत्युगमन पश्चात राष्ट्र र समाजलाई साहित्य क्षेत्रमा अपुरणीय क्षति भएको छ । उहाँले जगेर्ना गर्नुभएको किरात लिपीहरु त्यतिकै अवशान हुने हो कि भन्ने म जस्तो एक जनजातिको सन्तानलाई चिन्ता लागिरहेको छ । र अब यदि कोही यसलाई जगेर्ना गछु भनेर अगाडि बढ्न चाहनु हुन्छ भने आउनुहोस् । उहाँले सृजना गर्नुभएको किरात लिपीलाई अगाडि बढाऔं । यसमा मेरो सोह्रै आना समर्थन रहने छ । अनि यसैको मार्फत हाम्रा मास्टर दाइ, भिजिटर दाइ हुँदै नरबहादुर योङहाङ (नवल फाइवाली) को लागि एउटा कहिल्यै नमासिने श्रद्धाञ्जली हुन्छ ।

अन्त्यमा, परिवारका सबैलाई यो दुःखलाई सहने शक्ति प्रदान गरुन् भन्ने श्री जलेश्वर बाबासँग प्रार्थना गर्न चाहन्छु ।

               सन्तोष नेम्वाङ

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd