नेका अर्जुनधारामा भद्र सहमति, सभापतिमा पनि प्रयास जारी « Yalambar Times
८ बैशाख २०८१, शनिबार

नेका अर्जुनधारामा भद्र सहमति, सभापतिमा पनि प्रयास जारी


यलम्वर टाइम्स
८ आश्विन २०७८, शुक्रबार १०:५२

अर्जुनधारा । नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको उपसभापति, सचिव र सहसचिवमा भद्र सहमतिबाट पदाधिकारी चयन भएको छ ।

केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, जिल्ला सभापति उद्धव थापा र क्षेत्रीय सभापति खगेन्द्र मैनालीको उपस्थितिमा आसन्न नयाँ समितिको उपसभापतिद्वयमा चतुर्भुज काफ्ले, प्रशान्त भण्डारी, सचिवद्वयमा इन्दिवर खड्का, मेदनी गुरागाई र सहसचिवद्वयमा निरज ढकाल र सञ्जीव पौड्याल (इसान) चुनिएका हुन् ।

यसरी नै सभापतिमा पनि भद्र सहमति कायम गर्न पार्टीका अगुवा लागि परेको पार्टी सुत्रबाट थाहा भएको छ । पार्टीको नगर सभापतिमा हेमराज खरेल र भिष्म मिश्रले उम्मेद्वारी घोषणा गरेका छन् भने अन्य पदका लागि पनि सहमतिको बाटो खोजिएको एक नेताले जनाए ।

केन्द्रीय सदस्य बुढाथोकी र जिल्ला सभापति थापाको बसोबास रहेको नगरमा यसअघि वडा सभापति पनि भद्र सहमतिबाटै चयन भएको थियो भने सभापति पदमा पनि सहमति खोजिनुपर्ने दबाब छ ।

सभापति पदका लागि चुनावमा गए पार्टीलाई आउने दिनमा काम गर्न असजिलो भएको हुँदा सहमतिको बिन्दू एकमात्र वीपी सिद्धान्तको सुत्र भएको हुनाले सभापतिको पदमा पनि कुरा मिल्न सक्ने अवस्था जुट्दै गरेको देखिन्छ ।