अपुरो संविधान सच्याउन जरुरीः उपाध्यक्ष प्रकाश « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

अपुरो संविधान सच्याउन जरुरीः उपाध्यक्ष प्रकाश


यलम्वर टाइम्स
३ आश्विन २०७८, आईतवार १०:५९

अर्जुनधारा । एक जाति विशेषलाई मात्र मान्य हुने संविधान आधारभूत संशोधनसहित पुनःर्लेखन हुनुपर्ने माग जनमुक्तिले गरेको छ ।

झापाको शनिश्चरे बजारमा आयोजित खबरदारी सभामा पार्टी केन्द्रीय उपाध्यक्ष प्रकाश येङदेनले यो संविधानले तीन करोड नेपालीको हक अधिकारको ज्ञारेन्टी गर्न नसकेको बताए ।

उनले आदिवासी जनजाति, मुसलमान तथा दलितको पक्षमा समेत संविधानले छेकेको हुँदा पुनःर्लेखन एकमात्र विकल्प भएको बताए ।

उपाध्यक्ष येङदेनले राज्य सत्तामा रहेका ठूला दलहरु आम जनताको हितका लागि नभई आफ्नै स्वार्थमा रमाएको बताउँदै त्यसको विरुद्धमा अब जनमुक्ति आएको बताए ।

उनले जनआन्दोलनपछि आएको अन्तरिम संविधान ०६३ केही हदसम्म आदिवासी जनजाति, अल्पसंख्यक, दलित लगायत तमाम् उत्पीडित नागरिकको हितमा रहे पनि ठूला दलहरुले अनेक प्रपन्चका साथ दोस्रो संविधानबाट पाएको अधिकारलाई खोसेको आरोप लगाए ।

उपाध्यक्ष येङदेनले ठूला दल मै खाउँ, मै लाउँको नीतिमा रहेकोले जनताले दुःख पाएको आरोप लगाउँदै अब त्यसको विरोधमा जनमुक्ति आवाज बुलन्द बनाउँदै आएको बताए ।

सभामा पार्टी जिल्ला सचिव पदम कन्दङ्वाले जातीय मुक्तिको बाधक संविधान भएको हुँदा पुनःर्लेखन नगरे द्वन्द हुने बताए ।

अर्जुनधारा नगर परिषदका अध्यक्ष राज खम्बूको सभापतित्वमा भएको खबरदारी सभामा महिला नेतृ रीना मगर, जिल्ला नेता भरतसिंह राई लगायतले आ–आफ्नो विचार राखेका थिए ।

शनिश्चरे बजारको देवकोटा चोकमा भएको खबरदारीसभाको सञ्चालन तेजबहादुर योङहाङले गरेका थिए ।

खबरदारी सभामा राष्ट्र घाती एमसीसी खारेज गर, संविधान पुनःर्लेखन गर, भ्रष्टाचारीलाई सर्वस्वहरण गरि जन्म कैद वा मृत्युदण्डको व्यवस्था गर, राष्ट्रिय जनमुक्ति पार्टी– जिन्दावाद ! जिन्दावाद !, बलात्कारीलाई फाँसी दे लगायतका नारासहितको प्ले कार्ड प्रदर्शन गरिएको थियो ।

कार्यक्रम झापाको भद्रपुर नगरपालिकामा, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका लगायत विभिन्न स्थानमा सम्पन्न भएको पार्टी जिल्ला समिति झापाले जानकारी दिएको छ ।