अग्नी पीडितलाई सहयोग गरौं « Yalambar Times
४ बैशाख २०८१, मंगलवार

अग्नी पीडितलाई सहयोग गरौं


यलम्वर टाइम्स
२ आश्विन २०७८, शनिबार १२:११

मानवीयताले सजिएको समाज हो हाम्रो देश । भइपर्ने जस्तोसुकै अवस्थामा पनि हाम्रो समाज मुखदर्शक भएर बस्न सक्दैन । आफू निरिह अवस्थामा रहँदारहँदै पनि कुनै न कुनै भाव नेपालीले दर्शाएकै हुन्छ । त्यो बेला नेपालले विश्वलाई सहयोग गरेको इतिहास होस् या भइपरि आईपरेको बेला छाती अगाडि राखि विश्वास दिलाएको गोर्खा फौज किन नहोस् नेपाली मन त्यसै पनि ठूलो छ । सहयोगी भाव छ । आईपरेको बेलामा जस्तोसुकै सहयोग गर्न पनि तयार रहन्छ ।

यी भावना भनेको नेपालीपन हो । नेपाली आमाले दिएको ज्ञान हो । त्यसैले जो कोही समाजमा समस्या देखापरे सहयोगी भावना भएका नेपालीहरुले सहयोग गर्न पछि हट्दैनन् । नेपालमा भएका ठूलठूला घटनामा (भूकम्प, बाढी पीडित) नेपालीहरुले पूर्वदेखि पश्चिमसम्मका पीडितहरुलाई सहयोग पुर्याएकै छ । यो सहयोग जात, धर्म, संस्कार नभनी गर्ने चलन छ । त्यसैले पीडित पक्षबाट आव्हान गरे अवश्य सहयोग रहनेछ ।

कुरा अर्जुनधारा क्षेत्रमा भएको घटनाको हो । गत शनिबार अर्जुनधारा नगरपालिका वडा नं. ७ रमेश डाँडा नजिक एक घरपरिवारमा ठूलो क्षति हुन पुग्यो । आर्थिक अवस्था कमजोर भएका ती खनाल परिवारमा अझ आगजनी हुँदा शारीरिक पीडादेखि धनमाल क्षति हुनसम्म पुगेको छ । यस्तो अवस्थामा रहेका खनाल परिवारमा आर्थिक आवश्यक भएको छिमेकीहरुले दर्शाएका छन् । ८४ वर्षीय वृद्धा आमादेखि १८ वर्षीय युवा सक्त घाइते भएपछि मानवीयता स्वरुप सहयोगको आव्हान गरिएको छ । सामाजिक योद्धादेखि आफन्तहरु समेत आर्थिक सहयोगको अपेक्षा राख्दै खनाल परिवारको जीवन रक्षाको लागि सहयोग संकलनमा जुटेका छन् । यस्तो पीडादायी अवस्थामा रहेका खनाल परिवारलाई थोपा थोपाबाट घैला भरिन्छ भने जस्तै सहयोग गर्न जरुरी देखिन्छ । हुन त यस्तो विपत्ती आइपर्छ भनेर कसैले रकम साचेर राखेको हुँदैन । यस्तै अवस्थामा खनाल परिवार रहेको आफन्तहरुले सुनाएपछि सहयोग गर्न जरुरी छ । त्यसैले अर्जुनधारा–७ का अग्नी पीडितहरुलाई सहयोग जुटाई मानवीयता दर्शाउन वाञ्छनीय छ ।