आगलागी पीडित खनाल परिवारलाई मानवीय सहयोगको आवश्यकता « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

आगलागी पीडित खनाल परिवारलाई मानवीय सहयोगको आवश्यकता


यलम्वर टाइम्स
३० भाद्र २०७८, बुधबार ०९:५९

अर्जुनधारा । ग्यास लिक भई भएको आगलागीमा परी घाइते भएका अर्जुनधाराका अग्नी पीडितहरुको उपचारमा समस्या आएको छ ।

अर्जुनधारा ७ का रोम खनालको घरमा भएको सो आगलागीमा परी परिवारका चार जना घाइते भएका थिए ।

आगलागीमा घरधनी खनाल, उनी श्रीमती दुर्गा खनाल, छोरा पंकज खनाल र आमा मंगलादेवी खनाल घाइते भएका थिए ।

मंगलादेवी सामान्य घाइते भएकी थिइन् भने बाँकी तीनजना गम्भीर घाइते भएका थिए । आगलागीमा परी रोमको शरीरको ५० प्रतिशत, दुर्गाको ३० प्रतिशत र पंकजको १५ प्रतिशत भाग जलेको छ ।


तीनै जनाको काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये गम्भीर घाइते भएका रोम र दुर्गाको आइसीयू कक्षमा उपचार भइरहेको छ । पंकजको जेनेरल वार्डमा उपचार भइरहेको छ ।

रोमको उपचारमा करिब १० लाख, दुर्गाको उपचारमा करिब ८ लाख र पंकजको उपचारमा करिब ४ लाख रुपैयाँ खर्च हुनसक्ने अस्पतालको पूर्वानुमान छ ।

आगलागीबाट खनालको घर ध्वस्त भएको छ । सामान्य अवस्थाका खनाल परिवारको आर्थिक अवस्थाले नधान्ने भएपछि सहयोगका लागि आव्हान गरिएको छ ।

त्यसका लागि एक सहयोग समिति गठन गरिएको आफन्त टंकप्रसाद खनालले बताए । उनले आफ्नो परिवारमा परेको समस्यालाई हल गर्न छरछिमेकी, साथीभाइ, आफन्तसहित धेरै सहयोगी मन जुटेकोमा हार्दिक आभार व्यक्त गर्दै विपत्तिमा सहयोगको लागि अपिल गरेका छन् ।

यसैबीच समाजसेवी तथा अभियन्ता उज्वल विक्रम थापाले औषधि उपचारका लागि ५० हजार रुपैयाँको चेक अस्पताललाई हस्तान्तरण गरेका छन् ।