जुकेखाडीले १८ महिनापछि उपभोक्तालाई वितरण गर्यो काठ « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

जुकेखाडीले १८ महिनापछि उपभोक्तालाई वितरण गर्यो काठ


यलम्वर टाइम्स
२२ भाद्र २०७८, मंगलवार १२:११

जुकेखाडी । जुकेखाडी सामुदायिक वन उपभोक्ता समितिले आफ्नो मातहतमा रहेका उपभोक्ताहरुलाई सहुलियतमा काठ वितरण गरेको छ ।

१८ सयभन्दा बढी घरधुरी रहेको उक्त समूहले टोल समितिमार्फत उपभोक्ताहरुलाई सहुलियतमा काठ प्रदान गरेको हो ।

१८ महिनापछि समूहले आफ्ना उपभोक्तालाई काठ वितरण गरेपछि क्रमशः दाउरा पनि यसरी नै प्रदान गर्ने अध्यक्ष झलेन्द्र खड्काले यलम्वर टाइम्सलाई बताए ।

समूहको आन्तरिक गतिविधिलाई मिलाएर उपभोक्ताको मागलाई ध्यानमा राख्दै काठ प्रदान गरिएको थियो । समूहले १५ सय ५० किवि पहिलो पटक प्रदान गरेको बताएका छन् ।

३१ वटा टोला समितिमा प्रत्येक टोलमा ५० किविका दरले उपभोक्तालाई वितरण गरेका छौं, उपाध्यक्ष नविन ओलीले बताए ।

गरिब, असहायका लागि पनि समूहले केही व्यवस्था गर्ने, समाजिक संघसंस्थाहरुको अवस्था हेरेर माग अनुसार काम अगाडि बढाउने पनि जनाएका छन् ।

१८ महिना यता घर निर्माण गर्दै गरेका उपभोक्ताका लागि समूहले प्रदान गरेको काठ ठूलो राहत भएको ३ नम्वर टोलका संयोजक अमृत कटुवालले प्रतिक्रिया दिए ।

जुकेखाडी सामुदायिक वन वैज्ञानिक सामुदायिक वनको पक्षमा उभिएर अगाडि बढ्दा राज्यले वैज्ञानिक पद्धतिमा जाने समूहलाई चिरान कटान र वितरण कार्य रोकेको थियो ।

तर, समूहले त्यसतर्फ नजाने सरकारी नीतिलाई अक्षरस पालना गर्ने भनेपछि फुकुवा भई उपभोक्ताको माग अनुसार काम गर्न लागिएको अर्का उपाध्यक्ष दिपक दुलालले जनाए ।

लामो समय समितिको कारोवार नहुँदा समूहलाई चलायमान गर्न निकै गह्रो भएको जानकारी दिँदै वन संरक्षण, प्रवद्र्धन गर्दै उपभोक्तालाई सहयोग गर्न पछि नहट्ने पनि अध्यक्ष खड्काले दोहोर्याए ।