नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा थापाको उम्मेद्वारी पक्का « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा थापाको उम्मेद्वारी पक्का


यलम्वर टाइम्स
१९ भाद्र २०७८, शनिबार ०३:१८

अर्जुनधारा । नेपाली कांग्रेसभित्र ३५ वर्षीय राजनीतिक जीवनमा लडेका जुझारु कांग्रेस नेता उद्धव थापा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

झापा अर्जुनधारा घर भएका नेता थापा आफू बसेको वडाबाट राजनीतिक जीवनमा प्रवेश गरेका थिए । भद्र, शालिन व्यक्तित्व भएका थापा विकास प्रेमीका नामले पनि चिनिन्छन् ।

राज्य सत्ताको पहूँचबाट टाढै बसेर पनि विकासका काममा दत्तचित्त भएका थापा जिल्ला सभापति भएपछि थुप्रै विकासका योजनाहरु बनाई काम पूरा गरेका छन् । उनकै पालामा धेरै नदी तलाउमा पुलहरु बनेका छन् भने कालोपत्रेहरु पनि बनेको छ ।

संसदीय निर्वाचनमा उल्लेखीय मत प्राप्त गरेर उपविजेता भए पनि निराश नभई जनताको सेवासँगै आफ्नो दलले अह्राएको कामबाट कहिले पछि हटेनन् ।

जिल्ला समन्वय समितिमा रहँदा होस् या बाहिर बसेर होस् जनतालाई आइपर्ने कठिनाईमा उनले काँध हालिरहे । आफ्नो उम्मेद्वारी घोषणासँगसँगै जिल्ला, पालिका, वा वडामा हुने अधिवेशनको चटारोमा अहिले व्यस्त देखिन्छन् ।

नेपाली कांग्रेस झापाले जिल्ला अधिवेशन यही भदौ १९ गते वडा अधिवेशनबाट प्रारम्भ गर्ने भएको छ ।

केन्द्रबाट खटिएर झापामा आएका निर्वाचन अधिकृत सुबोधबाबु चिलवालको प्रमुख आतिथ्य र जिल्ला सभापति उद्धव थापाको सभापतित्वमा विहिबार बसेको विस्तारित बैठकले १८ गते देशब्यापी वडा अधिवेशन तोकिए पनि आन्तरिक ब्यवस्थापनका लागि समय अपुग भएपछि १९ गतेबाट प्रारम्भ गर्ने निर्णय गरेको हो ।

बैठकमा जिल्ला कार्यसमिति, संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, गाउँ÷नगरका सभापतिहरुको सहभागितामा भएको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा निर्वाचन अधिकृत सुबोधबाबु चिलवालले निर्वाचन निर्देशिकामा भएका ब्यवस्था, कार्यविधि, विधानको व्याख्या गर्दै सहभागीहरुबाट उठेका जिज्ञासाको जबाफ दिएका थिए ।

सहमति, सहकार्य र एकता प्रदर्शन गर्दै झापाको निर्वाचन उदाहरणीय बनाउन आग्रह गरेका चिलवालले निर्वाचनका लागि भएको प्रतिष्पर्धालाई गुटगत राजनीतिमा परिणत नगरी संगठन बलियो बनाउन आग्रह समेत गरे ।

पार्टी सभापति उद्धव थापाले निर्वाचन आचारसंहिता, मतदान अधिकृतको काम कर्तब्य र जिम्मेवारीका विषयमा प्रकाश पारेका थिए ।

नेपाली कांग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागाईले वडाबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति गठनका विषयमा कार्यविधिमा भएको समावेशी सहभागिता सहितको मापदण्डबारे स्पष्ट पारेका थिए ।

यसैबीच, नेपाली कांग्रेस झापाको विभिन्न तहको निर्वाचनमा डेमोक्रेटिक लयर्स एसोसिएसन, नेपाल प्रेस युनियन र नेपाल शिक्षक संघ आबद्ध पदाधिकारी÷सदस्यहरुलाई निर्वाचन÷मतदान अधिकृतको रुपमा केन्द्रीय निर्देशन अनुरुप खटाइने भएको छ ।

साझेदार संस्थाहरुबीच वडा अधिवेशनबारे छलफल सम्पन्न भएको छ । निर्वाचन समितिले झापाका १३१ वडाकै मतदान अधिकृतलाई १८ गते नै खटिएको सम्बन्धित वडामा पठाउने र निर्वाचन प्रक्रियामा कोभिड–१९ लाई ध्यानमा राखेर सुरक्षाका सम्पूर्ण उपायलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।