दशैंअघिसम्ममा १८ वर्षमाथिका ३३ प्रतिशतलाई खोप « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

दशैंअघिसम्ममा १८ वर्षमाथिका ३३ प्रतिशतलाई खोप


यलम्वर टाइम्स
८ भाद्र २०७८, मंगलवार ०८:१६

काठमाडौं । सरकारले दशैंअघिसम्म १८ वर्षमाथिका ३३ प्रतिशत जनसंख्यालाई कोभिड विरुद्धको खोप लगाइसक्ने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता खोप भएको जिकिर गर्दै चाडवाड लक्षित भीडभाड नियन्त्रण गर्न फ्रन्ट लाइनर, साना र ठूला व्यापारी, परीक्षा दिन तयार भएका विद्यार्थी, स्वाथ्यकर्मी, चालक, सहचालक, जेष्ठ नागरिकलगायत सबैलाई असोजभित्र खोप लगाउने योजना रहेको बताए ।

उनका अनुसार हालसम्म करिब ७० प्रतिशत स्वाथ्यकर्मीलगायत फ्रन्ट लाइनरले खोप लगाइसकेका छन् । मन्त्रालयले हालसम्म करिब ३३ लाख जनताले दुवै मात्रा खोप लगाइसकेको जनाएको छ ।

राज्यमन्त्री श्रेष्ठले १ करोड ५० लाख डोज खोप आइसकेको र असोजमा २ करोड ५ लाख खोप आउने सुनिश्चितता भएको बताए ।

सबै नागरिकलाई खोप उपलब्ध गराउन करिब ५ करोड २२ लाख मात्रा खोप चाहिने र त्यसका लागि आवश्यक व्यवस्थापन गरिसकेको जानकारी दिँदै राज्यमन्त्री श्रेष्ठले चैत महिनासम्म सबैलाई खोप दिलाउने लक्ष्य पूरा हुने दाबी गरे ।

खोपका लागि अनलाइन फारम भरेकालाई धमाधम सम्पर्क गरी खोप लगाउने कार्य अघि बढाइएको जानकारी दिँदै उनले भने ‘कोभिडबाट सबै नागरिकलाई बचाउन स्थानीय तहको सहयोगमा खोप लगाउने काम भइरहेको छ । अबको ६ महिनाभित्र सबै नेपालीलाई खोपको सुनिश्चितता गर्नेछांै ।’

मन्त्रालयले १२–१८ उमेर समूहका लागि फाइजर र मोर्डनाको १ करोड मात्रा खोप ल्याउने तयारी गरेको छ । विश्व बैंकले उपलब्ध गराएको ऋण सहयोगले त्यसमध्ये करिब ४० लाख मात्रा खोपको लागि रकम भुक्तानीसमेत भइसकेको पनि राज्यमन्त्री श्रेष्ठले बताए ।

सरकारले ६० लाख मात्रा फाइजर खोप आगामी पौष र माघ महिनासम्ममा नेपालमा आइसक्ने बताएको छ । नेपालमा आएकामध्ये अधिकांश कोभ्याक्स सुविधाअन्तर्गत छन् ।

नेपालमा हालसम्म कोभिसिल्ड, भेरोसेल, फाइजर, मोर्डना, एस्ट्राजेनिका, जोन्सन एन्ड जोन्सनलगायतका खोप उपलब्ध भएका छन् ।

व्यायार, व्यवसायका साथै पर्यटकीय क्षेत्रलाई चलायमान बनाउन खोप पहिलो प्राथमिकता रहेको बताउँदै राज्यमन्त्री उमेश श्रेष्ठले भने ‘१२ वर्ष उमेर समूहका सबै जनसंख्यालाई खोप लगाएपछि मात्र मुलु्क कोभिडविरुद्ध लड्न सफल हुनेछ ।’

स्वाथ्य विशेषज्ञहरूले असोज महिनामा नेपालमा कोभिडको तेस्रो लहर फैलनसक्ने चेतावनी दिएपछि सरकारले खोपलाई उच्च प्राथमिकतामा राखेको हो ।