हलुवागढको लोकप्रियतामा बाहिरको खराब नजरः अध्यक्ष « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

हलुवागढको लोकप्रियतामा बाहिरको खराब नजरः अध्यक्ष


यलम्वर टाइम्स
७ भाद्र २०७८, सोमबार १०:२४

सिस्ने । अर्जुनधारा १ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा अख्तियारको टोलीले कागजात लगेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट आएको टोलीले समूहको कागजात लगेको हो । टोलीले कार्यालयका विभिन्न कागजपत्र बुधबार लगेर गएको छ ।

क्षेत्रीय कार्यालयका अधिकृतको नेतृत्वमा आएको ४ जनाको टोलीले कार्यालयका विभिन्न कागजपत्र लिएर गएको वन उपभोक्ता समुहका आन्तरिक लेखा समिति सदस्य देवनारायण राईले बताए ।

उनले २०७२ सालको वार्षिक साधारणसभाको माइन्यूट, २०६७ देखि २०७० सालसम्मको आन्तरिक प्रतिवेदन, बैठकको निर्णय पुस्तिका, घाटगद्धी रजिष्टर, पाइलिङ रजिष्टरलगायतका कागजपत्र लिएर गएको जानकारी दिए ।

तर, केही सञ्चारमाध्यममा अख्तियारले छापा मारेको भन्ने समाचार आएपछि वनका अध्यक्ष चक्र तामाङले भने अख्तियारले कार्यालयमा छापा नमारेको बताएका छन् । ‘छापा मारेको होइन, अख्तियारले जाँचबुझका लागि आएको भनेर निवेदन दिएपछि प्रतिलिपिमात्र लगेको हो’, उनले भने, ‘मागेको कागजातको पनि प्रतिलिपिमात्र दिएको चाहिँ हो ।’ अख्तियारले सक्कल कागजपत्र पनि नलगेको उनले बताए ।

अध्यक्ष तामाङले हलुगढको लोकप्रियतामा बाहिरकाहरु खराब नजर लगाएको बताए ।

बाहिर भनिए जस्तो हलुवागढमा अख्तियारले छापा नमारेको अध्यक्ष तामाङको दाबी छ । उनका अनुसार अख्तियारको टोलीले ०७६÷०७७ र ०७७÷०७८ को अडिट किन नगरेको भन्ने बुझ्न खोजेको थियो । अख्तियारले लेटर प्याडमा हलुवागढलाई सम्बोधन गरेर निवेदन दिएपछि तोक लगाएर दर्ता गरी कागजातको प्रतिलिपी दिइएको अध्यक्ष तामाङको भनाइ छ ।

छोटो समयमा यस सामुदायिक वनले पर्यटक आकर्षक गर्नका लागि कालीखोला सिमसार जस्ता निर्माण गरि लोकप्रियता हासिल गर्दै गरेको अवस्था थियो । तर बाहिरका मित्रहरुले हलुवागढलाई बदनाम गर्न खोजेको देख्दा दुःख लागेर आएको तामाङले बताए । यसअघि वन उपभोक्ता समूहमा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो ।

छानबिन पहिलादेखि नै शुरु भई आज गएर कागजपत्र लिएर आएको क्षेत्रीय कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले बताए ।

हलुवागढ सामुदायिक बनमा २४ लाखभन्दा बढी आर्थिक अनियमितता भएको उपभोक्ताहरुले दावी गरेका थिए । यसअघि भ्रष्टाचार भएको भन्दै नेपाली कांग्रेसले तालाबन्दी गरेको थियो । नेपाली काँग्रेस वडा सभापति नेत्रप्रसाद आचार्यको नेतृत्वमा गएको काँग्रेस प्रतिनिधि तथा उपभोक्ता समूहले तालाबन्दी समेत गरेका थिए ।

तालाबन्दीपछि स्थानीय वडा सरकारको उपस्थितिमा आन्तरिक छलफल गरि ताला खोलिएको थियो । ताला लगाउँदा आम उपभोक्ताहरुले पाउने सुविधा नहुने भएको भन्दै तत्काल ताला खोलिएको थियो ।

झापाको अर्जुनधारा वडा नं १ मा पर्ने यस सामुदायिक वन २०५४ सालमा स्थापना भएको हो । १७ सदस्यीय उपभोक्ता समितिमा ११ जना नेकपाबाट सदस्य रहेका छन् भने ६ जनाले नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरेका छन् ।