कम बेरुजु गर्ने देशभरका उत्कृष्ट पालिकामा झापाको शिवसताक्षी नगरपालिका « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

कम बेरुजु गर्ने देशभरका उत्कृष्ट पालिकामा झापाको शिवसताक्षी नगरपालिका


यलम्वर टाइम्स
७ भाद्र २०७८, सोमबार १०:१३

झापा । आर्थिक र वित्तीय सुशासन कायम राख्नेमा झापाको शिवसताक्षी नगरपालिका उत्कृष्ट भएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदन अनुसार शिवसताक्षी नगरपालिका मुलुककै बेरुजु कम गर्ने पालिकामध्ये पहिलो भएसँगै देशकै उत्कृष्ट पालिका बनेको छ ।

त्यस्तै महालेखा परीक्षक कार्यालयले जारी गरेको प्रतिवेदन अनुसार झापाकै कमल गाउँपालिका चौथो भएको छ ।

प्रतिवेदनमा शिवसताक्षीको गत आर्थिक वर्ष ०७७÷०७८ मा रु एक अर्ब ९० करोड ५३ लाख ६८ हजारको लेखा परीक्षण गरिएको थियो । यसमध्ये ०.०६ प्रतिशत बेरुजु अर्थात रु ११ लाख ७७ हजार मात्र बेरुजु देखाएको हो ।

नगरपालिकाको लेखा शाखामा चालु आवमा निर्माण सम्पन्न भएका योजनाका ठेकेदार र निर्माण उपभोक्ता समितिका पदाधिकारीले आवश्यक कागजात समयमै नल्याएका कारण केही रकम बेरुजु देखिएको प्रमुख लेखा अधिकृत प्रकाश योङहाङले बताए ।

नगरका जनप्रतिनिधिसँगै सम्पूर्ण कर्मचारीहरुको इमान्दारिताले गर्दा शिवसताक्षी नगरपालिका देशभरिकै उत्कृष्ट हुन पुगेको प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले बताइन् ।

त्यसैगरी, मुलुकका ७५३ पालिकामध्ये कमल गाउँपालिकाको ०.०८ प्रतिशत मात्र बेरुजु देखिएको छ । सबैभन्दा कम बेरुजु गर्ने मुलुक भरकै १० पालिकामध्ये कमल गाँउपालिका चौथो नम्बरमा परेको छ ।

जिल्लाका १५ पालिकामध्ये सबैभन्दा बढी बेरुजु बढी देखिएको पालिकामा कचनकवल गाउँपालिका रहेको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

कचनकवलको कूल लेखा परीक्षण रकम रु एक अर्ब १९ करोड ४३ लाख ९५ हजारको ६.०६ प्रतिशत रकम अर्थात रु सात करोड २३ लाख २१ हजार बेरुजु देखिएको छ ।

गौरीगञ्ज गाउँपालिकाको बेरुजु रकम रु एक करोड १५ लाख ६ हजार बेरुजु देखिएको छ । लेखा परीक्षण गरिएको कूल रकम रु ९९ करोड ४३ लाख एक हजारको १.१६ प्रतिशत रकम बेरुजु देखिएको हो ।

यसैगरी, मेची नगरपालिकाको बेरूजु प्रतिशत २.२७ प्रतिशत, भद्रपुर नगरपालिकाको ४.२३ प्रतिशत, दमक नगरपालिकाको १.०९ प्रतिशत, कनकाईको १.३४ प्रतिशत, अर्जुनधाराको २.९० प्रतिशत, गौरादहको १.४६ प्रतिशत, झापाको ०.६० प्रतिशत, हल्दीबारीको २.५९ प्रतिशत, बाह्रदशीको १.६६ प्रतिशत, बुद्धशान्तिको २.२० प्रतिशत रहेको छ ।

महालेखाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार कानूनबमोजिम प्रक्रिया नपुर्याई कारोवार गरेको, राख्नुपर्ने लेखा नराखेको तथा अनियमित तरिकाले कारोवार गरेको खण्डमा गरिएको कारोवारलाई बेरुजु देखाउने गरेको छ ।