सदस्यहरुको दुःखको सारथी बन्दै सिम्रिक साकोस « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

सदस्यहरुको दुःखको सारथी बन्दै सिम्रिक साकोस


यलम्वर टाइम्स
६ भाद्र २०७८, आईतवार ०६:३९

बिर्तामोड । चालू आर्थिक वर्षको पहिलो एक महिनामा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुको उपचार सुविधा, राहत तथा ऋण मिनाहा वापत चार लाख २९ हजार ३१६ रुपैयाँ खर्च गरेको छ ।

झापा, इलाम र मोरङ जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक साकोसले नियमित बचतकर्ता शेयर सदस्यको स्वास्थ्य उपचारमा राहत सुविधा प्रदान गर्दै आएको छ ।

यस्तै शेयर सदस्यको मृत्युमा राहत प्रदान गर्ने तथा ऋणि सदस्यको मृत्यु भएमा बाँकी ऋण मिनाहा गर्ने संस्थाको नीति रहेको कार्यकारी प्रमुख कमलबहादुर बस्नेत बताउँछन् ।

सोही नीतिअनुसार पाडाजुँगी सेवा केन्द्रका सदस्य इखमाया खबासको असार २९ गते निधन भएकाले उनको नाममा बक्यौता रहेको दुई लाख ५५ हजार ९८६ रुपैयाँ कर्जा मिनाहा गरिएको छ ।

संस्थाका सञ्चालक समिति सदस्य नबिन योगी, पाडाजुँगी सेवा केन्द्र प्रमुख वेदप्रसाद आचार्यसहित कर्मचारीहरुले खबास निवास गएर परिवारका सदस्यलाई कर्जा मिनाहाको पत्र प्रदान गरेका हुन् ।

इखमाया खवासले संस्थाबाट २ लाख ७० हजार रुपैयाँ ऋण लिएकोमा साँवा तथा ब्याज नियमित बुझाउँदै गर्दा उनको निधन भएपछि संस्थाले कर्जा मिनाहा गरिदिएको सञ्चालक सदस्य योगीले बताए ।

यसैगरी, संस्थाको धुलाबारी सेवा केन्द्र अन्तरगत लघुवित्त तर्फका सदस्य ललिता राजवंशीको पनि असामयिक निधन भएकाले उनको नाममा बाँकी रहेको साँवा ७४ हजार १५६ रुपैयाँ मिनाहा गरिएको छ ।

संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेत, कर्जा विभाग प्रमुख कृष्णप्रसाद कडरिया, धुलाबारी सेवाकेन्द्रका प्रमुख फणिन्द्र भट्टराईसहित कर्मचारीहरुको उपस्थितिमा राजवंशी परिवारका सदस्यलाई कर्जा मिनाहाको पत्र हस्तान्तरण गरिएको हो ।

यस्तै, बुधबारे सेवा केन्द्रका शेयर सदस्य देवीमाया भट्टराईको २०७८ साउन १३ गते भएको निधनप्रति संस्थाको तर्फबाट शोक व्यक्त गर्दै उनको नाममा बाँकी रहेको ऋण ४३ हजार ५०० रुपैयाँ मिनाहा गरिएको छ ।

संस्थाको बुधबारे सेवा केन्द्रका प्रमुख प्रेमप्रसाद सिग्देलसहितले भट्टराई परिवारमा पुगेर मृत्यु राहत वापत १८ हजार ४०० रुपैयाँ पनि प्रदान गरेका थिए ।

संस्थाको दानाबारी सेवा केन्द्रले पनि साउन महिनाभरमा आफ्ना पाँच जना शेयर सदस्य तथा तिनका परिवारको उपचारका लागि ३७ हजार २७४ रुपैयाँ राहत प्रदान गरेको छ ।

सेवा केन्द्र प्रमुख ध्रुबकुमार दवाडीका अनुसार संस्थाका शेयर सदस्य बमबहादुर श्रेष्ठलाई शल्यक्रिया खर्च वापत १५ हजार रुपैयाँ र अर्का शयर सदस्य कमला श्रेष्ठ छोराको खुट्टामा लागेको चोटको उपचार गर्न ९ हजार रुपैयाँ प्रदान गरिएको हो ।

यस्तै मनिता राईलाई छोरीको उपचार वापत २ हजार ५००, मनमाया श्रेष्ठ आफैंलाई उपचार खर्च वापत ५ हजार ९१४ रुपैयाँ, इन्दिरादेवी बिष्टलाई कुकुरले टोकेको उपचार खर्च वापत ४ हजार ८६० रुपैयाँ प्रदान गरिएको सेवा केन्द्र प्रमुख दवाडीले जनाएका छन् ।