बीएण्डसीले सिंहदेवी माविको भवन बनाइदिने भएपछि वडा नं. १ का जनता हर्षित « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

बीएण्डसीले सिंहदेवी माविको भवन बनाइदिने भएपछि वडा नं. १ का जनता हर्षित


यलम्वर टाइम्स
५ भाद्र २०७८, शनिबार ०६:११

सिस्ने । अर्जुनधारा–१ स्थित सिंहदेवी माध्यमिक विद्यालयलाई बीएण्डसी मेडिक कलेजले २ करोड मूल्य बराबरको लागतमा विद्यालय भवन बनाईदिने उद्घोष गर्दै शुक्रबार शिलान्यास भएको छ ।

तामझामका साथ भव्य उपस्थितिमा विद्यालय भवनको शिलान्यास गरिएको हो । बीएण्डसीले यस अघि बिर्तामोड चारपाने स्थित मोहनमाया माध्यमिक विद्यालयको भवन पनि बनाइदिएको थियो ।

शिलान्यास गर्दै मेडिकल कलेजका प्रबन्धक निर्देशक दुर्गा प्रसाईले आफू विद्यालय छाडेको महिना र बार भाद्र ४ गते भएको हुँदा आजैबाट सिंहदेवी विद्यालयको भवन शिलान्यास गरेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुलाल ढकालको सभापतित्वमा भएको शिलान्यास कार्यक्रममा विद्यालयका प्रअ लक्ष्मीप्रसाद रिजालले पैसा नभएर पछिपरेको विद्यालयलाई बीएण्डसी देवता भएर भवन सुरु गरिदिएकोमा ९ सय विद्यार्थीहरुको तर्फबाट अस्पताललाई धन्यवाद दिए ।

प्रअ रिजालले अगाडि भने, ‘नेपाल सरकारबाट यति ठूलो रकम यस विद्यालयलाई कहिल्यै प्राप्त भएको थिएन । आज बीएण्डसी मेडिकल कलेजले भवनसँगै खानेपानीको समेत व्यवस्था गर्ने उद्घोष गरेर कामको थालनी गरेको छ । अर्जुनधाराका खुदुनाबारीवासी हर्षित भएका छन् ।’

कार्यक्रममा हचुमासा सामुदायिक वनका अध्यक्ष युवाराज लोहारले सेवामुखी कार्यमा बीएण्डसी अस्पताल उदाएको बताए  ।

साधुटारका व्यासाचार्य लक्ष्मी खतिवडाले मानवहरु देवता भएर गाउँ पसेको प्रतिक्रिया दिँदै बीएण्डसी अस्पताललाई धन्यवाद दिएका थिए ।

वडा नं. १ का अध्यक्ष गजाधर खतिवडाले वडा नं. १ मा शिक्षा जस्तो महत्वपूर्ण क्षेत्रमा सहयोग गरेर वडालाई समृद्धको पाइला टेक्नमा सहयोग गरेकोमा बीएण्डसीलाई धन्यवाद दिएका थिए ।

शिलान्यास गर्नुअघि अस्पतालका अध्यक्ष इन्दिरा गिरी र प्रबन्धक, निर्देशक दुर्गा प्रसाईले पानसमा बत्ती बाली उद्घाटन गरेका थिए ।

शिलान्यास कार्यक्रममा अस्पतालको सीईओ डा. निराजन प्रसाई, डा. आरजु प्रसाई, सूचना अधिकृत प्रमेश गिरी, व्यवस्थापन समितिका सदस्य दिपेश भट्टराई लगायतको सहभागिता रहेको सञ्चालक भेषराज खनालले बताए ।

कार्यक्रममा अर्जुनधारा खानेपानीका अध्यक्ष बीरबहादुर राई, विद्यालय व्यवस्थापनका रामबहादुर निरौला, पूर्व प्रअ खड्ग गोले लगायतको उपस्थिति रहेको थियो भने विद्यालय परिवारबाट राष्ट्रभक्ति नृत्य प्रस्तुत गरेका थिए ।