आफ्नो जन्म घर खुदुनाबारीलाई कहिल्यै बिर्सिन्नः द भ्वाईज् अफ नेपाल बिजेता किरण « Yalambar Times
४ बैशाख २०८१, मंगलवार

आफ्नो जन्म घर खुदुनाबारीलाई कहिल्यै बिर्सिन्नः द भ्वाईज् अफ नेपाल बिजेता किरण


यलम्वर टाइम्स
२९ श्रावण २०७८, शुक्रबार १०:२२

अर्जुनधारा । द भ्वाईज् अफ नेपाल ३ का बिजेता किरण गजमेयरले आफू जन्मेको ठाउँ झापाको खुदुनाबारी आएर गीतमार्फत सबैलाई भावुक बनाए ।

युथ अफ खुदुनाबारीले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा किरणले ‘जनम जनम जिउँला सँगै….’, ‘फूलको थुङ्गा बगेर गयो गंगाको पानीमा…..’ लगायतका पुराना गीतहरु पस्किदा उनलाई स्वागत गर्न आएकाहरु भावुक बन्न पुगेका थिए ।

गीतपछि किरणले भने ‘म यही जन्मेको हुँ, यही खुदुनाबारीको कैदले जंगलमा मेरो बाल्यकाल बित्यो । मेरो हजुरआमा यही बित्नुभयो । लामो दिनपछि मेरो जन्म थलो आउँदा सुनसान छाएको पाएँ ।’ किरण भावुक भए ।

अमेरिकाको बसाई सुख सयल भए पनि आनन्द भने झापाको खुदुनाबारीलाई मानेको किरणले बताए ।

उनीसँगै इन्द्रेणी लोकदोहोरीका प्रमुख कृष्ण कँडेल पनि उपस्थित भएको स्थानीय जुकेखाडी सामुदायिक वनकी कोषाध्यक्ष मनिला इङ्नामले यलम्वर टाइम्सलाई बताइन् ।

किरणलाई वडा नं. ३ का वडाध्यक्ष जीवनकुमार भण्डारीले जन्म थालोलाई माया नमार्न आग्रह गर्दै सात समुन्द्र पार भए पनि नेपालीपन, नेपालको इज्जत सदैव राख्न आग्रह गरे ।

अध्यक्ष भण्डारीले खुदुनाबारीमा रहेर विदेशिएकाहरुलाई खुदुनाबारीको सम्झना सुनाई दिनु भनी आग्रह गरे ।

आजै किरण आफ्नो भाकल बुझाउन अर्जुनधारा जलेश्वर धाम आएका छन् । शुक्रबार बिहान आफ्नो साथीहरुसँग मन्दिर आएका गजमेयर मन्दिरमा पूजापाठ गरि धाम समितिले रुद्राक्षको माला लगाई बिदाई गरेका थिए ।

धाम समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार गजमेयर बाल्यकालमा धाम आएको सुनाउँदै नेपाल छाडेर अमेरिका प्रवेशपछि अर्जुनधारा मन्दिरको झझल्को छाइरहेको हुँदा झापा आफ्नो जन्मेको ठाउँ खुदुनाबारी शिविर आएको बेला मन्दिरमा भाकल पूरा गर्न आएका थिए ।

सिजन ३ बाट बिजेता भएका गजमेयरले खुदुनाबारीलाई एउटा एम्बुलेन्स खरिद गरिदिने समेत भएका छन् । शिविरमा रहँदा एम्बुलेन्स नभएकै कारण हजुरआमाको देवासन भएको स्मरण गर्दै प्राप्त पुरस्कारको रकमबाट एम्बुलेन्स खरिद गरिदिने भएका हुन् ।