पढ्दा, हेर्दा र अनुभव गर्दा « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

पढ्दा, हेर्दा र अनुभव गर्दा


यलम्वर टाइम्स
१८ श्रावण २०७८, सोमबार १२:११

[जानुका ढुंगाना]

पत्रकारितालाई राज्यको चौथो महत्वपूर्ण अङ्ग मानिन्छ । सत्यतथ्य घटनाहरूमा आधारित समाचारलाई विभिन्न सञ्चार माध्यमबाट आमनागरिक समक्ष जानकारी गराउनुलाई पत्रकारिता भनिन्छ । वर्तमान युगमा विश्वमा घटेका वा भइरहेका जुनसुकै विषयको जानकारी तुरुन्तै विश्वभरी पुर्याउनुमा सञ्चार माध्यमको ठूलो भूमिका रहेको हुन्छ । पत्रकारिता गर्नु सजिलो विषय होइन । यसका आफ्नै मूल्यमान्यताहरु हुन्छ्न । ती मूल्यमान्यताको परिधि भित्र बसेर हरेक घटनाहरुलाई मसिनासँग केलाएर सत्यताको जडमा पुगेर मात्रै समाचार बनाउनु पर्ने हुन्छ । अन्यथा समाचारको बनोट र प्रकृतिमा फरक अर्थ पनि लाग्न सक्छ ।

समसामयिक घटना वा विचारको तत्काल तयार पारिएको सूचना वा जानकारीलाई समाचार भनिन्छ अथवा कुनै पनि घटनाको विवरण, विचार तथा तथ्यलाई लिखित, मौखिक, विद्युतीय प्रसारण वा इन्टरनेटको माध्यमले कुनै तेस्रो व्यक्ति वा स्रोतामा सूचनाको सञ्चार गर्नुलाई समाचार सम्प्रेषण भनिन्छ । अंग्रेजी शब्द News ल्याटिन भाषाको Nova र संस्कृत भाषाको सम+आचरण शब्दको अर्थमा समाचार शब्दको विकास भएको पाइन्छ । समाचार बनाउँदा मुख्यतयाः घटनाको निष्पक्षतामा जोड दिनुपर्छ । अर्थात सबैप्रति समान आचरण देखाउँदै, आफु निष्पक्ष रहेर समाचार प्रकाशन तथा प्रसारण गरिनुलाई असल पत्रकारिता मानिन्छ ।

समाचार कुनै ठाउँमा घटेको घटना, तथ्य वा विचारको तात्कालिक विवरण हो जसमा जनसमुदायको रूची हुन्छ । कुनै लेख समाचारमा नयाँपन, समसामयिकता, निकटता, प्रमुखता, मानवीय अभिरूची, मनोरञ्जन जस्ता तत्वहरू हुनु अति जरुरी मानिन्छ । समाचार बनाउदा सरल, सुन्दर तथा आकर्षक शैलीको बनाउनु पर्दछ । समाचारको सुन्दरता बढाउन सम्बन्धित घटनाको महत्व, प्रकृति र सान्दर्भिकताले निकै प्रभाव पारेको हुन्छ भने यी तत्वहरुले यसको बनोटलाई समेत निर्धारण गरेको हुन्छ । समाचार प्राप्त हुने ठाउँलाई पत्रकारिताको भाषामा समाचारको स्रोत भनिन्छ । तसर्थ यस्तो स्रोतलाई पत्रकारको प्रमुख सम्पत्ति मान्न सकिन्छ । जुनसुकै समाचारलाई एक स्रोतबाट अर्को स्रोतमा पुर्याउन सञ्चार माध्यमको आवश्यकता पर्दछ ।

विविध समाचार, सूचना, तथ्यांक एवम् जानकारीलाई प्रवाह गर्ने प्रणाली तथा प्रकृया नै सञ्चार हो । यो शब्द ल्याटिन भाषाको अयmmगलष्क बाट विकास भएको हो जसको अर्थ हुन्छ साझापन commonness वा व्यक्तिहरूको साझा अनुभव भन्ने बुझिन्छ । पत्रपत्रिका, इन्टरनेट, इमेल, टेलिफोन (फोन कुराकानी), कम्प्युटर, रेडियो र टेलिभिजन प्रविधिको प्रयोगले गरिने सञ्चारका केही उदाहरणहरू हुन् ।

समाचार र सञ्चार दुवै आपसमा परिपुरक हुन्छन् । समाचार बिनाको सञ्चार र सञ्चार बिनाको समाचार अधुरो मानिन्छ । आज हामी सञ्चार माध्यमको अति नै निकट छौ । त्यसर्थ पल पलको समाचार अपडेट हुन कुनै लामो समय कुर्नुपर्दैन । विश्वका जुनसुकै कुनाको समाचार छिटोभन्दा छिटो सुन्न पढ्न वा देख्न पाउने प्रविधिको बिकास भइसकेको हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका समाचार पनि तुरुन्तै प्रचार प्रसार गर्न सकिन्छ । तर हाम्रो देशमा आजभन्दा १४ बर्ष अगाडीको दिनहरुलाई स्मरण गर्दा सर्वसाधारणको पहुँचमा कुनै पनि घटनाको जानकारी आइपुग्नु उति सहज भने थिएन । वैज्ञानिक उपकरण र प्रबिधिको अभाव कायमै नै थियो । शहरी क्षेत्रका केही स्थानहरुमा मात्रै सञ्चारको विकास र माग बढ्दो गतिमा देखिन्थ्यो भने ग्रामीण क्षेत्रमा अभाव कायमै थियो । तर यसै असहज परिस्थितिका बाबजुद १४ बर्ष अगाडीदेखि नै पूर्वी नेपालको झापा जिल्लाको अर्जुनधारामा सञ्चालनमा आएको यलम्बर टायम्स साप्ताहिकले आफ्नै घर–आँगनको समिप्यमा रहेर आफ्नै परिवेशभित्रका साथै साथै देश विदेशका समाचारलाई समुदाय समक्ष पस्किने जमर्को गरी पत्रकारिताको सुमधुर यात्रा शुरु गर्न सफल भयो । त्यस बेलाको यो नौलो कदमले यहाँका स्थानीयहरुको मुहारमा खुशी थप्ने काम गर्यो । बिगतका दिनहरूमा प्राबिधि, उपकरण तथा अन्य धेरै कुराको अभावले कठिनाई झेल्दै संघर्षमय यात्रालाई निरन्तर दिने क्रममा यस साप्ताहिकले १३ बर्षको अनुभव जनसमुदायमा बाँड्न सफल भईसकेको छ भने श्रावण महिना पहिलो हप्ताबाट १४ बर्षमा प्रवेश गरेको छ । अर्जुनधारा नगरको पहिलो साप्ताहिक पत्रिकाको रुपमा स्थापित हुन सफल यस साप्ताहिकले स्थापनाको समयमा केही समय अनेकौं अभाव र मुस्किलबाट गुज्रनु परेको तितो यथार्थलाइ पनि हामी नगरबासीले नजिकैबाट नियालेका छौ । तर यस साप्ताहिकमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आबद्ध जनशक्तिको अथक प्रयास र सेवाग्राहीहरुको अथाह माया, हौसला र प्रेरणाबाट यलम्बर टाइम्स साप्ताहिक एक लोकप्रिय पत्रिकाको रुपमा स्थापित भईसकेको छ ।

हुन त कुनै पनि नौलो कदमको थालनी गर्न सहज कहाँ हुन्छ र ! तर कामप्रतिको निरन्तरता र लगनशीलताले सफलताको शिखरमा पुर्याउछ भन्ने कुराको उदहरण बनेर यस साप्ताहिक हाम्रो नगरको राम्रो गहना बनेर सेवामा सधैं अडिग रहेको देखिन्छ । आफ्नो नगर परिसरका विभिन्न विषयमा खोज अनुसन्धान गरि नागरिकलाई छिटो छरितो अनि निष्पक्ष ढंगले सुचित गराउने मूल उद्देश्य बोकेर स्थापित यस साप्ताहिकले चालेको हरेक कदमलाई अर्जुनधारा नगरबासीले अति नै रुचाएका पनि छन् । यसरी आफ्नो लोकप्रियताको दायरालाई फराकिलो पार्दै हाल अर्जुनधारा नगरपालिकाका ११ वटै वडा लगायत माङ्सेबुङ गाउँपालिका, हल्दीवारी गाउँपालिका, बुद्धशान्ती गाउँपालिका, माई नगरपालिका, बिर्तामोड नगरपालिका, शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका आदि स्थानहरुमा समेत आफ्नो पहुँच पुर्याउन सफल भइसकेको छ भने यहाँका सेवाग्राही पनि दङ्ग देखिन्छन् ।

सरल र ग्रामिण सामाजिक गतिविधिको समाचारलाई समेटेर पत्रकारिताको मूल्य मान्यताभित्र रहेर सुन्दर शैलीमा सेवा प्रदान गर्दै आएको हुँदा यसको लोकप्रियता अझै बढ्दो देखिन्छ । कला, साहित्य र ग्रामिण परिवेशका विषयगत तथ्यहरुलाई सधैं पहिलो प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने यस साप्ताहिकले पूर्वाञ्चलको झापा जिल्लाको स्थानीय मठ, मन्दिरमा हुने धार्मिक वा आध्यात्मिक कार्यक्रमहरु तथा सामाजिक हितका लागि विभिन्न उद्देश्य बोकेर स्थापित संघ–संस्थाका गतिविधि बारे गहिरो अध्ययन गरेर विविध जानकारी जनसमुदाय समक्ष पुर्याउँदा असख्य मानिसहरु लाभान्वित भएको बुझिन्छ । सबै जातजाति भाषा भाषीहरुका लागि समान भाव राखी उनीहरूको उचित हितका लागी यस साप्ताहिकले उतिकै महत्व र स्थान दिने गरेको कुरा पत्रिकामा प्रकाशन हुने साहित्य कला वा लेखहरुबाट छर्लंग देखिन्छ ।

स्थापनाकालदेखि हालसम्मको यात्रालाई निरन्तरता दिँदै आउँदा अनेकौं चुनौती र अभाव खेप्दै अर्जुनधारालाई नै आफ्नो कर्मथलो बनाएर सेवा दिँदै आएको यलम्बर टाइम्स साप्ताहिकले आफ्नो १३ वर्षे लामो यात्रामा अनेकौं सुख–दुःख साटासाट गरिसकेको छ भने १४ औं वर्षको लागि अर्को अथक यात्रामा प्रवेश गर्दै गरेको यस सुनौलो अवसरमा हामी सम्पूर्ण नगरबासीबाट थप माया, साथ र सहयोगको आपेक्षा गर्नु न्यायोचित नै देखिन्छ । स्थानीय शनिश्चरे बजार परिसरमा रहेर त्यसै समाजका वरपरका गतिविधिहरुलाई जनसमुदाय माझ पुर्याउने काम मात्रै नभै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने घटनाको जानकारी समेत गराउने यस साप्ताहिकको चौतर्फी समुन्नतिक लागि पहल गर्नु हामी सबैको साझा कर्तव्य हुन आउछ । समय सान्दर्भिक समाचारहरु जस्तै दुःखद, सुखद, मनोरञ्जनात्मक, खेलकुद, आर्थिक, सामाजिक राजनीतिक लगायतका सम्पूर्ण पक्षलाई समेटेर समाचार सम्प्रेषण गर्ने भएको हँुदा यसबाट प्रत्यक्ष सेवा लिएर लाभान्वित हुने सम्पूर्ण समुदायको लागि तीक्ष्ण आँखाको रुप परिचित यस साप्ताहिकलाई आगामी दिनहरूमा अझ प्रभावकारी बनाउन स्थानीय सरकार, राजनीतिक दल, पत्रकार मित्रहरु तथा नगरबासीको उचित सल्लाह, सुझाव, अटुट माया र सकारात्मक साथको सदैव खाचो देखिन्छ ।

पछिल्लो समय यस साप्ताहिकले कार्यलय प्रयोजनका लागि अर्जुनधारा–७ मा आफ्नै निजी भवन निर्माण कार्य शुरु गर्दै गरेको भन्ने कुराको जानकारी दिएकोले उक्त सुखद समाचारले सेवाग्राही लगायत यस विषयमा चासो राख्ने सम्पूर्ण बुद्धिजीवी वर्गमा अझै खुशी थपिएको छ । अर्जुनधारा नगरको सञ्चार जगतमा नमूनाको रुप रहेको यलम्बर टाइम्स साप्ताहिकलाई अझै मजबुत बनाउँदै लैजान के कस्तो कदम चाल्नुपर्छ भन्ने विषयमा सम्बन्धित निकायहरुको नजर पुगेर उचित छलफल गरि आवश्यक सहयोग जुटाउन सके यसको विकास निर्माण तथा प्रगतिमा टेवा पुग्ने कुरामा दुइमत देखिन्न ।

                 जानुका ढुंगाना