मलाई लेखक बनायो « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

मलाई लेखक बनायो


यलम्वर टाइम्स
१६ श्रावण २०७८, शनिबार ०४:११

[सन्तोष नेम्वाङ ‘ऐतराज’]

२०६४ साल जेठ र असार महिना नमूना अंक प्रकाशनमा ल्याएर यो सूचनाको संसारमा एउटा नयाँ पत्रिकाको नवउदय भएको यलम्वर टाइम्स । स्थापित अन्य पत्रिकाको भिडमा पैठेजोरी खेल्न सुरुमा तातेताते र बामे सर्न निकै कठिन अवस्था झेल्दै त्यही साल जेठ महिनामा सूचना विभाग र प्रेस काउन्सिलमा दर्ता गरी थिगिरी थिगिरी गर्दै पाइला सार्दै गरेको पत्रिका आज हेर्दाहेर्दै १४ औं वर्षमा पनि प्रवेश गरिसकेछ ।

मोफसलमा मोफसलकै समाचारका लागि एउटा पत्रिकाको अभाव खड्किरहेको अवस्थामा स्व. मोहनप्रसाद काफ्ले र स्व. नरबहादुर योङहाङ (नवल फाइवाली), प्रेमसागर सापकोटा र तत्कालिन शनिअर्जुन नगरपालिकाका अधिकृत मोहन पनेरुको सानो उक्साहटले सम्पादक दिपीन राईको तरुणो सहासमा उर्जा भरिदिनु भएको कारणले आज यो पुरानो शनिश्चरे बजारमा पनि एउटा पत्रिकाको प्रकाशन मिडिया हाउसको विजारोपण भएको थियो ।

ग्रामिण समाजमा भएको बेतिथि, नगरमा भएका विकास र समसामयिक विषयमा हरदम कलम चलाई स्थानीय जनतालाई सुसूचित बनाउने धेयले हरदम प्रयासमा लागि रहेको यलम्वर टाइम्स साप्ताहिक आजको दिनमा एउटा तरुनो अवस्थामा ल्याई पुर्याउन सफल दिपीन राई, लीला राई, राजन साम्पाङ र बजार प्रतिनिधि पुरुषोत्तम पौडेल, भिम बराल, पदम कन्दङ्वा, नरेश खातीको जति बखान गरे पनि कम नै हुन्छ । यलम्वर टाइम्सको अरु बखान गर्दा म जस्तो कोरा निर्माण व्यवसायीलाई हौसला प्रदान गरि एउटा स्तम्भकारको रुपमा समाजको अगाडि उभ्याउन पनि वहाँहरुकै साहस र देनलाई मान्नै पर्छ । छिटफुट रुपमा आफ्नै परिधिभित्र कलम चलाउने मलाई आज यलम्वर टाइम्सका पाठकहरुले मेरो लेख हरेक शनिबार खोज्न बाध्य पार्नुमा दिपीन राई र राजन भाईलाई धन्यवाद नदिइरहन सक्दिन ।

सीमित आय र सीमित बजारको अवस्थामा पनि असीमित जोश र जाँगर बोकेर आजको युग सुहाउँदो नयाँ–नयाँ प्रविधिमा प्रवेश गरेको कुरा सुन्दा र हेर्दा साहस भए अरु केही चाहिदैन भन्ने उदाहरण देख्न पाइन्छ । यो अहिलेको कोरोनाको महामारीमा पत्रिका जस्तो प्रत्यक्ष मानिससँग सम्बन्ध राख्दा महामारी बढ्ने सन्त्रासलाई ध्यानमा राख्दै यलम्वर टाइम्सले अनलाइन खबर, युट्युब जस्ता माध्यमबाट पनि समाज र पाठकलाई खुराक पस्केर आफ्नो कर्तव्य निर्वाह गरिरहेकै छ ।

व्यांग्यात्मक शैलीमा लेखिएका बरालसिंले समाजमा फैलिएको विकृतिलाई औल्याउनु, साहित्यलाई जगेर्ना गर्नु र देशमा घटिरहेको राजनीति परिवेशलाई पाठक सामु जस्ताको त्यस्तै पस्कनु सम्पादक दिपीन राईको सकारात्मक पाटो हो । कुनै रानीतिक पूर्वाग्रह नराखी प्रत्येक राजनीतिक दलको हरेक समाचार पस्कन सक्नु ठूलो साहसको कुरा हो । यस्तोमा कति धाकधम्की आए होला । कतिले लोभलालच देखाए होला तर यस कुरामा किन्चित विचलित नभई आफ्नो पत्रकारको कर्तव्य निभाउँदै पाठक नै सर्वोपरी भन्ने कुरा मनन् गर्दै आजको दिनसम्म निरन्तरता दिइरहेको अवस्थामा हामी सम्पूर्ण पाठक र शुभचिन्तक हुनुको नाताले पनि गर्वका साथ १४ औं बसन्त प्रवेशको अवसरमा अझ निरन्तरताको लागि हार्दिक बधाई तथा शुभकामना दिनु हाम्रो कर्तव्य हो ।

अब आउने दिनमा अझै उन्नति र प्रगतिको पथमा लम्किरहोस् । केही समयको अन्तरालमा आफ्नै निजी भवनमा स्थायी रुपमा नै कार्यालय सञ्चालन गरि हाम्रो नगरको एउटा चम्किलो ध्रुव ताराझैं चम्किरहोस् । शुभकामना । लेखक नेम्वाङ वडा नं. ७ का वडा सदस्य हुन् ।

            सन्तोष नेम्वाङ ‘ऐतराज’