१४ वर्ष प्रवेशको सन्देश हजुरहरुलाई « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

१४ वर्ष प्रवेशको सन्देश हजुरहरुलाई


यलम्वर टाइम्स
११ श्रावण २०७८, सोमबार ०८:४९

यलम्वर टाइम्स शुक्रबार अर्थात् श्रावण ८ गतेबाट १४ वर्ष प्रवेश गरेको छ । पत्रकारिता पेशाको इतिहासमा यस अखबारले ग्रामिण भेगमा रहेर १४ वर्ष प्रवेश गर्नुको पछाडि आमपाठक, शुभचिन्तक, विज्ञापनदाता र कर्मचारीहरुको उत्तिकै महत्व रहेको छ । पत्रकार र पत्रकारिता एकआपसमा नङ र मासुको सम्बन्ध रहन्छ । त्यसैले यस अखबारसँग आवद्ध पत्रकारहरुले कलम, मसी, कागज जोहो गर्नु र प्राविधिकसँगै आमपाठक समक्ष पुर्याउने कार्य चानचुने थिएन । यसै पेशालाई नै मर्यादित बनाएर आमनागरिकलाई सचेत गराउन खेलेको भूमिका नै पत्रकारिता हो ।

विश्व महामारीको भूमरीमा छ । त्यो महामारीले कुनै पनि राष्टूलाई अछुतो राखेको छैन । विश्व अर्थतन्त्र र त्यसलाई थेग्ने कलकारखाना, उत्पादित सामग्रीहरुको सदुपयोग हुनमा गम्भीर असर पारेको हुँदा त्यस असरले उद्यमताको विषयमा उभिएको अखबारलाई पनि दरै गरि मारमा पारेको छ । विश्वको छापाखाना मात्र होइन नेपाल जस्तो गरिब राष्टूको छापाखानालाई पनि उत्तिकै असर पुर्याएको छ । त्यसमा साना(मझौला उद्यमताको रुपमा रहेको अखबारहरु अझ मारमा परेका छन् । त्यो पीडा यलम्वर टाइम्सले पनि व्यहोर्दै आएको छ ।

महामारीलाई छल्दै, त्यसप्रति सचेत र सजग रहँदै आमजनतालाई सुसूचित गराउने सवालमा उभिएको यलम्वर टाइम्स आउने दिनमा अझ परिस्कृत भएर ग्रामिण क्षेत्रका दुःख, पीडा र विकाससँगै जीउने आधारका बाटोहरु लिएर आमपाठक माझ आउने जमर्को गरेका छौं । लोकतन्त्रलाई बलियो बनाउन, भ्रष्टाचार र कमिसन खोरीहरुलाई सचेत गराउँदै गाउँमा देखिएका विकृति विसंगतीहरुलाई उजागर गर्दै अगाडि बढ्ने प्रयासमा छौं । कतिपय कुराहरु भन्नु नसकिने हुन्छन् । त्यसलाई व्यांग्यात्मकबाट आमपाठक समक्ष राख्न पनि पछि हट्ने छैन ।

ग्रामिण क्षेत्रका विकास, ग्रामिण क्षेत्रमा रहेर गरेका राजनीतिक र ग्रामिण क्षेत्रमा खोलिएका संघसंस्थाको उन्नति प्रगति र तिनले खेलेका सकारात्मक सन्देश दिन सदैव सक्रिय रहनेछौं । गाउँका शिक्षा, धर्म संस्कृति र सम्मान सद्भावको लागि यलम्वर टाइम्स अग्रपंक्तिमा उभिएर सारथी बन्ने प्रयासमा रहनेछौं । असाहय, निमुखाहरुका पीडा स्थानीय सरकारसँग पुर्याउने सेतुको भूमिका निर्वाह गर्न पछि हट्ने छैनौं । गाउँको विकास, गाउँकै समाचार भएर प्रत्येक शनिबार आमजनताको हातमा पुर्याउन र यस अखबारको संरक्षण गर्न आमबुद्धिजीवि, पाठक, विज्ञापनदाता, शुभचिन्तकहरुको सकारात्मक सहयोग आवश्यक ठानिन्छ । त्यसैले वर्ष प्रवेशसँगै यहाँको स्नेहताको अपेक्षामा हाम्रो यात्रा अगाडि बढ्नेछ ।