मैले देख्दा यलम्वर टाइम्स « Yalambar Times
४ बैशाख २०८१, मंगलवार

मैले देख्दा यलम्वर टाइम्स


यलम्वर टाइम्स
११ श्रावण २०७८, सोमबार ०८:०७

[कमन देवान]

विषय प्रवेश

दोस्रो जनआन्दोलनको सफलतापछि प्राप्त जनादेश अनुसार सामन्तवादी राजतन्त्रको समूल नष्ट गर्दै जनताका प्रतिनिधिबाट गठन हुने संविधानसभामार्फत नेपाली जनताको संविधान निर्माण गर्ने लक्ष्यका साथ नेपाली राजनीतिको नयाँ कोर्स सुरु भयो । २०६३ मंसिरमा सम्पन्न बृहत् शान्ति सम्झौताको कार्यभारका रूपमा थप दुईवटा आयामहरु जन्मिए । एकातिर नेपालको शान्ति प्रक्रियालाई निचोडमा पुर्याउँदै १० वर्षे माओवादी विद्रोहको मुख्य हिस्साका रूपमा रहेको जनमुक्ति सेनाको लडाकु व्यवस्थापन र समायोजनदेखि द्वन्द्वको समयका मृतक, घाइते, बन्दीहरुको खेलाजोखा राख्ने र वेपत्ता खोजी तथा विभिन्न प्रकृतिका घटनाहरुको सम्बन्धमा आवश्यक छानबिन गर्ने, ध्वस्त संरचना पुनःनिर्माण गर्ने अभिभारा थपियो । त्यस्तै अर्कोतर्फ जनआन्दोलनका उपलब्धिसँगै विकसित राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सामाजिक रूपान्तरणको दिशामा अग्रसर हुनुपर्ने बाध्यात्मक सामाजिक अभिभारा थपियो । माओवादी विद्रोहको १० वर्षे विषम् कालखण्डलाई १२ बुँदे राजनीतिक समझदारीका बलमा १९ दिने जनआन्दोलन सफल भएकै कारण मुलुक नयाँ दिशामा हिँड्न बाध्य भएको थियो ।

विकसित राजनीतिक परिस्थितिसँगै संविधानसभामार्फत नेपाली जनभावनाका अनेक स्वरहरुलाई संस्थागत गर्दै जातीय, भाषिक, सांस्कृतिक, क्षेत्रीय, धार्मिक विविधताहरुलाई सम्बोधन गर्ने किसिमले मुद्दाहरुको उठान र पैरवी गर्ने कार्य प्रारम्भ भए । राज्यको मूलप्रवाहमा नरहेका, किनारामा पारिएका वर्ग, समुदायले आफूलाई राजनीतिको मूलधारमा खोज्न थाले । जनआकांक्षाका पाटाहरु जति जति चोटिला बन्दै गए, समग्रमा तिनले नेपालको पत्रकारितामा दबिएका आवाजहरुको खोजी हुने वा गर्नैपर्ने बाध्यात्मक अवस्था निर्माण हुन पुग्यो । २०६४ सालमा यलम्बर टाइम्स साप्ताहिकको प्रकाशन प्रारम्भ पनि यिनै समग्र आयामको एउटा हिस्साका रूपमा भयो भन्दा अन्यार्थ नलाग्ला ।

किशोरावस्थामा यलम्बर टाइम्स

यलम्बर टाइम्स साप्ताहिक पत्रिका प्रकाशन हुन थालेको १३ वर्ष पूरा भएर १४ वर्ष लागेको सुन्न पाउँदा यस पत्रिकाको प्रारम्भिक समयको समाचारदाता र सँगसँगै शुभचिन्तक हुनुका नाताले खुशी नहुने कुरै भएन । १४ वर्षको किशोर अवस्थामा यसले आफूलाई सगर्व उभ्याउन सफल हुनु असाधारण कुरा हो भन्ने म ठान्दछु । बिगतमा मोफसलका पत्रपत्रिकाको बारेमा निक्कै माया लाग्दा र दया भावमा टिप्पणीहरु हुन्थे । अग्रज भनिएका पत्रकारहरु, पत्रिकाका प्रकाशकहरु नै पनि मोफसलका पत्रिकालाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक नभएको बताउने गर्दथे । ती पत्रिकामा कार्यरत पत्रकारहरुको विषय त यति भनेपछि लेखिरहनै परेन । मोफसलका पत्रिका बचाउन राज्यले लोक कल्याणकारी विज्ञापनको उपलब्धता सहज बनाइदिनु पर्ने, स्थानीय निकाय (त्यतिबेला) का ठूला टेण्डरका सूचना, राहदानी हराएको सूचना प्रकाशन गर्ने कुरामा समेत मोफसलका पत्रिकाहरुलाई प्रथमिकता नदिइएको भनेर आक्रोश पोख्ने चलन थियो । आज ती बिगतका अधिकांश अप्ठ्याराहरु हटेर गएका छन् । तर पनि स्थानीय पत्रिकाका प्रकाशकहरुको गुनासो भने करिब करिब उस्तै नै सुन्ने गरिन्छ ।

बदलिँदो समय अनुसार कुनै पनि पेशामा उच्च प्रविधिमैत्री बन्न सकिएन, बजारको आवश्यकता अनुसार परिमार्जित हुन सकिएन भने टिक्न मुस्किल पर्ने अवस्था छ अहिले । किनकि क्षमता, कौशल, प्रविधिको विकाससँगै सस्तोमा राम्रो पनि अर्थात गुणस्तरको खोजी र रोजाईमा आजका उपभोक्ता सचेत मात्रै छैनन् । हाते फोनमा विश्व बजार र विश्व सूचना बोकेर हिँडिरहेको अहिलेको समाजका अघि स्थानीय अख बारको निरन्तरताको प्रश्न सोच्दा पनि निक्कै ऐठन लाग्दो हुन जान्छ । तर, यी अनेक सकसता र चुनौतीका बावजुद यलम्बर टाइम्सको यात्रा जसरी अविराम चलिरहेको छ, यो खुशी र आनन्दको हो । जति जति यलम्बर टाइम्सको उमेर उकालो लाग्दै जान्छ, उति उति मैले आफ्नो पत्रकारिताको यात्रामा समय थपिँदै गएको महसुस गर्छु । मैले इमान्दारिताका साथ भन्न सक्ने कुरा के हो भने यलम्बर टाइम्सको उचाईमा मेरो पत्रकारिताको उमेर पनि छिप्पिँदै गएको छ । वास्तवमा यलम्बर टाइम्स साप्ताहिकको यो १४औं वर्षगाँठमा मैले ती सुरुवाती दिनहरुलाई सम्झिरहेको मात्रै छैन, यलम्बर टाइम्ससँगका थुप्रै रमाइला घटनाहरुलाई एक एक स्मरण पनि गरिरहेको छु । मैले देखेको यलम्बर टाइम्स साप्ताहिकको बारेमा आफूलाई लागेका केही विषयहरु उल्लेख गर्न चाहन्छु ।

मुद्दामा स्पष्ट, दृष्टिकोणमा वस्तुनिष्ठ

दबिएका आवाजहरुको वास्तविक प्रतिनिधित्व गर्ने यलम्बर टाइम्सको इमान हो । यस पत्रिकाले आफ्नो इमानबाट कुनै पनि परिस्थितिमा डग्मगाएको वा कसैसँग सम्झौता गरेको मलाई थाहा छैन । यसले किनाराका आवाजहरुको सहारा बन्ने र समाजिक न्यायको निम्ति लडिएका हरेक आन्दोलनहरुको साँक्षी बस्ने, तिनलाई जनतासम्म र उठेका असन्तुष्टिका स्वरहरु सम्बोधन गर्नुपर्ने तालुक निकायसम्म पुर्याउने गहन जिम्मेवारी वहन गरेको हामी पाउँछौं । अर्थात यलम्बर टाइम्स जनताको मुद्दा बोकेर अघि बढेको छ र यो आफ्नो मुद्दामा स्पष्ट छ । अत्यन्त शालिन शैलीमा धैर्यताका साथ हरेक अङ्कमा यलम्बर टाइम्सले बोक्ने मुद्दा र बोल्ने भाषा हुने खानेहरुको कम, हुँदा खाने र खोजेर खानुपर्ने वर्ग, समुदायको अधिक हो । अर्थात व्यवसायिक पत्रकारिताको आजको अभ्यास र रटानका बीच यो एउटा स्थानीय अखाबारको हुँकार हो, जसले जनजीविकाकै स्वरहरुमा लय मिलाएर र तिनैसँग पंक्तिवद्ध भएर निरन्तर जनताका आवश्यकताहरुलाई प्रश्न बनाइरहेको छ । जवाफ खोजिरहेको छ । समाजका छाडिएका कथाहरुलाई, चर्चा गर्न अयोग्य मानिएका गाथाहरुलाई यसले आफ्नो विषय मात्रै बनाएको छैन । निरन्तर यिनै विषय र परिवेशको सारथी बनेर वस्तुनिष्ठ विश्लेषण पनि गर्दै आएको छ । यलम्बर टाइम्सले आफ्नो यो वस्तुनिष्ठ दृष्टिकोणलाई सदा कायम राखिरहन सक्नु पर्दछ । यलम्बर टाइम्सलाई झापाका असंख्य सञ्चार माध्यमहरुमा कसरी पृथक परिचयका साथ चिन्ने ? कसरी पहिचान गर्ने ? के का लागि यलम्बर टाइम्सलाई स्मरण गर्ने ? आदि प्रश्नहरुको जवाफ यहि हो भन्ने लाग्छ ।

स्थानीयतालाई प्रमुखता

प्रकाशन प्रारम्भदेखि आजसम्म यस पत्रिकाले ग्रामीण पत्रकारितालाई आफ्नो मूल धेय मानेको मात्रै छैन । यलम्बर टाइम्सले आफ्नो पकड, पहुँच, परिचय र प्रभाव क्षेत्रका रूपमा ग्रामीण भेग र स्थानीयतालाई बलियो गरी पक्रन सफल भएको छ । अत्यन्तै छोटोमा भन्नुपर्दा यलम्बर टाइम्स साप्ताहिकको असली खासियत पनि यहि हो । आज यलम्बर टाइम्स र अर्जुनधारा नगरपालिका पर्याय झैं लाग्छन् । अर्थात एक हिसाबले भन्दा यलम्बर टाइम्स अर्जुनधारालाई अर्जुनधाराभित्र पढाउने र अर्जुनधारा भन्दा बाहिर चिनाउने अनेक चिनारीहरुमध्येको एक चिनारी बन्दै गएको छ । अर्जुनधाराको विकास, यहाँको समस्या, यहाँका जनताका सरोकार, यस भूगोलको दैनिकीका सूचनाहरुको सम्वाहक बनेर यलम्बर टाइम्सले जनताको सच्चा हल्कारा बनेर योगदान गरिरहेको छ । जसरी सूर्य ताप र प्रकासको माध्यम हो । त्यसैगरी अखाबार चेतनाको माध्यम हो । आजभोलि प्रविधिको द्रुतदर विकास र विस्तारले विश्व बजार र विश्व चेतना पेपरलेस (कागजको प्रयोग निष्तेज गर्ने) अवधारणामा गइरहेको सन्दर्भ एकातिर छ भने अर्कोतिर इन्टरनेटको सहजताले मानिसको गोजीमै सूचनाको पहुँच वृद्धि हुन पुगेको अवस्था छ । भनिन्छ, आजको भूमण्डलीकरणको युगमा सूचनामा जसको जति बढी पहुँच छ, ऊ त्यति नै धनी, सुखी, खुशी र सुरक्षित हुन सक्दछ । सायद यहि मान्यताबाट प्रभावित भएर होला केही वर्षयता यलम्बर टाइम्सले पनि अखबारका अतिरिक्त न्यू मिडिया अर्थात अनलाइन पोर्टलमार्फत पनि आफ्नो विश्व उपस्थितिलाई साकार तुल्याएको हामी पाउँछौं ।

यसले के पुष्टि गर्दछ भने स्थानीय सूचना र जानकारीलाई विश्वकरण गर्नमा यलम्बर टाइम्सले संस्थागत पहलकद्मी लिएको छ । हरेक सञ्चार माध्यमको लक्ष्य नै आफ्ना पाठक, स्रोता, दर्शकलाई कुनै पनि जानकारी ताजा, चुस्त, तथ्य र सन्तुलित आधारमा पुर्याउने भन्ने हुन्छ । सिद्धान्ततः पनि सूचना दिने र सही सूचना मात्र दिने धर्म आम सञ्चार माध्यमको हो । मलाई लाग्छ, यलम्बर टाइम्सले यो मूल मन्त्रलाई सदा पालना गरेकै कारण आज १४ वर्षसम्म यो अखबार अस्तित्वमा मात्रै छैन । झापाका सीमित नियमित साप्ताहिक पत्रिकाहरुको उपस्थितिमा यसले आफ्नो बेग्लै पहिचान बनाउन सफल भएको छ । आफ्नो धरातलमा बलियो गरी जरा गाडेकै कारण यलम्बर टाइम्स संकटका अनेक चरणहरुमा पनि सतिसाल झैं ठिङ्ग उभिएर अनेक चुनौतिहरुलाई समाना गर्न सक्षम भएको छ । आगामी थुप्रै वर्षहरु यलम्बर टाइम्सले यसैगरी स्थानीयताको विकासमा, निमुखा र अधिकारविहीन जनताका पक्षमा उभिरहनु पर्दछ ।

टुङ्ग्याउनी

१४ वर्षको अनवरत यात्राबाट आज यलम्बर टाइम्स साप्ताहिक र यसको अनलाइन संस्करण दुवै माध्यम लोकप्रिय बन्दै गएका छन् । जनताले खोज्ने, पढ्ने, विश्वास गर्ने अखबार र समाचार संस्थाका रूपमा स्थापित भएका छन् । ०६४ देखि ०७८ मा आइपुग्दाका अनेकन घुम्तीहरुलाई पार गर्दै र थुप्रै जंघारहरु तरेर यलम्बर टाइम्स यहाँसम्म आइपुगेको सहजै अनुमान गर्न सकिन्छ । जसको निम्ति पत्रकारिताप्रतिको निष्ठा, इमानदारिता, मेहनत, लगनशीलता र निरन्तरताको सदैव खाँचो रहिरहन्छ । व्यक्तिगत भन्नुपर्दा मलाई व्यवसायिक पत्रकारितामा लाग्न प्रेरित गर्ने सञ्चार माध्यमहरु मध्ये एक यलम्बर टाइम्स पनि हो । यलम्बर टाइम्स साप्ताहिक र अनलाइन संस्करणको समग्र नेतृत्व गर्दै आजको अवस्थासम्म ल्याइपुर्याउने दिपिन राई र उहाँको टीमलाई बधाइ र शुभकामना छ ।

म हेरिरहेको छु । जसरी टाङटिङ, बिरिङ, सुखानी खोलाहरु चुरेका कापहरुबाट उम्रिँदै निरन्तर बगिरहन्छन्, त्यसैगरी यलम्बर टाइम्स साप्ताहिकले आफ्नो प्रकाशनलाई बिगत १४ वर्षदेखि अनवरत (खास कोरोना कालको सकसता बाहेक) निरन्तरता दिइरहेको छ । पाठकका घरघरमा पुगिरहेको छ । गाउँका, पीडितका, होँचोहेलामा परेका मानिसहरुको आवाज भुन्भुनाइरहेको छ । राष्टिूय राजनीतिको कोपभाजनमा परेर किानारा लागेका मुद्दाहरुमा पैरवी गरिरहेकै छ । समाजका सकारात्मक पाटोहरुमा सहयोगी बनेको छ । नकारात्मक पाटोहरुलाई गतिलो प्रहार गर्न उद्धत छ । स्थानीय अखबारले गर्नुपर्ने जिम्मेवारी पूरा गरिरहेकै छ । यो क्रम निरन्तर रहिरहोस् ।

        कमन देवान