कोरोनाको ग्राफ उकालो लागेसँगै बुद्धशान्ति एक हप्तासम्मका लागि शिल « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

कोरोनाको ग्राफ उकालो लागेसँगै बुद्धशान्ति एक हप्तासम्मका लागि शिल


यलम्वर टाइम्स
४ श्रावण २०७८, सोमबार १३:१७

बुद्धशान्ति । कोरोना संक्रमितको दर वृद्धि हुँदै गएपछि झापाको बुद्धशान्ति गाउँपालिका एक हप्तासम्मका लागि शिल गरिने भएको छ ।

भोली मंगलबार साउन ५ गते राति १२ बजेदेखि १२ गते मंगलबार राति १२ बजेसम्म बुद्धशान्ति गाउँपालिकाका सबै वडा शिल गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिए ।

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण ग्राफ निरन्तर उकालो लाग्दै गएपछि सोमबार बुद्धशान्ति गाउँपालिकाका राजनीतिक दल, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, स्थानीय प्रशासनको संयुक्त बैठकले एक हप्ताका लागि सम्पूर्ण पसल, व्यवसाय, मानिसको आवतजावत पूर्ण रुपमा बन्द गरिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष भुजेलले बुद्धशान्तिमा कोरोना संक्रमण अनियन्त्रित भएर आएको बताउँदै आफ्ना नागरिकको सुरक्षाका लागि बाध्य भएर शिल गरिएको जानकारी दिए ।

‘गाउँपालिकाले सूचनाका लागि माइकिङको तयारी गरिरहेको छ’, अध्यक्ष भुजेलले भने, ‘यो विषम परिस्थितिमा अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन र निर्देशनकोे पालना गरिदिनुहुन अनुरोध छ ।’

अध्यक्ष भुजेलले निर्देशनको अवहेलना गर्ने जो कोहीलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने जानकारी दिए । बुद्धशान्तिमा पछिल्लो दुई दिनमा १ सय ७९ जनामा कोरोना संक्रमण भएको थियो ।

कोरोना संक्रमण दर वृद्धि हुने जिल्लाहरुमा काठमाण्डौपछि झापा अग्रस्थानमा रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । 

यसरी नै गौरादह नगरपालिकाले पनि अर्को सूचना प्रकाशन नगरिन्जेलसम्मका लागि सेवा बन्द गरेको छ भने कनकाई नगरपालिकामा कोरोना संक्रमणकै कारण आइतबार ३ जनाको मृत्यु भएको थियो ।