कस्ता पहिचान बनाए दीर्घ सेवी खेलाडीहरुले ? « Yalambar Times
१ बैशाख २०८१, शनिबार

कस्ता पहिचान बनाए दीर्घ सेवी खेलाडीहरुले ?


यलम्वर टाइम्स
२८ असार २०७८, सोमबार १२:५५

अर्जुनधारा । स्थानीय सरकार बनेको चार वर्षपछि अर्जुनधारा नगरपालिकाले यस नगरका चार विधाका खेलाडीहरुलाई सम्मान गरेको छ ।

आईतबार पितृ भवनमा आयोजित कार्यक्रममा सम्मानित हुनेहरुमा भगिरथ आले ‘मामा’, हेमनारायण चौधरी, नारायण सुब्बा र जितेन्द्र मेचे रहेका छन् ।

को हुन् भगिरथ आले ‘मामा’ ?

झापाली फुटबलका पर्याय बनेका व्यक्तित्व हुन् भगिरथ आले ‘मामा’ २०३१ साल चैत २९ गते जन्मिएका अर्जुनधारा ९ निवासी आले २०२४ सालतिर कालिस्थान प्राविको मैदानमा फुटबलसँग पहिलो साक्षत्कार भएको थियो । त्यसबेला उनको उमेर ११ वर्षको थियो । ०२९ साल तिर शनिश्चरे माविको फुटबल टिमबाट फुटबल खेल्न थालेपछि उनको करियर सुरु भएको हो ।

२०३८ सालमा मेची अञ्चलको टिमबाट प्रथम राष्ट्रिय खेलकुदमा सहभागि भएर थुप्रै प्रतियोगितामा सहभागि भएका थिए । २०४५ सालमा राष्ट्रिय खेलकुद परिषदको सहायक प्रशिक्षक बन्दै २०५१ सालबाट प्रशिक्षक अधिकृत स्तरबाट रिटार्यड भए । तर फुटबललाई भने उनले माया मार्न सकेनन् । राष्ट्रिय स्तरका फुटबल खेलाडी हरि खड्का उनका चेला हुन् । २०५२ सालमा झापा जिल्ला फुटबल संघको अध्यक्ष चुनिएपछि थुप्रै खेलहरु सम्पन्न गराई सफल प्रशिक्षकसँगै सफल लिडरको रुपमा पनि चिनिएका छन् ।

झापा ११ फुटबल क्लबको स्थापना गरि प्रशिक्षक समेत भई झापाको गरिमालाई उच्च राख्न उनको महत्वपूर्ण भूमिका रहन गयो । उनी भन्छन्, ‘राजनीतिक क्षेत्रमा मात्र होइन, खेलमा पनि थकान भन्ने शब्द हुँदैन ।’

को हुन् हेमनारायण चौधरी ?

अनुशासनले नै होला देखिरहने अनुहार नयाँ आगन्तुकहरुका लागि गुमनाम हुन सक्छ । २०२१ साल भदौं १० गते अर्जुनधारा–५ मा जन्मिएका हेमनारायण चौधरी कुनै दिन शनिश्चरे क्षेत्रबाट उत्कृष्ट धावकका रुपमा मेची अञ्चललाई परिचय दिन पुगे । २०३८ सालमा प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा मेची अञ्चलको तर्फबाट एथलेटिक्समा सहभागि भई अर्जुनधाराको नाम उच्च राख्न सफल भए ।

विकास, अनुशासन, गतिशिलता उनले कक्षा ८ पढ्दै प्राप्त गरेको ज्ञान हो । शिक्षक तथा एथलेटिक्स गुरुले अनुशासनको पाठ दिएर होला अहिले पनि उनी हसिलो स्वाभाव र मीठो शब्द उनको मुखराबृन्दबाट निस्कने गर्छ । मेची अञ्चल स्तरीय प्रतियोगितामा ८ सय मिटर र १५ सय मिटरमा प्रथम स्थान ओगट्न सफल भएको हुनाले ०४२ सालसम्म एथलेटिक्सलाई निरन्तरता दिए । उनी ०४४ सालदेखि नेपाल प्रहरीमा भर्ना भई विभागिय प्रतिस्पर्धामा थुप्रै पदक दिलाउन सफल भएका थिए । त्यसैले अर्जुनधारा नगरपालिकाले दीर्घ सेवा खेलकुद सम्मान गर्न सफल भएको छ ।

को हुन् नारायण सुब्बा ?

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भने पनि तत्कालिन अवस्थामा खेलकुद सिक्नु पनि अपराध ठहरिन्थ्यो, शासक वर्गबाट । त्यस्तै एक उदाहरणीय व्यक्ति हुन् नारायण सुब्बा । अर्जुनधारा–१ निवासी ५३ वर्षीय सुब्बाले अर्जुनधारा क्षेत्रमा ४३ सालदेखि कराते प्रशिक्षण सुरु गरेका हुन् । पञ्चायती सरकारले मार्सलआर्टलाई पूर्ण प्रतिबन्द लगाएको अवस्थामा सुब्बाले बुद्धशान्तिको कालिखोलमा लुकीलुकी गुरु काजी राईबाट प्रशिक्षण लिएका थिए । ०४७ साल तिर गुरु कालु मेचेबाट पनि थप प्रशिक्षण लिएपछि साबिक खुदुनाबारी हाल अर्जुनधारा क्षेत्रमा कराते खेल भित्र्याउन सफल बन्न पुगे ।

ब्ल्याक बेल्टसम्म ग्रहण गरेका सुब्बा आर्थिक अवस्था कमजोर भएकै कारण थप ग्रेडिङमा सहभागि हुन सकेनन् । ०४७ सालपछि खुदुनाबारी जुकेखाडी, शान्तिनगर, सिस्ने, इलामको चिसापानी, सोक्तिम हुँदै भारतको पुनामा पुगेर पनि सफल प्रशिक्षक भएर काम गरे । अहिले पनि करिब ७० जना प्रशिक्षार्थी रहेको सिस्ने डोजोको सफल प्रशिक्षकको रुपमा उभिएको हुँदा अर्जुनधारा नगरपालिकाले दीर्घ सेवा खेलकुद सम्मान पहिलो पटक प्रदान गरेका छन् ।

को हुन जितेन्द्र मेचे ?

प्रतिबन्धित समयमै मार्सलआर्टको तेक्वान्दो बिधामा लागु परेका व्यक्ति हुन् जितेन्द्र मेचे । अर्जुनधारा ६ बस्दै आएका मेचे तेक्वान्दो बिधा अर्जुनधारा क्षेत्रमा भित्र्याउने पहिलो खेलाडीको रुपमा उनको नाम अग्रसर छ ।

त्यसैले होला शनिश्चरे तेक्वान्दोले चाँदीको तक्मा प्रदान गरेर अर्जुनधारा क्षेत्रकै कुशल प्रशिक्षकको रुपमा जितेन्द्र मेचेलाई सम्मान गरिसकेको छ । २०२८ साल चैत्र १० गते जन्मिएका उनले १८ वर्षको उमेरदेखिनै तेक्वान्दो खेललाई निरन्तरता दिँदै आएका थिए । तेक्वान्दो प्रवेश गर्नुअघि गुरु बिजय न्यौपाने र सुशिल बढाथोकीबाट थप प्रशिक्षण लिए । ०४८ सालमा आयोजित राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकै तेस्रो स्थान हासिल गरेपछि उनमा थप हौसाला मिल्यो । ०४९ तिर शनिश्चरेको नेपाल मिलको खेल मैदानमा पहिलो पटक डोजाङ सञ्चालन गर्दाको पहिलो व्याच हुन् कुमार भट्टराई । पहिलो व्याचको पहिलो ब्ल्याक बेल्ट भट्टराईले हाल ५ डान प्राप्त गरेका छन् ।

मेचेले तेक्वान्दोलाई स्थापना गर्न शनिश्चरे, बिर्तामोड, खरबन्दी, लक्ष्मीपुर लगायतका क्षेत्रमा प्रशिक्षण दिँदै आए । पछिल्लो पटक राष्ट्रिय खेलकुद परिषदमा आवद्ध भएपछि काँकरभिट्टा र ताप्लेजुङसम्म प्रशिक्षण दिन पुगे । पछि राखेप अन्तर्गत तेक्वान्दो खेलको प्राविधिक नासु भई ०६१ सालबाट झापाको सहायक प्रशिक्षकको रुपमा स्थायी नियुक्ती भई प्रशिक्षण दिइरहेका छन् । हजारौं खेलाडी उत्पादनमा योगदान पुर्याएका मेचेलाई अर्जुनधारा नगरपालिकाबाट दीर्घ सेवा खेलकुद सम्मान प्रदान गरिएको छ ।

सम्मानितहरुलाई प्रदेश १ का कानुन तथा आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको बाहुल्यबाट सम्मानपत्र, नगर प्रमुख हरिकुमार रानाबाट आर्थिक र खेल संयोजक अर्जुन मेचेबाट दोसल्ला ओढाई दीर्घ सेवा खेलकुद सम्मान प्रदान गरिएको थियो । सम्मानीत प्रतिभाको परिचय खेलकुद समितिका सदस्य तथा सञ्चारकर्मी रमेश समदर्शीले वाचन गरेका थिए ।

यसरी नै सोही दिन दीर्घ साहित्य सेवा सम्मान वरिष्ठ साहित्यकार सरोज ओलीलाई प्रदान गरिएको थियो । सम्मानित ओलीको परिचय साहित्यकार कृष्ण बराल र सम्मानपत्र सञ्चारकर्मी दिपीन राईले वाचन गरेका थिए ।

प्रमुख अतिथि कमल पोखरेलको बाहुल्यबाट सम्मानपत्र प्रदान गरिएको कार्यक्रममा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले ५१ हजार प्रदान गरेका थिए ।

कार्यक्रममा स्वागत भाषा, कला, साहित्य समितिका संयोजक सुशिला सुवेदीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन साहित्यकार कुमार भट्टराईले गरेका थिए ।