अन्तिम बजेट सभामा वडा सदस्यहरुको आफ्नै गुनासो « Yalambar Times
८ बैशाख २०८१, शनिबार

अन्तिम बजेट सभामा वडा सदस्यहरुको आफ्नै गुनासो


यलम्वर टाइम्स
२८ असार २०७८, सोमबार ११:५३

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको नियमित नवौं अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

पितृ भवनमा चलेको अन्तिम सभामा बजेटका विषयमा आफ्ना भनाई राख्न सभाका अध्यक्ष नगर प्रमुख हरिकुमार रानाले भनेपछि प्रत्येका वडाका प्रतिनिधिहरुले आफ्ना भनाई उत्साहका साथ राखेका थिए ।

नवौं सभाको अन्तिम दिन उत्साहका साथ वडा सदस्यहरुको उपस्थिति रहेको थियो । उपस्थित सभामा आफूलाई चित्त नबुझेको र हुनुपर्ने माग वडा सदस्यहरुले खुलेर राखेका थिए ।

पटक–पटक चलको सभाको समापन कार्यक्रममा आफूलाई चित्त नबुझ्ने र आफ्ना भइ राख्दा पनि माग पूरा नहुने भएको हुँदा केही वडा सदस्यहरु मौन रहेका थिए ।

वडा नं. १ का वडा सदस्य दिलबहादुर सारुले आदिवासी जनजातिका विषयमा बजेटले केही नीति तथा कार्यक्रममा ल्याउनुपर्छ भनी आवाज राख्दा आफ्नो आवाज आवाजमै सीमित रह्यो, त्यसैले बोल्नुको कुनै अर्थ नरहेको प्रतिक्रिया दिए ।

सभामा अध्यक्ष हरिकुमार रानाले वडा नं. १ बाट बोल्नका लागि रोष्टम खुल्ला गरेका थिए । त्यसै क्रममा धेरै वडा सदस्यहरुले आफ्ना भनाई राख्दै बजेटमा ल्याउनुपर्ने आशा राखेका थिए ।

वडा नं. २ का वडा सदस्य खड्गमाया पराजुलीले वडालाई नै सबै शाखाको बजेट यो पटक गएको देखिन्छ, त्यसले जनताको काम कर्तव्यमा ठूलो असर पर्ने भएको हुँदा शाखाका बजेटहरु वडामा दिनु कतिको सान्दर्भीक हुन्छ ? प्रश्न राखे । उनले सडक बत्तीका विषयमा आफ्ना भनाइ राख्दै टाङटिङ पुल वारी र पारी बत्ती राखिनुपर्ने माग गरे ।

यसरी नै वडा नं. ३ का होम दुलालले नगर युवा परिषद, खेलकुद परिषद, कला तथा साहित्य परिषद जस्ता गठन गरेर तिनका लागि बजेट नछुटिनु र कार्यान्वयन नहुन दुःख लाग्दो भएको बताउँदै त्यसतर्फ बजेट केन्द्रीत हुनुपर्ने बताए ।

अर्का सदस्य सीताराम भट्टराईले लट्टहरे खानेपानी पछि परेको हुँदा त्यहाँका जनतालाई पिउने पानीको व्यवस्था गर्न केही रकम छुट्टियोस् भनी माग गरे ।

वडा नं. ५ का वडा सदस्य देवीकुमारी घिमिरेले नगर गौरव अन्तर्गत पाण्डापुरलाई अपहेलना गरेको बताउँदै त्यसलाई बजेट छुट्टिनुपर्ने बताइन् ।

अर्का सदस्य रीता नेपालीले दलित र महिलाका लागि बजेट नछुट्टिएको हुँदा प्रस्ट पारिदिनुहुन अनुरोध गरिन् । वडा नं. ६ का वडा सदस्य अर्जुन मेचेले खेल क्षेत्रमा बजेट नदेखिएको हुँदा खेलाडीहरु आक्रोशित भएको जनाउँदै अर्जुनधारा क्षेत्र खेलको उर्भर भूमि भएको बताए ।

वडा नं. ७ का देवकुमार राईले अर्जुनधारा जलेश्वरधामलाई बजेट नछुट्टिएको हुँदा समितिले दुःख व्यक्त गरेको बताउँदै यसै वडा अन्तर्गत गढीटापुमा बजेट देखिनुपर्ने बताए ।

वडा नं. ८ का सुशिला सुवेदीले भाषा, कला, साहित्यमा बजेटको अभाव रहेको बताइन् । सभामा सेवन्त ढकाल, खड्गमाया पौड्याली, साहीकुमार राई, सीता परियार लगायतका सदस्यहरुले आफ्ना विचार राख्दै बजेटमाथि सुझाव दिएका थिए ।

सभामा विषयगत शाखा, अर्थ तथा लेखा समितिका संयोजक भोला पौड्यालले शाखाहरुले खर्च गरेको विवरण माग्दा पनि नदिँदा धेरै कुरा छुट्न गएको जानकारी गराउँदै कृषिमा सुधारको खाँचो जनताका लागि किन्नुपर्ने औषधि बेलैमा खरिद गर्नुपर्ने जस्ता सुझाव राखेका थिए ।

सभामा उठेका सवालको जवाफ उपप्रमुख तथा बजेट निर्माण समितिका संयोजक कमला आचार्यले दिएकी थिइन् ।

नवौं सभाको अन्तिम दिन भएको हुँदा सभामा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चम्लगाई लगायत केही सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

अन्तिम सम्बोधन गर्दै नगर प्रमुख तथा सभाध्यक्ष हरिकुमार रानाले विकास देखिने चिज हो, देखाउने गरि जनप्रतिनिधिहरुले गरेकै हुन् भन्दै सबैलाई धन्यवाद दिएका थिए ।