सामुदायिक विद्यालयलाई प्राथमिकतामा राख्छौंः अध्यक्ष भारती « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

सामुदायिक विद्यालयलाई प्राथमिकतामा राख्छौंः अध्यक्ष भारती


यलम्वर टाइम्स
१४ असार २०७८, सोमबार ११:३५

बैशाबाडी । गरिबका सन्ततीहरु पढ्ने विद्यालयलाई प्राथमिकताका आधारमा अगाडि बढाउने वडा नं. ५ को लक्ष्य रहेको छ । सोमबार मानवअधिकार समूह अर्जुनधाराको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को सहयोगमा भएको अन्तरक्रियामा वडा नं. ५ का अध्यक्ष ध्यानबहादुर भारतीले सो कुराको उद्घोष गरे ।

कोभिडको महामारी पश्चात इन्सेक बिराटनगरको सहकार्यमा आयोजित अन्तरक्रियामा उपस्थित संघसंस्थाका प्रतिनिधिहरु बिच अध्यक्ष भारतीले स्थानीय तहबाट स्थानीयस्तरको विद्यालयलाई अनुगमन गर्ने, हेर्ने र वातावरण अनुकल शिक्षा, स्वास्थ्य जस्ता कार्यमा ध्यान दिने हो भने सामुदायिक विद्यालयले निजी विद्यालयलाई उछिन्न सक्ने बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष भारतीले भने, ‘अरु वडाले के कसो गर्छ त्यसतर्फ हामी लाग्दैनौं तर, हाम्रो वडा निजी विद्यालयलाई भन्दा सामुदायिक विद्यालयलाई बलियो बनाउन जुटेको छ ।’

अध्यक्ष भारतीले वडा नं. ५ लाई यसअघि नै शिक्षाको पकेट क्षेत्रको रुपमा घोषणा गरेर अगाडि बढेको सुनाउँदै सामुदायिक विद्यालयमा गरिब मजदुरका छोराछोरी पढ्ने हुँदा गतवर्ष खाजामा कुनै बजेट नआए पनि वडाले चिया खाजामा छुट्याएको एक लाख रुपैयाँले विद्यालयमा खाजा पुर्याइएको बताए ।

अन्तरक्रियामा स्थानीय युवा भुपाल राना मगरले समग्र वडाको जनसंख्यासँगसँगै गरिबको जनस्तर के कति छ भन्ने कुरा डाटा वडाले संकलन गर्न सके त्यसबाट कसका छोराछोरी विद्यालय जान्छन् या जाँदैनन् भन्ने विषयमा प्रस्ट हुने थियो ।

त्यसैलाई आधार मानेर वडाले शिक्षा सम्बन्धि सेवा प्रदान गर्न सके सरकारी विद्यालयको स्तर बढेर जानेमा दुईमत नहुने सुझाव दिए ।

मानवअधिकार समूह अर्जुनधाराका अध्यक्ष चन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सहजकर्ता राजन राईले स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका विषयमा स्थानीय सरकार चुक्यो भने लोकतन्त्रको अनुभूति नहुने दर्शाउँदै यस्ता खाले अन्तरक्रिया ठाउँठाउँमा गर्नुपरेको बताए ।

अन्तरक्रियामा इन्सेक झापाका प्रतिनिधि नरेश खाती, वडा सदस्य खड्गप्रसाद चौहान, समूहका सदस्य राज खम्बू लगायतले शिक्षा सम्बन्धि आ–आफ्ना विचार राखेका थिए ।

वडा नं. ५ को सभाहलमा भएको कार्यक्रममा यस्ता खाले कार्यक्रम नगरभरि गर्न सके बजेट निर्माणमा स्थानीय जनप्रतिनिधि सचेत हुँदै जनताका लागि राहत मिल्ने थियो ।

यस वडामा प्राविधिक शिक्षासहितको एक मावि, ३ आधारभूत र ४ वटा निजी विद्यालय सञ्चालनमा छन् ।