चन्दन मेचेको आवाज बहसमै रह्यो « Yalambar Times
६ चैत्र २०८०, मंगलवार

चन्दन मेचेको आवाज बहसमै रह्यो


यलम्वर टाइम्स
९ जेष्ठ २०७८, आईतवार १२:०७

अर्जुनधारा । एउटा सामान्य परिवारबाट माथि उठ्दै आएका चन्दन मेचेको दुःखद् निधनले मेचे जातिलाई मात्र होइन समग्र आदिवासी जनजाति समुदायलाई नै ठूलो क्षति पुगेको छ ।

चन्दन मेचे विशेषत व्यवसायी हुन् । प्रत्येक हाटबजारमा उनले सञ्चालन गर्दै आएको जुत्ता, चप्पलको व्यवसाय गरेनन् भने हातमुख जोड्न धौउधौउ नै हुन्थ्यो ।

शनिबारका दिन झापाको पुरानो बजार शनिश्चरेमा जुत्ता, चप्पलको व्यापार राख्दा के कसरी हो उनले आफ्नो छुट्टै ग्राहक बटुलेका थिए ।

हसिलो स्वाभावका प्रष्ट वक्ता चन्दन असाहय र कमजोर मानिसलाई विचार गरेर सेवा पनि प्रदान गर्थे । उनको हसिलो स्वाभाव व्यवसायका लागि गतिलो खुड्कीलो थियो ।

राजनीतिक संगठनमा नेपाली कांग्रेसप्रति आस्था र विचार राखे पनि संघीय गणतन्त्र र धर्म निरपेक्षताको सवालमा उनी टाउकोमा कफन बाँधेर सडकमा देखिन्थे ।

नेपाली कांग्रेसकै आदिवासी जनजाति संघको जिल्ला अध्यक्ष भएर जातीय मुक्ति प्राप्तिको वैचारी बहस उनको पार्टीभित्र गरिरहन्थे ।

२०७७ माघ १ गते झापाको खिजोलुङ किरात माङहिममा आयोजित धार्मिक अन्तरक्रियामा हामी मेचेहरु किराती नै हौं, आउने जनगणनामा हामी धर्मको महलमा किरात लेख्छौं भनी सान्दर्भीक मन्तव्य राख्दा सभालाई नै मन्त्रमुग्ध बनाएका थिए ।

किरात हुनुको गर्वको कथा राख्दा उनी भावविहल भएका थिए । उनको मन्तव्य पछाडी धिमाल जातिका केन्द्रीय अध्यक्ष मोहन धिमालले पनि मेचे जस्तै धिमाल जातिहरु पनि किरात नै भएको भन्दै चन्दन मेचेसँग अंकलमाल गरेका थिए ।

मेचे समाज सिवियारीका केन्द्रीय सदस्य हुँदै उनीले मेचे जातिहरुको उन्नति र प्रगतिका विषयमा बहस झापामा गराएका पनि थिए ।
भारत आसामका मेचे जातिहरुसँगको भाइचारा सम्बन्धसँगै उनले कला संस्कृतिको प्रवद्र्धनका लागि निकै महत्वपूर्ण काम गरे ।

समाजका केन्द्रीय अध्यक्ष हुँदा मेचे जातिबाट माननीय भएका भारतका विशिष्ट व्यक्तिहरुलाई उपस्थित गराई नेपालका मेचे जातिको उन्नतिकालाई उर्जा दिने काम पनि गरेका थिए ।

मेचीनगरमा भएको एक जनजाति महोत्सवमा उपस्थित भएका जनजाति नेता गोरेबहादुर खपाङ्गीलाई प्रश्न गर्दै नेपालको सवालमा आदिवासी जनजातिको मुक्ति कहिले हुन्छ ? भन्ने जस्ता प्रश्न तेर्साएर मेचे समाजले राखेको स्टलमा निरीक्षण गराएका थिए ।

पर्शुराम तामाङ, पद्यमरत्न तुलाधर जस्ता मानिससँग उनको राम्रै हिमचिम थियो । तर आज तिनै चन्दन मेचे, उनले उठाएका बहसका शब्दहरु पूर्ण हुन नपाउँदै यो धर्तीबाट अस्ताए ।

जनजाति क्षेत्रका अब्बल मेचे उनको क्षमतालाई देखेर नेपाली कांग्रेसले मेचीनगर वडा नं. ७ बाट वडाध्यक्षको टिकट दिएको थियो । त्यसलाई सहजै स्वीकार गर्दै उनी विजयी भएका थिए ।

मेचीनगर वडा नं. ७ मा विजयी भएपछि उनको वडामा सन्तोषजन काम भएका लोकतन्त्र पोष्टका सम्पादक मोहन काजीले जानकारी दिए ।

मेचीनगरका सचेत युवा केवल राई भन्छन्, ‘चन्दनको देहवासनले मेची जातिलाई मात्र नभइ समग्र आदिवासी जनजाति समुदायमा नै ठूलो क्षति पुगेको छ ।’

मेचेको कोरोनाको दोस्रो भेरियन्ट संक्रमणले शनिबार निधन भएको थियो । ५ दशक पार गरेका मेचे श्रीमती, ३ छोरा र बुहारी छन् ।
उनको निधनप्रति नेपाली कांग्रेस, आदिवासी जनजाति संघ लगायतले दुःख व्यक्त गरेका छन् ।