नागरिकको उपचार सहयोगको लागि एक्सेल बैंकले ल्यायो १० लाखसम्मको ‘इडीबीएल्स कोभिड केअर लोन’ योजना « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

नागरिकको उपचार सहयोगको लागि एक्सेल बैंकले ल्यायो १० लाखसम्मको ‘इडीबीएल्स कोभिड केअर लोन’ योजना


यलम्वर टाइम्स
६ जेष्ठ २०७८, बिहीबार ०७:५३

बिर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोगका कारण नागरिककोे स्वास्थ्य उपचारमा सघाउ पु¥याउने उद्देश्यले ‘इडीबीएल्स कोभिड केअर लोन’ योजना सार्वजनिक गरेको छ ।

१० लाखसम्मको यो योजना किस्ताबन्दीमा तिर्न सकिने सुविधासहितको नयाँ कर्जा योजना रहेको छ । संक्रमणका कारण लकडाउनको अवस्थामा बैंकका शाखाहरु नियमित रुपमा सञ्चालन हुन नसकेकाले कर्जा लिन चाहने ग्राहकले बैंकको वेभसाइट www.edb.com.np मार्फत अनलाइन वा ९८०२७–६०६६६ मा मिस्डकल गरी आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

कर्जा स्वीकृत वा अस्वीकृत भएको जानकारी ग्राहकलाई १२ घण्टाभित्र उपलब्ध गराई ४८ घण्टाभित्र ग्राहकबाट आवश्यक कागजातहरु लिई प्रक्रिया पूरा गरी उक्त कर्जा प्रदान गरिने बताइएको छ ।

यसैबीच, बैंक्ले कर्जाको भुक्तानी सम्बन्धित अस्पताल तथा फार्मेसीलाई अनलाइनमार्फत खातामा स्थानान्तरण गर्ने व्यवस्था समेत गरेको छ ।

कर्जा सुविधाअन्तर्गत ग्राहकलाई आफ्नो तथा आफ्नो परिवारको कोभिड उपचार खर्चको ९० प्रतिशतसम्म रकम ६ महिनाको ग्रेस अवधि समेत गरी अधिकतम ५ वर्ष अवधिका लागि मासिक समदर किस्तामा तिर्न सकिने गरी वार्षिक ९ प्रतिशत ब्याज दरमा सेवा शुल्क शून्य दशमलव पाँच प्रतिशत मात्र लिई प्रदान गरिने बैंकल जनाएको छ ।

हालको विषम परिस्थितिमा यो सुविधाले ग्राहकहरुलाई अप्ठयारो पर्दा उपचारको लागि आर्थिक जोहो गर्न मद्दत पुग्ने र जीवन रक्षामा मद्दत पुग्ने आशा बैंकले गरेको छ ।