‘बाहुन बुढो भए घाँस खोज्छ, जनजाति बुढो भए बाँस खोज्छ’ « Yalambar Times
८ बैशाख २०८१, शनिबार

‘बाहुन बुढो भए घाँस खोज्छ, जनजाति बुढो भए बाँस खोज्छ’


यलम्वर टाइम्स
२० बैशाख २०७८, सोमबार ०८:१२

साधुटार । ‘श्रीमतीले बाख्रा पालिनन् र मैले चोया काटेर डोको बुन्न भ्याईन भने घरमा चुलो बल्दैन’, ०२८ साले योद्धा मनकुमार तामाङको भनाई हो यो ।

केही सञ्चारकर्मी अर्जुनधारा–१ साधुटार स्थित उनको घरमा पुग्दा उनको श्रीमती फुलमाया बाख्रालाई टाट्नामा घाँस हाल्दै थिइन् ।
मनकुमार भने बाँस खोज्न छिमेकीको आँगनमा भौतारिदै थिए । हामी उनलाई उनकै घरमा कुर्यौ । सञ्चारकर्मी तथा लेखक कुमार भट्टाराई र हचुमासा सामुदायिक वनका अध्यक्ष युवराज लोहार उनलाई खोज्न गाउँ पसे ।

मनकुमार दाम्पती त्यो बेलासम्म बाँस र घाँसमै तल्लिन थिए । उखानै छ, ‘बाहुन बुढो भयो भने घाँस खोज्छ, जनजाती बुढो भयो भने बाँस खोज्छ’ । त्यही शैलीमा भेटिएका मनकुमार हप्तामा एक पटक बाँसको चोयाबाट बुनेका डोको, घुम र डालो नजिकको बजार हडिया बुधबारेमा बिक्री गर्न भ्याएनन् भने चुलो बल्दैन ।

०२८ सालमा राजाका नजिकका मान्छेले दुःख दिएपछि हतियार उठाउँनसम्म पछि नपरेका योद्धा मनकुमार १७ वर्ष ७ महिना १७ दिन कष्टकर जेल जीवन बिताएर फर्कदा उनलाई सम्मान गर्ने थुप्रै निक्लिए । यतिसम्म की एमाले, माले र पछि माओवादीसम्मले ।

कम्युनिष्ठ पार्टीका ईमान्दार कार्यकर्ता भएका कारण न त मनकुमार सत्तामा पुगेकाहरुसँग केही माग्न गए न त सत्ताले नै उनलाई बुझ्यो ।

उनीसँगै त्यो बेला हिंडेका नेताहरु यतिबेला सरकार चलाईरहेका छन् । तर मनकुमार हिजो आज कष्टकर जीवनयापन गर्न बाहेक अर्काे उपाय देखिदैन ।

उमेरले ७६ वर्ष पार गरेका तामाङको न त बस्न लायकको घर छ, न त अर्को घर नै बनाउँन सक्छन् । त्यसैले स्थानीय सरकार र केही सञ्चारकर्मी मिलेर उनको घर बनाई दिने भनी लागि परेका छन् ।

लेखक कुमार भट्टाराई ०२८ साले योद्धाका बिषयमा पुस्तक तयार पार्ने भन्दै मनकुमारको घर खोज्दै पुगेका थिए । त्यहाँ पुग्दा उनको घरको अवस्था दुःख लाग्दो देखेपछि सबै मिलेर उनको घर निर्माण गरौं भन्ने आव्हान गरे ।

नगर प्रमुख हरिकुमार राना, वडाअध्यक्ष गजाधर खतिवडा, समाजसेवी केदार पराजुली र सञ्चारकर्मी तामाङको घरको अवस्था हेरेपछि मनकुमारको घर बनाउँन सहमत भए ।

सञ्चारकर्मीले समाचार पोखेपछि सहयोग गर्नेहरुको वचन आएको लेखक भट्टराईले यलम्वर टाईम्सलाई बताए ।

मनकुमारका श्रीमती फुलमाया मुटुका बिरामी छिन् । छोराछोरी छुट्टिएर बसेका छन् । बुढा बुढीमात्र जीवनयापन गरिरहेको हुँदा तामाङलाई ओत लाग्ने छानोको आवश्यकता रहेको वनका अध्यक्ष युवराज लोहारको आव्हान छ ।

यसरी नै मनकुमार तामाङको घर निर्माणका लागि एक समिति समेत निर्माण भएको छ । सञ्चारमाध्यममा समाचार सम्प्रेषण भएपछि मनकुमारको घर निर्माणका लागि सहयोग गर्नेहरु उत्साहित हुँदा घर निर्माण समिति गठन भएको हो ।

समितिको संयोजकमा कुमार भट्टराई, सहसंयोजकमा दिपीन राई, सचिव विनोद सापकोटा, कोषाध्यक्षमा मनिषा चम्लगाई रहेका छन् भने सदस्यहरुमा हचुमासा सामुदायिक वनका अध्यक्ष युवराज लोहार, खुदुनाबारी–अर्जुनधारा खानेपानीका सचिव उपेन्द्र बस्नेत, युवा व्यवसायी पवन खनाल रहेका छन् ।