अर्जुनधारामा अतिआवश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

अर्जुनधारामा अतिआवश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द


यलम्वर टाइम्स
१९ बैशाख २०७८, आईतवार ११:२०

अर्जुनधारा । कोरोनाको नयाँ भेरियन्टको प्रकोप तिव्र गतिमा फैलिएको निष्कर्ष निकाल्दै अर्जुनधारा नगरपालिकाले बैशाख २० गतेदेखि अतिआवश्यक सेवा बाहेक सम्पू्र्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले आज आइतबार एक सूचना प्रकाशित गर्दै अर्जुनधारा नगर क्षेत्रमा कोरोना संक्रमण तिव्र गतिमा फैलिएको र नगरपालिकाका केही कर्मचारीहरु समेत संक्रमण देखिएको हुँदा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सीसीएमसी र डीसीसीएमसीको निर्णय अनुसार अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको जनाइएको छ ।

नगरपालिकाका अनुसार नगरबाट प्रदान हुँदै आएका मध्ये स्वास्थ्य, सरसफाई, २४ घण्टे इमर्जेन्सी सेवा, २४ घण्टे प्रसुती सेवा, नियमित खोप सेवा, स्वास्थ्य संस्थाहरु, बैंक तथा वित्तीय संस्था, खाद्यान्न बाहेकका सम्पूर्ण सेवाहरु र अस्पतालको ओपीडी सेवा अर्को सूचना प्रकाशित नभएसम्म बन्द गरिएको छ ।

नगर प्रमुख हरिकुमार रानाद्वारा हस्ताक्षरित सूचनामा नगरमा सञ्चालनमा रहेका हाटबजार, साप्ताहिक हाटबजार, मठमन्दिर, चर्च, मस्जिद, यातायात, उद्योगधन्दा, कलकारखाना डीसीसीएमसीको निर्णय पालना गरिदिन आग्रह पनि गरिएको छ ।

कोभिड १९ लाई नगरबाट परास्त गर्न सम्पूर्ण नगरवासीको साथ, सहयोगको आवश्यकता रहेको बताउँदै एकबद्ध भई कोभिड विरुद्ध सामुहिक सतर्कता अपनाउन आग्रह गरेको छ ।

गत वर्ष नगरमा १६६ जनामा कोरोना संक्रमण पृष्टि भएको थियो भने ८ जनाको ज्यान गएको थियो । हाल अर्जुनधारा नगरमा ४५ मा संक्रमण पुष्टि भएको छ भने एकको मृत्यु भइसकेको छ ।