असुरक्षित बन्दै छ गाउँ « Yalambar Times
८ बैशाख २०८१, शनिबार

असुरक्षित बन्दै छ गाउँ


यलम्वर टाइम्स
१७ बैशाख २०७८, शुक्रबार ०२:५८

[पुरुषोत्तम पौडेल]

अर्जुनधारा । सीमाका नाकाहरु अनियन्त्रित आवागमन हुँदै जाँदा कोरोना कहर त्यतिकै फैलिदै आएको छ ।

खुला सीमाबाट ४ दिन अघि झापाको भद्रपुर भित्रिएका एक पुरुषको कोरोनाकै कारण मृत्यु भएपछि गाउँबस्ती असुरक्षित भएको महशुस हुन जान्छ ।

गत साल कोरोना फैलन लाग्दा स्थानीय सरकारले सचेत र सजगता अपनाउँदा अपनाउँदै पनि कोरोनाको महामारीले शहर बजारलाई ढपक्कै छोपेको थियो । यो पटक भने स्थानीय सरकार कोरोनाका विषयमा किन बोल्न सकेको छैन ?

नाका खुलमखुल्ला छ । नाकाका हेल्थ डेक्स छलेर लुकिछुपीभित्रने क्रम त्यत्तिकै छ । स्थानीय सरकारले क्वारेन्टिनको व्यवस्था गर्न सकिरहेको छैन । आइशोलेशनको त कुरै छाडौं । झापामा कन्ट्याक्ट ट्रेसिङको व्यवस्था थियो । त्यो पनि अहिले बन्द भएको छ ।

झापाली जनताको चन्दा सहयोगबाट कनकाई कोटीहोममा खोलिएको पीसीआर परीक्षण केन्द्र पनि बन्द रहेको देखिन्छ । कोरोना संक्रमण भएको थाहा नपाउँदा त्यसले पनि अझ असुरक्षित हुन पुगेको महशुस गर्न सकिन्छ ।

छिमेकी राष्ट्र भारतमा कोरोना फैलिए लगत्तै भारतका विभिन्न शहरमा काम गर्न गएका युवाहरु फर्कने क्रम बढ्दो छ । कति खेर गाउँमा भित्रन्छन्, तिनलाई के सन्देश दिनुपर्छ ? भन्ने विषयमा स्थानीय सरकारको मौनताबाट पनि कोरोना फैलन सक्ने सम्भावना बढेर आएको हो ।

भारतबाट भित्रिएका जो कोही १० दिनसम्म घरैलाई क्वारेन्टिन सम्झेर बस्नुपर्ने हुन्छ । तर, त्यसो नहुँदा गाउँबस्तीका मानिसहरु त्रसित त्यत्तिकै देखिन्छन् ।

मोरङ, सुनसरी, झापा लगायतका सीमावर्ती क्षेत्रमा अव्यवस्थित रुपमा भारत आउजाउले संक्रमणको जोखिम बढेर गएको स्वास्थ्य शाखाले जनाएको छ ।

विराटनगर, इटहरी, दमक, बिर्तामोड हुँदै अन्य शहरी क्षेत्र र सार्वजनिक यातायातमा भौतिक दुरी कायम गर्ने, मास्क लगाउने, स्यानीटाइजर प्रयोग गर्ने जस्ता मापदण्ड समेत अपनाएको देखिन्न । त्यस्तो कार्य गाउँबस्तीका बजारमा पनि पर्याप्त छ ।

मास्क लगाउन र भौतिक दुरी कायम गर्न न त प्रहरी प्रशासनले भन्छ, न त वडा सरकारले । त्यसो नहुँदा कोरोनाको संक्रमण अझ बढेर जाने निश्चित छ ।

देखिदै आएको दोस्रो लहरको कोरोनाले अधिकांश बालबालिका र वयस्कलाई भेटेको हुँदा यसबाट सचेतना अपनाउन गाउँबस्तीका क्लबहरु सक्रिय रहनुपर्ने देखिन्छ ।

झापाको अर्जुनधारामा भने ज्येष्ठ नागरिक मिलन समाजले ज्येष्ठ चौतारोमा भेला भएर छलफल नगर्न सुझाएको छ । समाजका सचिव नरेन्द्र तिम्सिनाका अनुसार बढ्दो संक्रमणलाई ध्यानमा राख्दै आफै सचेत रहन ज्येष्ठ लगायत अन्यलाई आग्रह गरेका छन् ।