सानो गल्तीले ज्यानै जान्छ « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

सानो गल्तीले ज्यानै जान्छ


यलम्वर टाइम्स
१२ बैशाख २०७८, आईतवार १०:०२

छुन त के मलामीसम्म जान नपाइने भाइरस हो कोरोना । यस्तो महामारी तपाई हाम्रो सामु देखा पर्दैछ भने त्यसप्रति सचेत र सजक हुनु तपाई हाम्रो कर्तव्य हो । राज्यले पटक–पटक सचेत रहन सन्देश दिँदादिँदै पनि तपाई हाम्रो सानो गल्तीले मलामीसम्म जान नपाइने भाइरस देखापर्छ भने सचेत कि नहुने ?

गत साल पनि यस्तै भाइरसले अकालमा धेरै मानिसहरुको ज्यान गुम्न पुग्यो । गत विहीबारमात्र भद्रपुरका एक युवा यस्तै कोरोना भाइरसबाट ज्यान गुमाए । गत साल कोरोना लाग्दा कम्तीमा एक महिनापछि मात्र मान्छेको ज्यान गएको रोग निवारण शाखाको तथ्याङ्कमा थियो भने यो पटक संक्रमण भएको ३ देखि ५ दिनभित्रमा ज्यानै गएको तथ्याङ्क छ । त्यसको अर्थ गत सालको भाइरसभन्दा यो सालको कोरोना अझ खतरनाक भएर आएको देखिन्छ ।

राज्यले शहरका विद्यालयमा बिदा दिएको छ । तर, गाउँको विद्यालयका विद्यार्थी कोरोना कहरले सताउछ भनेर आत्तिरहेका छन् । विद्यालयले विद्यालय लगाएर कोर्श पूरा गर्ने र आर्थिक पनि संकलन गर्ने दुवै नीति अख्तियार गरेको हुँदा अभिभावकले मन नलागि नलागि विद्यालय पठाउनुपर्ने बाध्यता पनि छ ।

स्वास्थ्यभन्दा ठूलो न सम्पत्ती हुन सक्न, न विद्या । त्यसैले खतराको सूचिमा रहेको समूहगत भाइरसबाट बच्न सबै सचेत रहन बाहेक अर्को विकल्प देखिन्न । राज्यले २५ जनाभन्दा बढी कही भेला नहुनु भनिरहँदा विद्यालय लाग्नु, हाटबजार खुलमखुला हुनु, पूजापाठ व्रतमन्ध जस्ता कार्य हुनु यी सबै खतरा नै हो । त्यसैले चिन्तन मनन् गरि गल्ती हुनेतर्फ सचेत रहौं । कोरोनाबाट आफू पनि बचौं, अरुलाई पनि बाँच्ने आधार बनाऔं ।