अभिनयमा जम्दै मोहन फोम्बो « Yalambar Times
६ चैत्र २०८०, मंगलवार

अभिनयमा जम्दै मोहन फोम्बो


यलम्वर टाइम्स
११ बैशाख २०७८, शनिबार ०१:१४

फालेलुङको भञ्ज्याङ्गैमा भेट हाम्रो भाको,
इन्डियाको देहरादुनमा लाहुर लाग्न गको ।
दोभान बजार कुशे मेला धानै नाचौला,
लाहुर गई पैसा कमाई सँगै हाँसौला ।

उनकै जीवनमा आधारित यी माथिका गीतका शब्द कालकार मोहन फोम्बोको हो । अर्जुनधारा–७ मा मोटरसाईल तथा साईकल व्यवसाय सञ्चालन गर्दै आएका मोहन शब्दमा मात्र भावुक छैनन्, कलाकारिता क्षेत्रमा पनि उत्तिकै भावुक भएर क्यामेराको अगाडि उभिन्छन् ।

उनले थुप्रै कथा, कविताहरु लेखेका छन् । उनका कृति बाहिर ल्याउने प्रयाससँगै चर्चामा पनि आएको छ । कलाकार सञ्जय निङ्लेखु र दीपा सुहाङले गएको उनका शब्दमा आधारित ‘सहेले बेशी…’ लोकगीतले निकै चर्चा कमायो ।

उनकै शब्द आधारित ‘आमा’ गीत कलाकार राजु अधिकारीले गाउँदा श्रोताहरु भावुक बनेको उनको कथन छ । त्यसो त उनी गीत, कविता, गजलमात्र होइन, कुलत चलचित्रमा आफ्नो सफल अभिनय प्रस्तुत गरिसकेका छन् ।

चेतनामूलक कुलत चलचित्रमा गाउँको मुखिया भएर देखा पर्दा दर्शकहरुले राम्रो प्रतिक्रिया दिएका छन् । ‘हरियो वन नेपालको धन’ टेलिश्रृङ्खलाबाट अभिनय यात्रा सुरु गरेका फोम्बो हालै ‘जेठा बा’ युट्युब टेली श्रृङ्खलामा साहूजी भएर आएका छन् ।

अर्जुनधारा चोकमा आदित्य साइकल केन्द्र तथा मोहन मोटरसाइकल ग्यारेजका प्रोपाइटर भएर बसेका फोम्बो बाल्यकालमै परदेशी जीवन बिताउँदाको सुख–दुःखका व्यथाहरु उनको साथमा छ ।

दुई छोरा, श्रीमतीका साथ बस्दै आएको फोम्बो करिब ५ जनालाई रोजगार दिएका छन् । फोम्बो एक असल व्यवसायी पनि हुन् । सामाजिक क्षेत्रमा पनि उनको उत्तिकै योगदान छ । कुलत चलचित्रका निर्देशक कसम खवास भन्छन्, ‘चलचित्र क्षेत्रमा ढिलो देखा परे पनि अभिनयमा अरु कलाकारभन्दा कम भन्न मिल्दैन ।’