नागरिक असुरक्षित बन्दै गरेको अवस्था « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

नागरिक असुरक्षित बन्दै गरेको अवस्था


यलम्वर टाइम्स
३० चैत्र २०७७, सोमबार ०५:३४

विभिन्न रोग र हैजाले मानिस आक्रान्त बनिरहेको बेला यसै हप्ता झापामा शंकास्पद मृत्यु भएका दुई घटनाले नागरिक असुरक्षित बन्दै गरेको अवस्था देखापर्यो । प्रशासन बसेको एक किलोमिटरभित्र शंकास्पद मृत्यु हुनु शान्ति सुरक्षा प्रदान गर्न बसेको प्रशासनलाई ठाडो चुनौति भएको देखिन्छ । झापा शान्ति सुरक्षाको पकड भएको क्षेत्र हो । गृहको प्रशासनिक क्षेत्रबाट जो कोही अपराधी उम्कन सक्दैन । त्यसैले नेपालको गृह प्रशासन अब्बल छ भनेर विश्वमा शान राखेको छ । तर, यसै हप्ता दुई व्यवसायीको शंकास्पद मृत्यु हुनु प्रशासनमाथि चुनौति हो भन्दा अत्तियुक्ति नहोला ।

तीन दिनको फरकमा बिर्तामोड इलाका प्रहरी कार्यालय नजिक गाउँले होटल सञ्चालन गरेर बसेका तिलक निरौला र मासु व्यवसायी गौतम परियारको शंकास्पद मृत्युले प्रशासनको कमजोरीलाई उदाङ्गो बनाएको छ । हत्यारा पत्ता लगाउन ढिलो हुनु एउटा चुनौति हो । हुन त ढिलो चाँडो हत्यामा संलग्नहरुलाई प्रहरीले नियन्त्रणमा त लिएला तर त्यस्तो जघन्य अपराध दोहोरिन नदिन गृहले चाल्नुपर्ने कदम चाँडो गर्न नागरिक समाजले आवाज बुलन्द गर्न थालेको छ । विहीबारमात्र वाणिज्य संघ बिर्तामोडले विज्ञप्ती प्रकाशित गर्दै प्रशासनलाई प्रश्न तेर्साएको छ । कि हत्यारालाई चाँडो पत्ता लगाऊ, व्यापारीहरुको जीऊ ज्यानको सुरक्षामा प्रशासन सक्रिय बन, नागरिकलाई शान्तसँगले बाँच्न देऊ जस्ता मागसहितको विज्ञप्ती बाहिर आउनु भनेको प्रशासनको कमजोरी पक्ष हो भन्ने देखिन्छ ।

बदलिदो परिस्थिति, खानपान र लेनदेन जस्ता कार्यले मानिसले मानिसलाई चिन्न छाडेको अवस्था प्रशासनले नै भन्दै आएको छ । ति दुईको हत्या त्यही हुनुपर्छ भनेर प्रहरी लागेको पनि देखिन्छ । त्यसो हुँदा हुँदै पनि घटनाहरु किन दोहोरिरहेका छन् ? अहिले झापावासीहरुको यही प्रश्न छ । प्रशासनलाई चुस्तदुरुस्त बनाउन गृहले चालेको कदम प्रशंसनीय नै छ । अपराधीलाई चाँडो पत्ता लगाउन नागरिकसँग गरेको मुस्कान सेवा उपयुक्त नै छ । तर शहरमै मानिस अनाहकमा मर्नु, बजार हिंडेको मानिस फर्केर आउँछ कि आउँदैन भन्ने जस्ता नागरिकका मनमा शंका उत्पन्न हुनु चाहि प्रशासनले दिनहुन्न । त्यसैले गृहले चालेका हरेक कदम मिहेनत रुपमा लाग्ने हो भने हत्या, हिंसा जस्ता जघन्य घटना हुने थिएन । त्यसतर्फ ध्यानकेन्द्रीत हुन प्रशासनले नागरिकसँग सहयोग माग्न जरुरी देखिन्छ । त्यसो त प्रशासनमा काम गरेर अवकाश प्राप्त गरि बसेका नागरिक टोलै पिछे छन् । त्यसो हुँदा जघन्य घटनालाई अन्त्य गर्न उनीहरुसँग समन्वय गर्दै प्रहरी प्रशासन सक्रिय हुनु जरुरी देखिन्छ ।